नोभेम्बर ७ देखि अमेरिकामा एसाइलम र वर्क परमिटको नयाँ फर्म


प्रकाशित मिति : भाद्र २२, २०७९ बुधबार

आगामी नोभेम्बर ७ देखि लागु हुने गरी युएससीआईएसले एसाइलम र वर्क परमिटको फर्मको नयाँ संस्करण ल्याएको छ । एसाइलमका लागि फर्म आई ५८९ र वर्क परमिटका लागि फर्म आई ७६५ को जुलाई २६ को मितिको नयाँ संस्करण ल्याइएको हो ।

नोभेम्बर ७ पछि नयाँ संस्करणमात्र स्वीकार गरिने युएससीआईएसले स्पष्ट पारेको छ । तर त्योभन्दा अगाडि भने नयाँ वा पूरानो जुनसुकै संस्करण पनि प्रयोग गर्न सकिने छ । पूरानो संस्करणमा एसाइलमको फर्ममा सन् २०२० को अगस्त २० को मिति रहेको छ भने वर्क परमिटको फर्ममा सन् २०२२ को मे ३१ र सन् २०२० को अगस्त २० को मिति रहेको छ ।

संस्करणको मिति फर्मको पृष्ठको तल उल्लेख गरिएको हुन्छ भने त्यसको साथ फर्म भर्नका लागि दिशानिर्देशन समेत समावेश हुन्छ । अघिल्लो संस्करणहरूमा विभिन्न निर्देशनहरू समावेश छन् जुन पछिल्ल एसाइलमका नियमहरुसँगै प्रचलनमा रहेका छैनन् । त्यसैले यसबारे ध्यान दिन समेत सचेत गराइएको छ ।

फेब्रुअरी ७, २०२२ मा अमेरिकी अदालतले एसाइलमका दुई नियमहरू हटाएको थियो । ट्रम्प प्रशासनले सन् २०२० को जुन २२ र जुन २६ मा ल्याएको नियम फेब्रुअरी ८, २०२२ देखि लागु नहुनेगरी हटाइएको थियो । त्यसैले नयाँ संस्करण र पूरानो संस्करणका फर्म भर्दा दिशानिर्देशहरु फरक फरक रहेका छन् ।

फेब्रुअरी ७ देखि लागु हुनेगरी युएससीआईएसले सन् २०२० को जुन अगाडिकै नियमका प्रावधानहरू लागू गरेको छ। फेब्रुअरी ८ मा पेन्डिङ रहेका वा त्यसपछि पछि प्राप्त भएका एसाइलम र वर्क परमिटका आवेदनमा सन् २०२० को जुन अगाडिनै नियम लागु हुनेछ । युएससीआईएसले अदालतको निर्णयलाई पालना हुनेगरी नयाँ फर्महरु ल्याएको जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com