पुटिनका समर्थककी छोरीको हत्यापछि अन्य पुटिन समर्थकहरु त्रासमा, सुरक्षागार्डविना नहिड्ने घोषणा


प्रकाशित मिति : भाद्र ६, २०७९ सोमबार

युक्रेन विरुद्धको युद्धको लागि प्रशंसा गर्ने गर्ने शीर्ष रुसी प्रचारक राज्यको स्वामित्वमा रहेको टेलिभिजन नेटवर्ककी मुख्य सम्पादक मार्गरिटा सिमोन्यान यस सप्ताहन्तमा मस्कोको पार्कमा हिंडिरहदा उनका व्यक्तिगत सुरक्षा गार्डहरू नजिकैको बेन्चमा रहेको बच्चाको बल देख्दापनि तर्सिए । उनीहरु उक्त बल बम हुनसक्ने आशंकाले तर्सिएका थिए ।

पार्कको यो घटनाको केही घण्टापछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकटवर्ती सहयोगीकी छोरी डार्‍या डुगिनाको मस्कोनजिकै हत्या भएको थियो । अति दक्षिणपन्थी राष्ट्रवादी अलेक्ज्याण्डर डुगिनाकी छोरी विस्फोटमा मारिएपछि पुटिनका अन्य समर्थकहरु सुरक्षाबारे चिन्तित बनेका छन् ।

विना सुरक्षा कतै नजाने घोषणा

मार्गरिटा सिमोन्यानले आफू कहिल्यै विना सुरक्षा कतै नजाने घोषणा गरेकी छिन् । उनले विना सुरक्षा पार्कमा हिड्नको लागी पनि नजाने बताएकी छिन् । उनले क्रिमियामा भएको आक्रमणको बदलास्वरूप युक्रेनमा बलियो सैन्य हमलाको लागि आह्वान गर्न आफ्नो लोकप्रियता प्रयोग गर्दै आएकी छिन् ।

डुगिनाको हत्या अगाडि पार्कमा बल देख्दा अंगरक्षक त्रसित भएको र दुईघण्टासम्मको अनुसन्धानपछि बच्चाको बलमात्र पुष्टी भएको घटना आफूलाई सामान्य र रमाइलो लागेपनि डुगिनाको हत्यापछि अहिले भने उक्त घटना सामान्य थिएन भन्ने अनुभव भएको सिमोन्यानले बताएकी छिन् ।

टेलिग्राम पोष्टमा सिमोन्यानले आफू अप्रिलदेखि निरन्तर सुरक्षामा भर परेको बताएकी छिन् । पुटिनका प्रख्यात प्रचारक भ्लादिमिर सोलोभियोभ विरुद्धको षड्यन्त्रलाई विफल पारेको एफएसबीले घोषणा गरेपछि नै आफू बडीगार्डमा भर पर्न थालेको हुनले बताएकी छिन् ।

कस्ले गर्यो डुगिनाको हत्या ?

रुसको घरेलु सुरक्षा सेवा एफएसबीले आक्रमणको दोष युक्रेनको सुरक्षा सेवामाथि लगाएको छ । युक्रेनको सुरक्षा सेवाले नै आक्रमणको योजना बनाएको आरोप लगाउँदै रुसले युक्रेनी महिला आफ्नी कान्छी छोरीलाई लिएर इस्टोनिया भागेको बताएको छ।

युक्रेनका अधिकारीहरूले भने घटनाको जिम्मेवारी अस्वीकार गरेका छन् । रूसी सुरक्षा सेवा वा अन्य आन्तरिक सेनाहरूको गल्तीका कारण उक्त घटना भएको हुनसक्ने अनुमान युक्रेनको छ । रसियामा पनि डुगिना निशानामा रहेको व्यापक अनुमान गरिएको थियो।

एक भूमिगत रूसी छापामार समूहले डुगिनाको हत्याको जिम्मेवारी लिएको पूर्व विपक्षी सांसद इल्या पोनोमारेभले बताएका छन् । तर यसको प्रमाण न त उनले दिएका छन् न त नेशनल रिपब्लिकन आर्मीले दिएको छ ।

पोनोमारेभले युक्रेनी टेलिभिजनसँगको कुराकानीमा उक्त समूहले डुगिना र उनकी छोरीलाई लक्षित गरेको कुरा आफूलाई अग्रिम जानकारी गराएको बताएका छन् । घटनामा संलग्न भएको भन्दै रुसले दावी गर्दै आएको भनिएकी युक्रेनी महिला घटनामा संलग्न नभएको पोनोमारेभको दावी छ ।

युक्रेनको हरेक सरकारी भवनमा बम विस्फोट गराउनुपर्ने माग

क्रेमलिन समर्थक पत्रकारहरू र रूसी राष्ट्रवादीहरूले एफएसबीको घोषणा अघि नै युक्रेनलाई आक्रमणबारे दोष दिन थालेका थिए । तिनीहरूले युक्रेनमा रुसी आक्रमण अझ बढाउन आव्हान गरेका थिए । केहीले त रूसले युक्रेनको हरेक सरकारी भवनमा बम विस्फोट गराउनुपर्ने माग समेत गरेका छन् ।

सोमबार सरकारी टेलिभिजन संचालिका ओलेसिया लोसेवाले डुगिनाको हत्यालाई आफूहरु सबैको लागि संकेत भएको बताइन् ।

डुगिनाको हत्या युद्धको मैदानमा युक्रोनाजीहरूको पराजयको सूचक भएको केहीले ठान्ने तथा केहीले राजधानीमा आतंकवादी हमलाले फेरि रातो रेखा पार गरेको ठान्ने क्रेमलिन समर्थक फिल्म निर्देशक र सिमोन्यानका पति टिग्रान केओसायनले टेलिग्राममा पोस्ट गरेका छन् ।

रुसको युद्ध योजना अनुशार अगाडि नबढेको उल्लेख गर्दै उनले युक्रेनी राष्ट्रपति भ्यालिदिमिर जेलेन्स्कीको कीभको बैंकोभा स्ट्रिटमा रहेको कार्यालयलाई ध्वस्त पार्न आह्वान समेत गरे । बैंकोभा स्ट्रिटमा भवनहरू किन बाँकी रहेका छन् भन्ने कुरा आफूले नबुझेको उनले बताए ।

रुसी पत्रकार अलेक्ज्याण्डर पेलेभिनले युक्रेनको सरकारलाई सरीसृप भन्दै पूर्ण विनाश गर्न आह्वान गरे।

डुगिनाको हत्याले पुटिन समर्थकहरु त्रसित

डुगिनाको हत्याले राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेन आक्रमणलाई पश्चिमी विश्वव्यापी शक्तिविरुद्धको आक्रमणका रुपमा जायज ठहर गर्दै प्रशंसा गर्ने रूसी टिभी एङ्करहरू, पत्रकारहरू र अन्य टिप्पणीकारहरूलाई समेत हल्लाएको छ । हत्याले रूसको सबैभन्दा अभिजात वर्गमा जोखिमको भावनालाई बढाएको छ ।

उनीहरूले आफूहरुपनि निशानामा हुनसक्ने अनुभव गरिरहेका छन् । सरकारले उनीहरूलाई सुरक्षा दिन सम्भवतः असक्षम रहेको अनुभव उनीहरुले गरिरहेका छन् । अर्कोतर्फ डुगिनाको हत्याको घटनाले युद्धमा गम्भीर बृद्धि हुने सम्भावना पनि बढाएको छ । किनभने उनका शोकाकुल बुबा लगायतले युक्रेनमा थप आक्रमणका लागि पुटिनमाथि दवाव दिइरहेका छन् ।

दक्षिणी रूस र क्रिमियामा ठूला विस्फोटहरू, साथै देशभरका भवनहरू र गोदामहरूमा रहस्यमय आगजनी लगत्तै शनिबारको कार बम विष्फोटको घटना भएको हो । युद्धको अनुभव नगरेका धेरै साधारण रूसीहरूले अब युद्ध एकदमै नजिकबाट अनुभव गर्न थालेका छन् ।

डुगिनाको कार विस्फोट भएको भिडियो, हवाई अड्डामा बम विष्फोटका तस्वीरहरु लगायतबाट रसियनहरु त्रसित भएका छन्। उनीहरूले रुसविरुद्ध लगाइएका प्रतिबन्धको पनि महसुस गरिरहेका छन् । किनभने एकातिर मूल्यबृद्धि भइरहेको छ भने अर्कोतर्फ तलब भने घटिरहेको छ ।

कुनै बेला पुटिनका शत्रुहरू र आलोचकहरू त्रासमा थिए । किनभने उनीहरुलाई गोली हान्ने वा विष दिइने डर थियो । तर अब अदृश्य र अप्रत्याशित खतराका कारण पुटिनका सबैभन्दा नजिकका प्रमुख सार्वजनिक सहयोगीहरू असुरक्षित अनुभव गरिरहेका छन् ।

क्रेमलिन परस्त युद्ध पत्रकार युरी कोटेनोकले ट्वीट गर्दै अहिले सम्म कुनै पनि स्थान सुरक्षित नभएको सबैलाई स्पष्ट हुनुपर्ने बताएका छन् । रूसीहरूले अब युद्धलाई बेवास्ता गर्न नसक्ने र मस्को अब एक फ्रन्टलाइन शहर भएको उनले बताएका छन् ।

डार्‍या डुगिना को हुन्

डार्‍या डुगिना चर्चित पत्रकार र टिप्पणीकार थिइन्। उनले युक्रेनमा रुसले गरेको अतिक्रमणलाई समर्थन गर्दै आएकी थिइन्। यसै वर्षको सुरुमा उनलाई यूकेका अधिकारीहरूले प्रतिबन्धको सूचीमा राखेका थिए।

युक्रेनमाथिको रुसी प्रतिबन्धबारे मिथ्या सूचना फैलाएकोमा ३० वर्षीय डार्‍या प्रतिबन्धमा परेकी थिइन्। एलेक्सेन्डर डुगिनका उग्रराष्ट्रवादी लेखहरूले विश्वप्रति राष्ट्रपति पुटिनको धारणालाई गहिरोसँग प्रभावित पार्ने विश्वास गरिन्छ।

उनी रुसले युक्रेनमाथि गरेको आक्रमणमा पनि नजिकबाट संलग्न छन्। विगतमा पनि उनले युक्रेनमाथिको कठोर रुसी अवधारणाको समर्थन गरेका थिए। सन् २०१४ मा मस्कोले क्राइमियामा अतिक्रमण गर्दा उनको भूमिकाका लागि सन् २०१५ मा उनलाई अमेरिकाले प्रतिबन्ध लगाएको थियो।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com