युद्ध र नाकाबन्दीका बीच ३ बर्षपछि मस्को पुगेका जीवा लामिछानेले जे देखे
प्रकाशित मिति : भाद्र ९, २०७९ बिहीबार
जर्मनी निवासी व्यवसायी तथा लेखक जीवा लामिछाने युद्ध र नाकाबन्दीका बीच रुसको मस्को पुगेका छन् । उनी त्यहाँ पुग्दा जे देखे, उक्त भोगाई सामाजिक सञ्जालमा शेयर गरेका छन् । खसोखासका पाठकका लागि लामिछानेको भोगाई जस्ताको तस्तै ।
झन्डै तीन बर्ष पछि हालै म मस्को पुगें ।
रुस- यूक्रेन बिबाद पछी पश्चिमी देशहरुले रुसमा चौतर्फी आर्थिक नाकाबन्दी लगाईदिएका छन् । अनेकथरि उपभोग्य सामग्री र ठुला व्यवसायिक घराना, ब्युरोक्र्याट, केहि राजनीतिज्ञ नाकाबन्दीको लिस्टमा छन् । प्रतिउत्तरमा रुसले पनि ती देशबाट आयात हुने सामग्रीमा प्रतिबन्ध लगाई दिएर त्यस्ता सामग्रीहरु चिन, भारत, दक्षिण अमेरिका लगायतका देशबाट आयात गर्न सुरु गरेको छ । यूरोपेली संघमा रुसी नागरिकलाई यात्रा प्रतिबन्ध लगाउने बिषयले चर्चा पाएको छ । केहि अपवाद बाहेक अधिकाशं रुसी बैंकहरुको स्विफ़्ट सिस्टम सस्पेंड गरिएको छ ।
यो नाकाबन्दीको प्रकृति पनि बिचित्रको छ । आफैंले नाकाबन्दी लगाएको देशले तेल, ग्यास, केहि अमुल्य खनिज पदार्थ लगायत पश्चिमी देशहरु निर्भर रहनु पर्ने सामाग्री चाहिने जति रुसले बेचेन भनेर रोइलो पनि उनीहरु नै गर्दैछन् ।
यति ठूलो आर्थिक नाकाबन्दीले रुसको अर्थतन्त्रमा निक्कै ठुलो झट्का हान्नेछ भन्ने मैले अनुमान गरेको थिएं । बिदेशी मुद्राको संचितिमा कमी, राष्ट्रिय मुद्रा रुबलको भारी अबमुल्यन हुने सम्भावनाले गर्दा लामो समय रुसले यो नाकाबन्दी थेग्न सक्दैन भन्ने मलाई लागेको थियो । तर अवस्था त्यस्तो बिल्कुल देखिएन ।
बृहद नाकाबन्दीका बाबजुद केहि आर्थिक सूचकहरु लोभलाग्दो गरि उकालो लागेका छन् ।
रुसको बैदेशिक मुद्रा संचिति अहिले ६०० बिलियन डलर (पश्चिमी देशहरुले फ़्रीज़ गरेको ३०० बिलियन डलर समेत गर्दा) पुगेको छ ! बिदेशी मुद्रा संचितिका हिसाबले चिन, जापान र स्विटजर्ल्याण्ड पछी रुस चौथो स्थानमा छ । केन्द्रीय ब्याङ्कमा सुनको संचिति अल टाइम हाई अर्थात् २३०० मेट्रिक टन पुगेको छ । अमेरिका, जर्मनी, इटाली र फ्रान्स पछी सुन संचितिमा रुस पाँचौ स्थानमा छ । राष्ट्रिय मुद्रा रुबल ८ बर्ष यता सबैभन्दा मज़बूत देखिएको छ । रुस निक्कै थोरै सरकारी ऋण भएको देश हो । सन २०२१ मा सरकारी ऋणको भार कुल गार्हस्थ उत्पादनको १८.२० प्रतिशतको मात्रै थियो ।
युद्द सुरु भएको १०० दिनमा तेल र ग्यास बिक्रीबाट मात्रै १०० बिलियन डलर रुसले आर्जन गरेको तथ्यांक पश्चिमी मिडीयाहरुले सार्वजनिक गरेका थिए । रुसले चिन, भारत, टर्की लगायतका देशहरुसंग ती देशका मुद्राहरुमा ब्यापार गर्न सुरु गरेको छ । चिन, भारत मात्रै नभएर अफ़्रीका, दक्षिण अमेरिका लगायत मध्यपूर्वका देशहरूले मस्कोसँग व्यापार जारी राखेका मात्रै छैनन्, अझ बढाएका छन् ।
कयौं कृषी उत्पादनमा रुस आत्मनिर्भर मात्र नभई निर्यात गर्ने हैसियतमा पुगेको छ । यस बर्षको गहुँ उत्पादन ९० मिलियन मेट्रिक टन पुगेको थियो ! पोल्ट्री र बंगुर पालन निक्कै फस्टाएको छ । तेल ग्यास पछी हात-हतियार निर्यातलाई बिस्थापित गर्दै कृषि उत्पादन निर्यातले दोश्रो स्थान लिएको छ ! रुसी बजार छोडेर गएका पश्चिमी कम्पनीहरुका ठॉऊमा दर्जनौ रुसी कम्पनीहरु उदाएका छन् । रुसी नागरिकहरुलाई पश्चिमी देशमा व्यवसाय गर्न र रियल स्टेट खरिदमा प्रतिबन्ध लागेकोले ठूलो मात्रामा क्यापिटल फ़्लाइट रोकिएको छ ।
महत्वपूर्ण अर्को पाटों रुसी नागरिकहरुमा अहिले अभूतपूर्व एकता र आत्मबिस्वास देखिएको छ । आर्थिक नाकाबन्दीको कसैले परवाह गरेको देखिएन । कुरैकुरामा केहिले त यसो पनि भने: ‘नाकाबन्दी त हामीलाई फाप्ला जस्तो पो लाग्न थाल्यो’ (Кажется, санкция нам ползу принесут)
आर्थिक हिसाबले माखे सांग्लो झैँ एकआपसमा जेलिएको विश्वमा अहिलेको ब्यापक नाकाबन्दीले रुसी अर्थतन्त्रमा दीर्घकालिन असर पक्कै पार्ने नै छ । तर चौतर्फी नाकाबन्दी लगाएर रुसलाई घुंडा टेकाउने पश्चिमी मुलुकहरुको चाहना छिट्टै पुरा हुने छाँट भने मैले यसपटकको यात्रामा अनुभूत गर्न सकिन !