आजदेखि कोलोराडो निवासीलाई १५ सय डलरको चेक पठाइदै
प्रकाशित मिति : श्रावण १७, २०७९ मंगलबार
आजदेखि राज्य सरकारले कोलोराडो निवासीलाई १५ सय डलरको चेक पठाउँदैछ । नयाँ नगद सहायता कार्यक्रम अन्तरगत आजदेखि एकललाई ७५० र दम्पत्तिलाई १५ सय डलरको चेक पठाउन थालिएको हो । गत मेमा यो बिल राज्य संसदबाट पारित भएर गभर्नर जारेड पोलिसले हस्ताक्षर गरेका थिए ।
यो रकम पाउनका लागि कोलोराडो निवासी व्यक्ति सन् २०२१ को डिसेम्बर ३१ अगाडि १८ बर्ष पूरा भएको हुनुपर्छ । साथै डेडलाइभन्दा अगाडि राज्यमा कर फाइल गरेको समेत हुनुपर्छ । सन् २०२१ भर पूरै कोलोराडोमा ठेगाना भएको व्यक्तिमात्र यो रकमका लागि योग्य हुन्छ ।
संयुक्त रुपमा कर फाइल गरेका तर पछि डिभोर्स गरेकाहरुलाई उनीहरुको ठेगाना चेक पठाइनेछ । डिपार्टमेन्ट अफ रेभिन्युका अनुशार आजदेखि २४ लाखलाई उनीहरुको बैक एकाउन्ट र ठेगानामा चेक पठाउन सुरु गरिएको छ ।
जुन ३० भित्र ट्याक्स फाइल गरेकाहरुले सेप्टेम्बरभित्र रकम पाउनेछन् । त्यस्तै अक्टोबर १७ को थप गरिएको मितिभित्र पनि ट्याक्स फाइल गर्नेले रकम प्राप्त गर्नेछन् । तर जुन ३० भित्र फाइल नगर्नेहरुका सन्दर्भमा भने आगामी जनवरी अगाडि रकम आउनेछैन ।
यो महिना कोलोराडोमात्र होइन, मंहगीको सामना गरिरहेका जनतालाई सहयोग गर्न कम्तीमा अन्य ९ सिटी र राज्यहरुले सहायता उपलब्ध गराइरहेका छन् । हवाईमा हजारौं अमेरिकनले १ सय डलर रिबेट प्राप्त गर्दैछन् । यो रकम अगस्तको अन्तिम साताबाट पठाउन सुरु गरिने अपेक्षा गरिएको छ ।
जुलाईमा न्यु मेक्सिकोको बासिन्दाले दोश्रो चरणको ५ सय डलरको राहत प्राप्त गरे । तर हरेक दिन चेक प्रिन्ट गर्ने सिमित क्षमता भएका कारण रकम पठाउन केही महिनासम्म लाग्ने जनाइएको छ ।