अमेरिका लगायतका देशबाट यात्रा गर्दा अनलाइनबाट अनुमति लिनुपर्ने नियम ल्याउँदै बेलायत
प्रकाशित मिति : श्रावण १०, २०७९ मंगलबार
बेलायतले अमेरिका लगायतका भिसा नचाहिने देशबाट यात्रा गर्दा अनलाइनबाट अनुमति लिनुपर्ने नियम ल्याउने भएको छ । विद्युतीय यात्रा अनुमति ईटीए नामको यो प्रणाली सन् २०२४ भित्र लागु गर्ने योजनामा बेलायत रहेको छ ।
अमेरिकाले लागु गरेको यात्रा अनुमतिका लागि विद्युतीय प्रणाली र युरोपले लागु गर्न लागेको युरोपियन यात्रा सुचना तथा अनुमति प्रणालीजस्तै गरी बेलायतले पनि यो प्रणाली ल्याउन लागेको हो । यो प्रणाली अन्तरगत बेलायत जानका लागि भिसा नचाहिने देशका नागरिकहरुले यात्रा गर्नु अगाडि अनलाइनमा दर्ता गर्नुपर्नेछ ।
सफलताका साथ दर्ता गरिसकेका यात्रुहरुलाई बेलायत प्रवेश गर्ने बेलामा अनुहार चिन्ने प्रणालीबाट जाँच गरिनेछ । त्यसपछि उनीहरुले बोर्डर चेकविना नै वा विद्युतीय पासपोर्टको गेटबाट बेलायत प्रवेश गर्न सक्नेछन् । अनलाइनबाट दर्ता गर्दा शुल्कसमेत लाग्नसक्ने अपेक्षा गरिएपनि बेलायत सरकारले अहिलेसम्म शुल्क भने तय गरिसकेको छैन ।
सीमा र अध्यागमन प्रणालीको रूपान्तरणको एक भागको रूपमा यो प्रणाली लागु गर्न लागिएको बेलायतको होम अफिसले जनाएको छ । बेलायतमा उनीहरु आउनु अगाडि नै जोखिम छ वा छैन भन्नेबारे मूल्याङ्कन गर्न यो प्रणाली लागु गर्न लागिएको हो । युरोपियन इकोनोमिक एरियाबाट प्रवेश गर्नेहरुलाई समेत यो प्रणालीमा दर्ता गर्नुपर्नेछ ।
युरोपका देशमा भिसा नचाहिने देशका नागरिकले यात्रा गर्न अनलाइनमार्फत दर्ता गर्नुपर्ने नियम आगामी मेबाट लागु हुने भएको छ ।
९० दिनमात्र यात्रा गर्न चाहने भिजिटरका सन्दर्भमा यो नियम लागु हुनेछ ।