क्यानडाको पासपोर्ट प्रकृयामा भएको ढिलाइको सम्बोधन, ५ महिनामा साढे ८ लाख पासपोर्ट जारी


प्रकाशित मिति : भाद्र १६, २०७९ बिहीबार

धेरै क्यानाडालीहरूले दुई वर्ष भन्दा लामो समयको महामारी प्रतिबन्ध पछि यात्रा योजनाहरू बनाइरहेका छन् तर पासपोर्ट आवेदनहरूको प्रकृयामा भने ढिलो भइरहेको छ । तर स्थिति सुधार हुन सक्ने देखिएको छ ।

सोमबार परिवार, बालबालिका र सामाजिक विकास मन्त्री करिना गोल्डले पासपोर्ट ढिलाईमा भएको चुनौतीपूर्ण अवस्थाको सामना गर्न महत्त्वपूर्ण उपायहरूको घोषणा गरिन् । जसमा पासपोर्ट सेवा, सरलीकृत नवीकरण प्रक्रिया र पासपोर्ट पिकअप लगायतका सेवाहरू विस्तार गर्न थप स्रोतहरू लगानी गर्ने विषय समावेश छ।

पासपोर्ट अनुरोधहरुमा आएको वृद्धि र आवेदनहरू प्रकृयामा महत्त्वपूर्ण ढिलाइका कारण धेरै क्यानाडालीहरू धेरै कठिन र तनावपूर्ण परिस्थितिमा रहेको तथा पासपोर्ट सेवामा भएको ढिलाई पूर्णरुपमा सम्बोधन नभएपनि सकारात्मक प्रवृत्ति देखिरहेको गोल्डले बताइन् । क्यानाडालीहरूलाई उनीहरूको पासपोर्ट समयमै प्राप्त गर्न मद्दत गर्न हरेक सम्भावित विकल्पहरू लागू गर्न जारी राख्ने उनले बताइन् ।

थप कर्मचारीहरूको साथमा प्रकृया अगाडि बढेको तथा ब्याकलग घटाउनमा वास्तविक प्रगति गरिरहेको गोल्डले बताइन् ।

Canada passport

ब्याकलग घटाउन सर्भिस क्यानाडामा कर्मचारीमा उल्लेखनीय बृद्धि गरिएको छ । पासपोर्टको उच्च मागलाई सम्बोधन गर्न अब २ हजार भन्दा धेरै कर्मचारीहरूले सेवा उपलब्ध गराउनेछन् ।

पासपोर्ट प्रकृया छिटो बनाउन जुलाईको अन्तिमसम्म ७३१ जना नयाँ कर्मचारी नियुक्त गरिएको थियो । गतबर्षको जुलाईमा ११२७ जना कर्मचारी रहेकोमा यो बर्षको जुलाईसम्म १९०३ पुर्याइएको थियो । यो बर्षको अप्रिल १ यता ८ लाख ५७ हजार ५६९ पासपोर्ट जारी गरिएको छ ।

पछिल्लो १५ वर्षमा जारी गरिएको पासपोर्टवाहकलाई सरल नवीकरणको सेवा दिइनेछ ।

लाइनअपहरू व्यवस्थित गर्न र आसन्न यात्रा आवश्यकताहरू भएका क्यानाडालीहरूले समयमै आफ्नो पासपोर्ट प्राप्त गर्न सुनिश्चित गर्न महानगरीय क्षेत्रहरूमा नयाँ ट्राइज प्रणाली लागु गरिएको छ । राहदानी पिकअप सेवाको विस्तार गरिएको छ । जुन अब लगभग सबै राहदानी कार्यालयहरू र चारवटा सर्भिस क्यानाडा केन्द्रहरूमा उपलब्ध छ। आगामी हप्ताहरूमा सेवालाई थप नौ सर्भिस क्यानडा केन्द्रहरूमा विस्तार गरिनेछ ।

ओन्टारियो, क्युबेक र एट्लान्टिक क्यानडाका २४ निर्धारित आउटरिच साइटहरूमा राहदानी सेवाहरूको विस्तार गरिएको छ । ग्रामीण र दुर्गम समुदायहरूको राहदानी आवश्यकताहरू पूरा गर्न मद्दतको लागि आगामी हप्ताहरूमा थप घोषणा गरिने जनाइएको छ।

३४ वटा पासपोर्ट अफिसबाट अर्जेन्ट सेवा, ४ वटा सर्भिस सेन्टरबाट १० दिनमा सेवा उपलब्ध गराइनेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com