२०१९ को चुनाव लड्न अमेरिकी नागरिकता त्यागेका श्रीलंकाका पूर्व राष्ट्रपतिले ग्रिनकार्ड लिने
प्रकाशित मिति : भाद्र ५, २०७९ आईतबार
श्रीलङ्काका पूर्व राष्ट्रपति गोटावाय राजापाक्षका लागि फाइल गरिएको अमेरिकी ग्रिनकार्ड आवेदन परिवारमा आधारित रहेको जनाइएको छ । देशमा गत जुलाईमा भएको जनआन्दोलनका कारण पद र देश छाडेर भागेका गोटावायका लागि अमेरिकामा पत्नी र छोरासँगै बस्नेगरी ग्रिनकार्ड आवेदन प्रकृया सुरु गरिएको हो ।
उनकी पत्नी लोमा राजापाक्ष अमेरिकी नागरिक भएका कारण सोही आधारमा उनी परिवारमा आधारित ग्रिनकार्ड प्राप्त गर्न योग्य रहेका छन् । गत महिना सुरु गरिएको यो प्रकृया पूरा हुन कतिसमय लाग्ने भन्ने निश्चित छैन ।
गोटावाय राजापाक्षले सन् १९९८ मा अमेरिका बसाई सरेका थिए । उनले श्रीलंकाको सेनाबाट रिटायर्ड भएर सुचना प्रविधिको क्षेत्रमा प्रवेश गरेका थिए । अमेरिकामा बसाई सराई गरेर अमेरिकी नागरिकता लिएका उनले सन् २०१९ को श्रीलङ्काको राष्ट्रपति चुनाव लड्नका लागि अमेरिकी नागरिकता त्यागेका थिए ।
श्रीलङ्काको तर्फबाट रुसका लागि पूर्व राजदूत उदयाङगा विरातुङ्गाले उनी अमेरिका जाने तयारीमा रहेको जानकारी दिएका हुन् । पूर्व राष्ट्रपति गोटावायसँग निकट मानिने विरातुङ्गाले नोभेम्बरसम्म थाइल्याण्डमा रहने उनको योजना रद्ध भइसकेको पनि बताए ।
कानुन व्यवसायीहरुसँगको परामर्शपछि उनी यही महिनाको अन्त्यमा श्रीलङ्का फर्किने निर्णयमा पुगेको जनाइएको छ । अमेरिका जाने प्रक्रिया सुरु गरेका उनको यस प्रक्रियामा कोलम्बो र अमेरिकामा रहेका कानुन व्यवसायी संलग्न भएर काम गरिरहेको जनाइएको छ । कोलम्बोबाट पनि विभिन्न कागजपत्रहरु प्रयोग गरिएका छन् ।
मुलुकमा आर्थिक सङ्कट उत्पन्न हुनुको पछाडि मुख्य जिम्मेवार राष्ट्रपति गोटावाय नै रहेको भन्दै आम नागरिक आन्दोलनमा उत्रिएर उनको निवास घेर्न थालेपछि उनले देश छोडेर भाग्नु परेको हो । उनी सुरुमा म्यानमार गएका थिए । त्यसपछि थाइल्याण्ड हुँदै सिङ्गापुर पुगे ।
उनले देश छोडेपछि श्रीलङ्कामा राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु पनि परिवर्तन भएका छन् । नयाँ जिम्मेवारी पाएका नेताहरुले सङ्कट समाधानको प्रयास गरिरहेका छन् ।