उम्मेदबारी दर्ता: डडेल्धुराबाट देउवा, झापाबाट ओली, गोरखाबाट प्रचण्ड, रौतहटबाट नेपाल


प्रकाशित मिति : आश्विन २३, २०७९ आईतबार

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ देशभर उम्मेदवारको मनोनयनपत्र सुरु भएको छ । प्रत्यक्षतर्फ देशभरिका एक सय ६५ प्रतिनिधिसभा र तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयनपत्र दर्ता गर्न लागिएको हो ।

निर्वाचन आयोगले आज बिहान १० देखि साँझ ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफँै वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने व्यवस्था गरेको छ ।

यसका लागि आयोगले आवश्यक संरचना, जनशक्ति र सुरक्षा प्रबन्धसहित सम्पूर्ण व्यवस्था मिलाइसकेको जनाएको छ ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका तर्फबाट डडेल्धुराबाट उम्मेदवारी दर्ता गर्नुभएको छ । उहाँका तर्फबाट उहाँका धर्मपत्नी एवं नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाले मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा गएर प्रधानमन्त्री देउवाको उम्मेदवारी दर्ता गराउनुभएको हो ।

वारिसनामामार्फत डा.आरजुले प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाको उम्मेदवारी दर्ता गर्नुभएको डडेल्धुराका प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिनुभयो । उम्मेदवारी दर्ता गराउन डा आरजु देउवा हिजो नै डडेल्धुरा पुग्नुभएको थियो । प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा सदस्याका डडेल्धुराबाटै यो सातौँ पटक उम्मेदवारी दर्ता गराउनुभएको हो ।

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली स्वयं उपस्थित भई झापाको क्षेत्र–५ बाट मनोनयनपत्र दर्ता गरिसक्नुभएको छ ।

यसैगरी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा क्षेत्र–२ बाट मनोनयनपत्र दर्ता गराउनुभएको छ ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको क्षेत्र–१ बाट मनोनयन दर्ता गराइसक्नुभएको छ । सोही पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलामको क्षेत्र–१ बाट मनोनयनपत्र दर्ता गराउनु भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले झापाको क्षेत्र–३ निर्वाचन कार्यालयमा उम्मेदवारी मनोनय पत्र दर्ता गराइसक्नुभएको छ । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरले महोत्तरीको क्षेत्र–३ बाट र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सप्तरीको क्षेत्र–२ बाट मनोनयनपत्र दर्ता गराउनु भएको छ ।

आयोगले प्रकाशन गरेको निर्वाचन तालिकाअनुसार मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्नेसमेत असोज २३ गते नै साँझ ५ देखि ७ बजेसम्म, उम्मेदवारको विरोधमा उजुरी दिने समय असोज २४ गते बिहान १० देखि अपरान्ह ३ बजेसम्म, मनोनयपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने समय असोज २४ गते अपरान्ह ३ देखि २५ गते साँझ ५ बजेसम्म रहेको छ ।

यसैगरी उम्मेदवारको नामावली प्रकाशन गर्न असोज २५ गते साँझ ५ देखि ७ बजेसम्म, उम्मेदवारको नाम फिर्ता लिन असोज २६ गते बिहान १० देखि दिउँसो १ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न २६ गते दिउँसो १ देखि ३ बजेसम्म, उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्न २६ गते अपरान्ह ४ देखि साँझ ७ बजेसम्म र मतदान आगामी मङ्सिर ४ गते बिहान ७ देखि साँझ ५ बजेसम्म हुनेछ ।

यस निर्वाचनका लागि मतदाता नामावलीमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता सङ्ख्या छ । यसमा पुरुष मतदाताको सङ्ख्या ९१ लाख ४० हजार आठ सय ६, महिला मतदाताको सङ्ख्या ८८ लाख ४७ हजार पाँच सय ७९ र अन्य एक सय ८५ छ । निर्वाचनका लागि देशभर १० हजार आठ सय ९२ मतदानस्थल र सोअन्तर्गत २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ ।

निर्वाचनका लागि आयोगले यही असोज २० गतेसम्ममा पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत ७७ र निर्वाचन अधिकृतको कार्यालय ८८ स्थानमा गरी एक सय ६५ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ ।

मकवानपुरमा महालक्ष्मी डीना र कमल थापाद्वारा उम्मेदवारी दर्ता

दिउँसो १ः३० बजेसम्म सत्तारुढ गठबन्धनको तर्फबाट निर्वाचन क्षेत्र नं १ बाट नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डीना), नेकपा (एमाले) को समर्थनमा राप्रपा नेपालका तर्फबाट कमल थापा, राप्रपाका केन्द्रीय कार्यसम्पादन समिति सदस्य दीपकबहादुर सिंह र हाम्रो नेपाली पार्टीका दिपेन्द्र चन्द ठकुरीले उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा क्षेत्र नं २ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का रन्तप्रसाद प्रजापतिले उम्मेदवारी मनोनयन गराउनुभएको छ । यसैगरी गठबन्धनका तर्फबाट क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा पूर्वस्वास्थ्यमन्त्री विरोध खतिवडाले उम्मेदवारी मनोनयन अपराह्न ३ बजे गराउने कार्यक्रम छ ।

त्यस्तै नेकपा (एमाले)को तर्फबाट क्षेत्र नं २ मा महेशकुमार बर्तौलाले पनि आजै ३ः३० बजे उम्मेदवारी दर्ता गराउनुहुने एमाले मकवानपुरले जनाएको छ । अन्य उम्मेदवारले साँझ ५ बजेभित्रै हेटौँडा उपमहानगरपालिका–२ स्थित निर्वाचन कार्यालय परिसरमा आई मापदण्डअनुसार उम्मेदवारी दर्ता गराउनसक्ने व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत निरौलाले बताउनुभयो । मकवानपुरमा तीन लाख सात सय ३३ मतदाता छन् भने तीन सय ६४ मतदान केन्द्र तोकिएको छ ।

कांग्रेस नेता सिटौलाको वारेसनाममार्फत उम्मेदवारी दर्ता

नेपाली कांग्रेसका नेता पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि वारेसमार्फत उम्मेदवारी दर्ता गराउनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहान ११ बजे नै उहाँले नेपाल बार एशोसिएशनका केन्द्रीय उपाध्यक्ष तथा वरिष्ठ अधिवक्ता सुरज तिम्सिनामार्फत आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीश चन्द्रमणि ज्ञवालीका अनुसार उहाँको प्रस्तावकमा मोहन महर्जन र समर्थकमा गणेश पोखरेल रहनुभएको छ । पार्टीको केन्द्रमा चलिरहेको बैठकका कारण उहाँ आफै उपस्थित भएर उम्मेदवारी दर्ता गराउन नसकेपछि अधिवक्ता तिम्सिनामार्फत उम्मेदवारी दर्ता गराइएको समर्थक पोखरेलको भनाइ थियो।

सिटौलाले आजै जीपी स्मृति भवनको प्राङ्गणमा भइरहेको गठबन्धनको भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा त्यस क्षेत्रका विभिन्न स्थानबाट सन्थाल नृत्यसहितको झाँकी ल्याइएको छ ।

रुकुम पश्चिमको प्रतिनिधिसभामा अर्थमन्त्री शर्माको उम्मेदवारी

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले प्रतिनिधिसभाको सदस्यका लागि उम्मेदवारी दर्ता गराउनु भएको छ । आज अपरान्ह खलङ्गामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उहाँले एक मात्र निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिमबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो ।

विसं २०६४ देखि रुकुमबाट चुनाव लड्दै आउनु भएका शर्माले यो पटक पनि रुकुम पश्चिमबाटै उम्मेदवारी दिनुभएको हो । त्यस्तै प्रदेशसभा क्षेत्र नं ‘क’ बाट महेन्द्र केसी र प्रदेशसभा क्षेत्र नं ‘ख’ बाट राजकुमार शर्माले उम्मेदवारी दिनुभएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com