२०२२ का झण्डै आधा डिभी विजेता नेपालीहरुले भिसा नपाउने सम्भावना
प्रकाशित मिति : भाद्र १२, २०७९ आईतबार
अहिलेसम्म प्राथमिक डिभी विजेता र उनीहरुका परिवारसहित झण्डै २ हजार नेपालीलेमात्र डाइभर्सिटी भिसा प्राप्त गरेका छन् भने अब आर्थिक बर्ष २०२२ का डिभी विजेताहरुले भिसा पाउनुपर्ने अवधि झण्डै एकमहिनामात्र बाँकी रहेको छ । यो अवस्थामा झण्डै आधा प्राथमिक डिभी विजेताहरुले यो बर्षपनि भिसा नपाउने देखिएको छ ।
गतमहिनासम्म १६१६ जना नेपालीहरुलेमात्र डाइभर्सिटी भिसा प्राप्त गरेका छन् । अमेरिकी दूतावास काठमाडौंको क्षमता र दर हेर्दा प्राथमिक डिभी विजेताहरु र उनीहरुका आश्रितहरु गरी आर्थिक बर्ष २०२२ का जम्मा २२ सयको हाराहारीमा मात्र भिसा पाउने देखिएको छ ।
अमेरिकी विदेश मन्त्रालयका अनुशार आर्थिक बर्ष सन् २०२२ का लागि ३८०२ जना नेपालीहरुले डिभी लोटरी पारेका छन् । जुन एसियामा नै दोश्रो हो । अहिलेसम्मको तथ्यांक हेर्दा उनीहरुमध्ये झण्डै आधाले भिसा नपाउने देखिएको हो ।
डिभी कार्यक्रम अन्तरगत बार्षिक ५५ हजारसम्म भिसा जारी गर्न सकिने कोटा तय भएको छ । जस अनुशार एउटा देशले कुल संख्याको ७ प्रतिशतसम्म अर्थात् ३८ सय सम्म डाइभर्सिटी भिसा प्राप्त गर्न सक्छन् । यो संख्या प्राथमिक डिभी विजेता र उनीहरुको परिवार समेत जोड्दा हो । तर चालु आर्थिक बर्षमा नेपालको यो कोटा पनि पूरा नहने देखिएको छ ।
जुलाईमा २३४ जना नेपाली डिभी विजेताहरुले अमेरिकाको डाइभर्सिटी भिसा पाएका छन्, जसमध्ये अमेरिकी दूतावास काठमाडौंबाट डाइभर्सिटी भिसा पाउनेहरु २२९ जना रहेको तथ्यांक अमेरिकी सरकार विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले सार्वजनिक गरेको छ ।
जुन महिनामा ३५७ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए । जसमध्ये काठमाडौंको अमेरिकी दूतावासलेमात्र ३५१ जनालाई डाइभर्सिटी भिसा जारी गरेको थियो । अन्य व्यक्ति अमेरिकामा नै स्टाटस एड्जस्ट गर्नेहरु र अन्य देशमा भिसा पाउने नेपालीहरु हुन् ।
मे महिनामा जम्मा ५९ जना नेपालीहरुले अमेरिकाको डाइभर्सिटी भिसा प्राप्त गरेकोमा अमेरिकी दूतावास काठमाडौंले जम्मा ५४ जनालाईमात्र डाइभर्सिटी भिसा दिएको थियो ।
त्यस अगाडि अप्रिलमा भने नेपालीहरुले उल्लेख्य संख्यामा डाइभर्सिटी भिसा पाएका थिए । कुल ६६२ जनाले अप्रिलमा डाइभर्सिटी भिसा पाएकोमा काठमाडौंबाट पाउनेहरु ६४६ जना रहेका थिए । मार्चमा कुल ३०४ जना नेपालीले डाइभर्सिटी भिसा पाएकोमा अमेरिकी दूतावास काठमाडौंले २९४ जना डिभी विजेताहरुलाई भिसा जारी गरेको थियो ।
डिभी २०२२ का विजेताहरुले अक्टोबरदेखि नै भिसा प्राप्त गर्नुपर्ने भएतापनि झण्डै साढे ५ महिनासम्म भिसा नदिएको अमेरिकाले मार्चको तेश्रोसातादेखि भिसा दिन सुरु गरेको थियो । अक्टोबरदेखि मार्चको दोश्रोसातासम्म अमेरिकी दूतावास काठमाडौंले डिभी विजेताको अन्तरवार्ता समेत लिएको थिएन ।
मार्च २१ सोमबारदेखिमात्र डिभी विजेताहरुको अन्तरवार्ता लिन सुरु गरेको थियो । डिभी २०२२ का विजेताहरुले आगामी सेप्टेम्बरभित्र भिसा प्राप्त गरिसक्नुपर्ने प्रावधान रहेको छ ।