न्युयोर्कको ज्याक्सन हाइट्समा झगडापछि लिकमा खसेका व्यक्तिको ट्रेनको ठक्करबाट मृत्यु


प्रकाशित मिति : आश्विन ३१, २०७९ सोमबार

न्युयोर्कको ज्याक्सन हाइट्समा झगडापछि लिकमा खसेका व्यक्तिको एफ ट्रेनको ठक्करबाट मृत्यु भएको छ । झगडाको क्रममा एकजना लिकमा खसेपछि उनलाई आउँदै गरेको ट्रेनले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

४८ वर्षीय एक व्यक्ति अर्को ५० वर्षीय व्यक्तिसँग ज्याक्सन हाइट्स–रुजवेल्ट एभिन्यू स्टेशनको प्लेटफर्ममा सोमबार साँझ ५ बज्नै लाग्दा झगडा गरेका थिए । लगत्तै उनी ट्रेनको लिकमा खखसेका थिए । उनलाई खसालिएको हो वा झुक्किएर खसेका हुन् भन्नेबारे खुल्न नसकेको प्रहरीले जनाएको छ ।

ट्रेनले ठक्कर दिएको व्यक्तिलाई एल्महर्स्ट अस्पताल लगिएको थियो, जहाँ उनलाई मृत घोषित गरिएको थियो । घटनास्थलबाट ५० वर्षीय पुरुषलाई हिरासतमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले सोमबार रातिसम्म दुवै जनाको नाम सार्वजनिक गरेको छैन।

ट्रेनको लिकमा खसेर वा धकेलिएपछि मानिसहरूको मृत्यु हुनु दुर्लभ छ, तर सोमबारको घटना ट्र्रेन स्टेशनमा मृत्यु र हिंसात्मक घटनाहरूको लहर पछि आएको छ, जसले न्यूयोर्कवासीहरूलाई स्तब्ध बनाएको छ।

गतबर्षको जनवरीमा न्युयोर्कको टाइम्स स्क्वायर स्टेशनको प्लेटफर्ममा एक ४० बर्षकी महिलालाई आउँदै गरेको आर ट्रेनको अगाडि धकेलिएको थियो । जसमा उनको मृत्यु भएको थियो । त्यस्तै ब्रुकलिनको सनसेट पार्कमा एन ट्रेनमा भएको सामूहिक गोलीकाण्डमा अप्रिलमा २३ जना घाइते भएका थिए।

गत हप्ता १५ वर्षीय जेजोन बर्नेटलाई क्वीन्सको फार रकवेमा दक्षिणतर्फ जाँदै गरेको ए ट्रेनमा युवाहरूको दुई समूहबीचको झगडामा गोली हानी हत्या गरिएको थियो। बर्नेट वर्षको सुरुदेखि ट्रेन स्टेशनमा मारिने आठौं व्यक्ति थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com