आगामी बर्षको ट्याक्स फाइल गर्दा अर्नड इन्कम ट्याक्स क्रेडिट ७४३० डलरसम्म पाइने
प्रकाशित मिति : कार्तिक २, २०७९ बुधबार
आगामी बर्ष अर्नड इन्कम ट्याक्स क्रेडिट पनि ७ हजार ४ सय ३० डलरसम्म पाउन सकिने आईआरएसले घोषणा गरेको छ । यो दर करबर्ष २०२३ का लागि लागु हुनेछ । अर्थात् २०२४ मा कर फाइल गरिनेहरुका सन्दर्भमा लागु हुनेछ । सन् २०२२ का लागि अर्नड इन्कम ट्याक्स क्रेडिट अधिकतम ६ हजार ९ सय ३५ डलर रहेको छ । जुन आगामी बर्ष ट्याक्स फाइल गर्दा दावी गर्न सकिनेछ ।
कर बर्ष २०२१ का लागि भने विगतका बर्षहरुमा योग्य नभएकाहरु पनि अर्नड इन्कम ट्याक्स क्रेडिटका लागि पनि योग्य भएका थिए । सन् २०२१ को ट्याक्स फाइल गर्नेहरुमा बच्चा नभएका कम आम्दानी भएकाहरुले १५ सय २ डलरसम्म क्रेडिट पाएका थिए । जुन सन् २०२० को तुलनामा झण्डै तेब्बर थियो । तर आगामी बर्षका लागि भने पुन घटाइएको छ ।
आगामी बर्ष २०२२ को ट्याक्स फाइल गर्ने योग्य बच्चा नभएकाहरुले ५६० डलर क्रेडिट पाउनेछन् । त्यस्तै एकजना योग्य बच्चा हुनेले ३७३३ डलरसम्म, २ जना योग्य बच्चा हुनेले ६ हजार १ सय ६४ डलरसम्म र ३ जना योग्य बच्चा हुनेले ६ हजार ९ सय ३५ डलरसम्म पाउनेछन् । यो ५६० डलरको क्रेडिट पाउन एकल बच्चा नहुनेको आम्दानी १६ हजार ४ सय ८० सम्म, दम्पत्ति बच्चा नहुनेको आम्दानी २२ हजार ६ सय १० सम्म हुनुपर्छ ।
त्यस्तै एउटा बच्चा हुने एकल ४३ हजार ४ सय ९२ डलरसम्म र दम्पत्ति ४९ हजार ६ सय २२ डलरसम्म आम्दानी हुनेले ३७३३ डलरसम्म पाउनेछन् । त्यस्तै २ वटा बच्चा हुने एकल ४९ हजार ३ सय ९९ डलरसम्म र दम्पत्ति ५५ हजार ५ सय २९ डलरसम्म आम्दानी हुनेले ६ हजार १ सय ६४ डलरसम्म क्रेडिट पाउनेछन् । ३ वटा बच्चा हुने एकल ५३ हजार ५७ डलरसम्म र दम्पत्ति ५९ हजार १ सय ८७ डलरसम्म आम्दानी हुनेले ६ हजार ९ सय ३५ डलरसम्म क्रेडिट पाउनेछन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेको १ दशमलव ९ बिलियन डलरको अमेरिकन रेस्क्यु प्लानमा २०२१ को ट्याक्स फाइल गर्दा क्रेडिट विस्तार गर्नुका साथै आम्दानीको मापदण्ड बढाइएको थियो । २०२१ को आम्दानीले योग्य नभएपनि २०१९ को आम्दानी प्रयोग गरेर समेत यो क्रेडिट दावी गर्न सक्ने व्यवस्था थियो ।
पूर्णकालिन विद्यार्थी नरहेको १९ बर्षभन्दा माथिको निश्चित आम्दानी भएको जो सुकै व्यक्तिले पनि यो क्रेडिट दावी गर्नसक्ने अमेरिकन रेस्क्यु प्लानमा व्यवस्था थियो । बच्चा नभएका करदाताहरुले २१ हजार ४ सय ३० डलरसम्म आम्दानी गरेको भएमा यो क्रेडिट दावी गर्न सक्ने व्यवस्था थियो ।
विगतमा यो क्रेडिट २५ देखि ६४ बर्षसमुहकाले मात्र दावी गर्न सक्ने भएपनि २०२१ को ट्याक्स फाइल गर्दा १९ बर्षमाथिकाले दावी गर्न सक्ने व्यवस्था थियो । होमलेस र फोस्टर केयरमा रहेका १८ बर्षकालेसमेत दावी गर्न सकिने व्यवस्था थियो ।