सी जिन्पिङसँगै बसेका पूर्वराष्ट्रपति हु जिन्ताओलाई किन निकालियो अधिवेशनबाट बाहिर?
प्रकाशित मिति : कार्तिक ५, २०७९ शनिबार
हरेक पाँच वर्षमा हुने चिनियाँ कम्युनिष्ट पार्टीको अधिवेशनको समापन समारोहबाट सन् २००३ देखि २०१३ सम्म चीनको राष्ट्रपति भएका हु जिन्ताओलाई बाहिर निकालिएको भिडियो सार्वजनिक भएको छ ।
भिडियोमा कमजोर देखिने ७९ वर्षीय जिन्ताओ राष्ट्रपति सी जिनपिङको देब्रेपट्टि रहेको कुर्सीमा बसेको देखिन्छ ।
भिडियोमा दुई अधिकारीले जिन्ताओलाई बाहिर हिँड्न आग्रह गरिरहेका छन् । एकजना अधिकारीले उनलाई पछाडिबाट समातेर उठाउन खोजिरहेका छन् ।
जब दुई अधिकारीले हु जिन्ताओलाई बाहिर लैजाँदै थिए, त्यतीबेला उनले राष्ट्रपति जिनपिङलाई रोकेर केही भनेको देखिन्छ । साथै राष्ट्रपति जिनपिङले पनि टाउको हल्लाउदै केही भनेको देखिन्छ । त्यसपछि हुलाई अधिकारीहरूले कुम समातेर डोहोर्याउँदै ग्रेट हल अफ द पीपलबाट बाहिर लगेको देखिन्छ ।
हु जिन्ताओलाई अधिवेशनबाट बाहिर निकालेको भिडियो विश्वभर भाइरल भएको छ । के कारणले यस्तो भयो भन्ने विषयमा धेरै अड्कलबाजी भइरहेको छ । यसबारे धेरै प्रश्न उठिरहेका छन् तर चीन सरकारबाट अहिलेसम्म कुनै जवाफ आएको छैन ।
यो भिडियोमा देखाइएको छ कि हु जिन्ताओ बाहिर जान तयार थिएनन्। भिडियोमा खडा भएपछि हु जिन्ताओले अकस्मात सी जिनपिङको नोटहरू उठाउन थालेको पनि देख्न सकिन्छ । त्यतिबेला उनी अलमलमा परेका थिए । त्यसपछि सी जिनपिङले हु जिन्ताको हात हटाएर आफ्नो नोट फिर्ता लिए।
उनलाई चीनको शक्ति राजनीति अहिले चर्किएको अवस्थामा देशका पूर्व नेतालाई संदेश दिन मात्रै मञ्चबाट हटाइएको हुनसक्ने अनुमान गरिएको साथै ।
त्यस्तै जिन्ताओलाई गम्भीर स्वास्थ्य समस्या भएकाले हटाइएको हुनसक्ने अनुमान छ । तर यदि अस्वस्थताका कारण हटाइएको हो भने अचानक क्यामेरा अगाडि किन हटाइयो भन्नेबारे प्रश्न उठेका छन् ।
पार्टीले प्रायः यस्ता घटनाको भिडियो सार्वजनिक गर्दैन, तर जानाजानी गरिएको हो भने त्यो नौलो कुरा हो । किनभने अधिवेशनको अन्तिम दिनमा उनी पहिले बन्द बैठकमा सहभागी थिए । त्यसपछि क्यामेरा मार्फत प्रसारण गर्न अनुमति दिइएको थियो।
हु जिन्ताओले सी जिनपिङभन्दा पूर्ण रूपमा भिन्न चीनको प्रतिनिधित्व गर्छन्। जिनपिङको भन्दा उनको शासनमा सामूहिकताको भावना धेरै उच्च थियो। आफ्नो पालामा उनले पोलिटब्युरो स्थायी समितिमा विभिन्न गुटहरूको हेरचाह गर्नुपरेको थियो।
जिन्ताओको कार्यकाललाई बन्द चीन खोल्ने र नयाँ विचारहरूप्रति सहिष्णुता बढाउने रूपमा हेरिएको थियो। सी जिनपिङ पार्टीको महासचिव बनेदेखि नै उनले चीनलाई एकदमै फरक दिशामा लगिरहेका छन् । उनी आफैं यसको केन्द्रमा रहेका छन् ।