विद्यार्थी ऋण मिनाहा गर्ने बाइडेनको कार्यक्रममा पुनरावेदन अदालतबाट अस्थायी रोक
प्रकाशित मिति : कार्तिक ४, २०७९ शुक्रबार
१० हजार डलरसम्म विद्यार्थी ऋण मिनाहा गर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको कार्यक्रममा पुनरावेदन अदालतले अस्थायी रोक लगाएको छ । रिपब्लिकन नेतृत्वमा रहेका ६ वटा राज्यले बाइडेनको योजनाविरुद्ध अदालतमा मुद्दा दायर गरेकोमा आठौं सर्किट कोर्टले कार्यक्रममा शुक्रबार अस्थायी रोक लगाएको हो ।
बाइडेन प्रशासनले सोमबार साँझसम्म पुनरावेदन अदालतमा मुद्दाको जवाफ दिनुपर्नेछ । संघीय जिल्ला न्यायाधीशले उनीहरूको मुद्दाको कुनै आधार नभएको भन्दै बिहीबार मुद्दा खारेज गरेपछि शुक्रबार पुनरावेदनको यो निर्णय आएको हो ।
बाइडेन प्रशासनले विद्यार्थी ऋण राहत खोज्नेहरुका लागि सोमबारदेखि आवेदन पूर्णरुपमा खुला गरेको थियो । यो कार्यक्रम अन्तरगत बार्षिक १ लाख २५ हजार भन्दा कम आम्दानी हुनेहरुको १० हजारसम्मको ऋण मिनाहा हुनेछ भने पेल अनुदान प्राप्त गर्नेहरुका सन्दर्भमा भने २० हजार डलरसम्मको ऋण मिनाहा गरिनेछ ।
सोमबारदेखि ऋण मिनाहाका लागि २२ मिलियन आवेदन परिसकेका छन् । यो कानुनी लडाई कहिलेसम्म जारी रहनेछ भन्ने अहिले नै स्पष्ट छैन। बाइडेन प्रशासनसँग ऋण रद्द गर्ने अधिकार नभएको भन्दै रिपब्लिकन नेतृत्वका राज्यहले मूल रूपमा सेप्टेम्बरमा मुद्दा दायर गरेका थिए ।