आर्मीकी जयरानी थारुले जितिन तेस्रो स्वर्ण, लङजम्पमा राष्ट्रिय कीर्तिमान


प्रकाशित मिति : कार्तिक १, २०७९ मंगलबार

गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सतर्फ महिला लङजम्पमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । कास्कीको पोखरा रंगशालामा आज सम्पन्न महिला लङजम्पमा थारुले पाँच दशमलव ५८ मिटर जम्प गर्दै कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन् ।

यसअघि लुम्बिनी प्रदेशकी निशा चौधरीको नाममा पाँच दशमलव ४७ मिटरको कीर्तिमान थियो । निशा आजको खेलमा स्वर्ण पदकबाट चुकिन् । लुम्बिनीकी निशाले पाँच दशमलव ४९ मिटर जम्प गर्दै रजत पदक प्राप्त गरिन् ।

सो स्पर्धामा सशस्त्र प्रहरीको एपिएफ क्लबकी शिला चौधरीले ५ दशमलव ३१ मिटर जम्प गर्दै कास्य पदक प्राप्त गरिन् । नवौँ राष्ट्रिय खेलकुदमा जयरानीको यो तेस्रो स्वर्ण पदक हो । यसअघि उनले महिला चार सय मिटर हडल्स र एक सय मिटर हडल्समा स्वर्ण पदक जितिसकेकी छिन् ।

राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेपछि उनले पोखरा रङ्गशालाबाट बर्दिया घरमा रहनुभएका आमा सुगही थारुलाई फोन गरेर आफ्नो सफलता सुनाइन् । आमाले बधाई भन्दै अझै राम्रो गर छोरी भनेर हौसला दिएको जयरानीले बताइन् । “बुबा घरमा हुनुहुँदो रैनछ आमालाई फोनमा स्वर्ण जितेँभन्दा बधाई छ छोरी अझै राम्रो गर्न सक्छौँ भनेर हौसला दिनुभयो ।” उनले भनिन् ।

राष्ट्रिय खेलकुदमा सफलता मिलेपछि उनको अबको लक्ष्य अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने र देशलाई पदक दिलाउने छ । उनले भनिन् ,“स्वर्ण पदक जित्ने लक्ष्य पूरा भएको छ । अब अन्तर्राष्ट्रिय प्रतियोगितामा अझै राम्रो गर्ने र देशलाई पदक दिलाउने मेरा लक्ष्य छ ।”

जयरानीले विसं २०७२ देखि खेल्न थालेकी हुन् । त्यसअगाडि विद्यालयस्तरीय प्रतियोगिता, राष्ट्रपति रनिङ शिल्डलगायतका जिल्ला तथा राष्ट्रिय प्रतियोगिता खेलिन् । सातौँ राष्ट्रिय खेलकुदमा पहिलो पटक सहभागी उहाँले आठौँमा तत्कालीन प्रदेश नं ५ र हालको लुम्बिनी प्रदेशबाट सहभागी भएर तीन इभेन्टमा रजत पदक जितिन् ।

आठौँमा नेपाल आर्मीसँग प्रतिस्पर्धा गरेर द्धितीय भएकी जयरानीले नवौँमा आर्मीबाट खेल्दै स्वर्ण जित्ने अवसर उनलाई मिल्यो । उहाँ विसं २०७६ साउनमा सेनामा भर्ना भइन् । गाउँले खेलाडी दाइ जीवन चौधरीलेनै जयरानीलाई सेनामा प्रवेश गराउन सहयोग गरेको जयरानीको भनाइ छ । आफूलाई खेल जीवनमा प्रवेश गराउन घरबाट बुबा भगवान डिन थारुको धेरैनै साथ र सहयोग मिलेको जयरानीले बताइन् ।

सामान्य कृषक परिवारका जयरानीलाई आमाले घरको काम गर्नुपर्दछ भन्ने गरे पनि बुबाले खेलमै लाग्न प्रेरित गर्ने गरेको उनले सुनाइन् । उनले विगतलाई स्मरण गर्दै भनिन् “सानोमा आमाले घरको काम कसले गर्छ घरको काममा सहयोग गर्नुपर्दछ भन्नुहुन्यो, बाबा चाँही खेल खेल्नुपर्दछ भनेर मलाई अघि बढ्न प्रेरणा दिइरहनभयो, बुबा कृषक भए पनि खेलकुदलाई मन पराउनुहुन्थ्यो ।”

सुरुमा चाँही उनलाई खेलमा लाग्न सहयोग गर्ने कोही नभए पनि पछि विद्यालयमा राम्रो गरेपछि विद्यालयमै निःशुल्क बस्ने र खेल्ने वातावरण मिल्यो । जयरानीले गुरुआमा मान्ने एथलेटिक्स प्रशिक्षक बर्दियाकै सुमित्रा चौधरीलेले विद्यालयमा होस्टलमा बस्नेदेखि खेलकुदका प्रतियोगितामा सहभागी हुनका लागि सहयोग गरेको थारुले सुनाउनुभयो ।

उनले भनिन् “मलाई खेलमा पाइला टेकाउने सुमित्रा चौधरी गुरुआमाले हो । उहाँको साथ, सहयोग मलाई जहिले पनि मिलिरहेको छ ।”

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com