टेक्सासको डलासमा अस्पतालमा गोली चल्यो, २ कर्मचारीको मृत्यु
प्रकाशित मिति : कार्तिक ५, २०७९ शनिबार
टेक्सासको डलास अस्पतालमा गोली चल्दा दुई कर्मचारीको मृत्यु भएको छ । मेथोडिस्ट डलास मेडिकल सेन्टरमा स्थानीय समय अनुसार शनिबार बिहान करिब ११ बजे गोली चलेपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।
प्रारम्भिक अनुसन्धानले एक संदिग्धले अस्पतालका दुई कर्मचारीलाई गोली हानेर हत्या गरेको पत्ता लागेको छ । घटनास्थलमा पुगेका प्रहरी अधिकारीले शंकास्पद व्यक्तिलाई गोली हानेर घाइते बनाएका छन् ।
संदिग्धलाई हिरासतमा लिइएको छ । संदिग्धको अवस्था स्थिर रहेको छ भने उपचारका लागि अर्को अस्पताल लगिएको विज्ञप्तिमा जनाइएको छ । प्रहरीले हत्याको आरोपमा ३० वर्षीय नेस्टर हर्नान्डेजलाई गिरफ्तार गरेको छ।
हर्नान्डेज डकैतीको लागि प्यारोलमा बाहिर रहेको र खुट्टामा जीपएस लगाइएको व्यक्ति रहेको प्रहरीले जनाएको छ ।
अस्पतालले आफ्नो टोलीका दुई सदस्यहरूको मृत्युमा शोक व्यक्त गरेको छ । यस अकल्पनीय त्रासदीमा शोकमग्न रहेको अस्पतालले जनाएको छ । मेडिकल सेन्टर अहिले सुरक्षित रहेको जनाइएको छ ।