आज बेलुका क्षुद्रग्रहसँग ठोक्काइदै नासाको यान
प्रकाशित मिति : आश्विन १०, २०७९ सोमबार
सोमबार नासाको डबल एस्टेरोइड रिडायरेक्शन टेस्ट स्पेसक्राफ्ट पृथ्वीबाट नजिक रहेको क्षुद्रग्रह डिमोर्फोससँग ठोक्काइने भएको छ । पृथ्वीको नजिकका यी क्षुद्रग्रहले तत्काल पृथ्वीम कुनै खतरा नपार्ने भएपनि नासाले गत वर्ष ग्रह रक्षाका लागि प्रयोग गर्न सकिने प्रविधिको परीक्षण गर्न डबल एस्टेरोइड रिडायरेक्शन टेस्ट स्पेसक्राफ्ट सुरु गरेको थियो ।
स्पेसक्राफ्ट न्युयोर्क समय अनुशार सोमबार बेलुकी ७ बजेर १४ मिनेटमा १४ हजार माइल प्रतिघण्टाको गतिमा डिमोर्फोसमा ठोक्किने छ। नासा टेलिभिजनले साँझ ६ बजेबाट यसको प्रत्यक्ष प्रशारण सुरु गर्ने भएको छ ।
नासाले रमाइलोको लागिमात्र महँगो, परिष्कृत अन्तरिक्ष यान बर्बाद गर्न लागेको होइन । वास्तवमा नासाले आफ्नो गर्नुपर्ने काम नै गरिरहेको छ । सन् २००५ मा अमेरिकी संसदले नासालाई सन् २०२० सम्म पृथ्वी नजिकैका ९० प्रतिशत क्षुद्रग्रहहरू फेला पार्ने जनादेश दिएको थियो ।
४६० फिट वा त्योभन्दा ठूला क्षुद्रग्रहहरु एउटा शहरलाई नष्ट गर्न पर्याप्त हुन्छन् । तर संसदले नासालाई प्रयाप्त बजेट नदिदा यो काम अधूरो रहदै आएको छ । झण्डै १५ हजार बढी क्षुद्रग्रहहरू पत्ता लगाउन बाँकी रहेको छ ।
नासाले घातक अन्तरिक्ष चट्टानहरू खोजिरहेको बेला खतराको सामना गर्ने तरिकाहरू पनि विकास गरिरहेको छ ।
अहिले नासाको मिशनको लक्ष्य डिमोर्फोस क्षुद्रग्रह हो । यसको परिधी झण्डै ५ सय फिट रहेको छ । यसले डिडिमोस नामको आधा माइल चौडा क्षुद्रग्रहलाई परिक्रमा गर्छ। यी दुई लगभग ० दशमलव ६ माइलको दूरीमा रहेका छन् । डिमोर्फोसले प्रत्येक ११ घण्टा, ५५ मिनेटमा डिडिमोसको वरिपरि एक चक्कर लगाउँछ ।
नासाले त्यहाँ ठोक्काउन पठाउने यान स्वचालित आत्मघाती अन्तरिक्ष यान हो ।