शताब्दी पुरुष सत्यमोहन जोशीको स्वर्गारोहण


प्रकाशित मिति : आश्विन २९, २०७९ शनिबार

शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा स्वर्गारोहण भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा जोशीको निधन भएको हो ।

जोशीको आज बिहान निधन भएको जोशी परिवारसँग निकट रहेका नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले सामाजिक सञ्जालमार्फत सार्जजनिक गरेका छन् ।

जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । उनमा कमजोरी बढेपछि यही असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो ।

रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो । अस्पताल बसाइको शुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो ।

बाबु शंकरराज जोशी र आमा राजकुमारीका सुपुत्रका रूपमा विसं १९७७ साल वैशाखमा बखुम्बहाल, ललितपुरमा जन्मनुभएका सत्यमोहन जोशीले हाम्रो लोक संस्कृतिका लागि पहिलोपटक २०१३ सालमा, नेपाली राष्ट्रिय मुद्रा नामक ग्रन्थका लागि दोस्रोपटक २०१७ सालमा, र कर्णाली लोक संस्कृति नामक ग्रन्थको लागि उनले संयुक्त रूपमा तेस्रोपटक २०२८ सालमा मदन पुरस्कार प्राप्त गर्नुभएको थियो ।

नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षण, सम्बर्धन र विकासमा लागि परेका हुनाले उहाँको योगदानको कदर स्वरूप जोशीलाई सुप्रबल गोर्खा दक्षिणबाहु विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौँ विश्व विद्यालयले विद्यावारिधीको मानार्थ प्रमाणपत्र प्रदान गरेको थियो । नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको थियो ।

शताब्दी पुरुष सत्यमोहन जोशीले जीवनभर साहित्य, कलासंस्कृति र रङ्गमञ्चमा गरेका योगदानका विविध आयाम समेटेर कवि तथा लेखक अनिल पौडेलद्वारा लिखित ‘जुरेली दर्शन’ पुस्तक प्रकाशनमा ल्याएका छन्। यस कृतिमा उनको जीवनी, भाषा, साहित्य, लोकसंस्कृति अन्वेषणलगायतका विषयहरू समेटिएका छन्।

जीवित अवस्थामै हुलाक टिकटमा प्रकाशित पहिलो नेपाली नागरिक पनि हुनुहुन्थ्यो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com