अब क्यालिफोर्नियामा रहेको विश्वको अग्लो रुख नजिक जानेलाई ६ महिना जेल र ५ हजार जरिवाना
प्रकाशित मिति : श्रावण १८, २०७९ बुधबार
विश्वको सबैभन्दा अग्लो जीवित रूखको रूपमा गिनिज वर्ल्ड रेकर्डबाट प्रमाणित अमेरिकाको क्यालिफोर्नियामा रहेको रुख हाइपेरियन नजिक आगन्तुकहरूलाई जान रोक लगाइएको छ । क्यालिफोर्नियाको रेडवुड नेशनल पार्कले कोही व्यक्ति सयौं बर्षदेखि उभिएको उक्त रूखको छेउमा गएमा ६ महिना जेल र ५ हजार डलर जरिवाना हुनसक्ने चेतावनी दिएको छ । यो रुख ६ सयदेखि ८ सयबर्ष पुरानो रहेको अनुमान गरिएको छ ।
निकुञ्जको भित्रिभागमा रहेको यो रुखतिर जाने बाटो नभएपनि सन् २००६ मा प्रकृतिविदको एक जोडीले यो रुख फेला पारेका थिए । यो रूख ११५ दशमलव मिटर ९२ मिटर अग्लो रहेको छ भने यसको नाम ग्रीक पौराणिक कथाबाट आएको हो।
कठिन यात्राको बावजुद यो रूखको लोकप्रियताका कारण ब्लगरहरू, ट्राभल लेखकहरू लगायत त्यहाँ पुग्दा वरपरको क्षेत्रमा विनाश भएका कारण त्यहाँ जान रोक लगाइएको हो । किनभने घना जंगलको बीचमा रहेको यो रुखसम्म पुग्दा अन्य बनस्पतीहरु मास्दै र नदि पार गरेर जानुपर्ने अवस्था रहेको छ ।
यस क्षेत्रमा सेलफोन र जीपीएस सेवा पनि सीमित भएकाले यस क्षेत्रमा हराएका वा घाइते पदयात्रीहरूलाई उद्धार गर्न पनि धेरै चुनौतीपूर्ण रहेको छ । भूक्षय र क्षतिको अतिरिक्त त्यहाँ मानिसहरूको आगमनबाट पनि समस्या उत्पन्न भएको जनाइएको छ ।
त्यहाँ फोहोर भएको र मानिसहरूले दिशापिसावका लागि साना बाटाहरु समेत बनाइरहेका थिए । मानिसहरुले प्रयोग गरिएको ट्वाइलेट पेपर र मानव फोहोर छोड्दा उक्त क्षेत्र फोहोर समेत भएको छ ।