महिलालाई हेरेको निहुमा दलित परिवारका तीन जनाको गोली हानेर हत्या


प्रकाशित मिति : कार्तिक ९, २०७९ बुधबार

भारतको मध्य प्रदेशको दमोह जिल्लाको गाँउ देवरानमा दीपावलीको एक दिनपछि मंगलबार महिलालाई हेरेको निहुमा भएको झगडामा दलित परिवारका तीन जनाको गोली हानी हत्या गरिएको छ । झगडाको वास्तविक कारण थाहा पाउन प्रहरी र प्रशासनका अधिकारीहरूले अनुसन्धान गरिरहेको जनाएका छन् ।

चार जनालाई पक्राउ गरिएको छ भने तीन जनाको खोजी भइरहेको छ । उनीहरु पनि छिट्टै पक्राउ पर्ने प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मंगलबार बिहान जगदीश पटेल र अहिरवारका परिवारबीच झगडा सुरु भएको थियो । त्यसपछि विवाद बढ्दै जाँदा जगदीश पटेलको परिवारले अहिरवारको परिवारका सदस्यमाथि गोली प्रहार गर्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने दुईजना गम्भीर घाइते भएका थिए । घाइतेहरुलाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।

६० वर्षीय गौरव अहिरवार, ५८ वर्षीय रामप्यारी अहिरवार र ३२ वर्षीय छोरा मानकलाल अहिरवारको घटनास्थलमै मृत्यु भएको हो । जबकि ३० बर्षका महेश अहिरवार र २८ बर्षका बब्लु अहिरवार गम्भीर अवस्थामा अस्पताल भर्ना भएका छन् ।

प्रहरीले पटेल परिवारका जगदीश पटेल, सौरभ पटेल, मनिष पटेल, शुभम पटेल, कोडु पटेल र घनश्याम पटेल विरुद्ध हत्या सम्बन्धि ऐन अन्तर्गत मुद्दा दर्ता गरेको छ। घटनापछि सातै जना फरार रहेकामा चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

मानकलाल अहिरवारले मुख्य अभियुक्त जगदीश पटेलकी पत्नीलाई हेर्ने गरेको भनिएको थियो । यसै विषयमा विवाद सुरु भएको थियो । गाउँका केही मानिसले विवादको कारण जग्गा रहेको बताएका छन् । तर प्रहरीका अनुसार हत्याको कारण भने खुल्न सकेको छैन ।

पटेल परिवारको गाउँमा राम्रो स्थान छ र उनीहरूसँग लाइसेन्स प्राप्त बन्दुक पनि थियो जुन हत्यामा प्रयोग गरिएको थियो। दुबै परिवारको घर नजिकै छ । उनको जग्गा पनि वरपर छ । दलित परिवारका तर्फबाट पटेल परिवारको नियत उनीहरूको जग्गा कब्जा गर्ने रहेको र त्यसैले यो सम्पूर्ण विवाद भएको बताइएको छ ।

पटेल परिवारमाथि घर नजिकैको सरकारी जग्गा कब्जा गरेको आरोप पनि छ । सोही कारण प्रशासनले उनको घरमा अतिक्रमण हटाउन सूचना टाँसेको थियो । परिवारले जग्गा अतिक्रमण गरेको भन्नेबारे प्रशासनले अनुसन्धान गरिरहेको छ ।

हत्यापछि परिवारका सदस्य र दलित वर्गले तीनै जनाको शव जिल्ला अस्पताल बाहिर राखेर सडक अवरुद्ध समेत गरेका थिए । पोष्टमार्टमपछि तीनै जनाको शव छुट्टाछुट्टै सवारी साधनमा गाउँ पठाइएको थियो । त्यहाँ प्रहरीको बाक्लो उपस्थितिमा उनको अन्तिम संस्कार गरिएको थियो ।

अहिले यो विषयमा राजनीति पनि सुरु भएको छ । बहुजन समाज पार्टीकी सुप्रीमो मायावतीले यस घटनालाई लिएर ट्वीट गर्दै मध्य प्रदेशमा पनि दलित र आदिवासी समाजमाथि अत्याचार जारी रहेको बताएकी छन् ।

डाँकाहरुले दलित परिवारमाथि अन्धाधुन्ध गोली प्रहार गरी ढुङ्गाले हानेर तीनै जनाको हत्या गरेको र बाँकीले भागेर आफ्नो ज्यान बचाएको मायावतीले बताएकी छिन् । यो हृदयविदारक घटनाको जति निन्दा गरे पनि कम हुने तथा यो अन्धकार युगको पछिल्लो घटनाले मध्य प्रदेशको भाजपा सरकारको कानून र व्यवस्थाका साथै गरिब, दलित, आदिवासी र महिला आदिको सुरक्षामा सरकारको असफलतालाई उजागर गर्ने उनको भनाई छ ।

पूर्व मुख्यमन्त्री कमलनाथले पनि ट्वीट गर्दै घटनाको उच्चस्तरीय छानबिनको माग गरेका छन्।

उनले मध्य प्रदेशको दमोह जिल्लाको देवरानमा भएको गोलीकाण्डमा एक दलित परिवारका तीन जनाको ज्यान गएको र दुई जना घाइते हुनु अत्यन्तै दुखद कुरा भएको बताएका छन् । उनले यस घटनाको सरकारसँग उच्चस्तरीय छानबिनको माग गर्नुका साथै घटनाका दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।

यस घटनामा केन्द्रीय राज्यमन्त्री प्रह्लाद पटेलले अन्तस्करणलाई हल्लाउने यो हत्या भयानक र दुखद रहेको बताएका छन् । उनले भनेका छन् – ‘मृतकका परिवारलाई भगवानले शान्ति प्रदान गरून्, म संयमताको अनुरोध गर्दछु। म गम्भीर छलफलको आवश्यकता महसुस गर्दछु।’

दमोहका कलेक्टर एस कृष्ण चैतन्यले प्रशासनले पीडितहरूलाई सबै सम्भव सहयोग गरिरहेको बताएका छन् । परिवारका सदस्यहरूलाई पनि सुरक्षा प्रदान गरिएको छ र कुनै पनि अपराधीलाई नछाडिने उनले बताएका छन् ।

राष्ट्रिय अपराध अभिलेख ब्यूरोको तथ्यांक अनुसार मध्यप्रदेशमा दैनिक औसत २० वटा दलित अत्याचारका मुद्दा दर्ता हुने गरेको छन् ।

तथ्याङ्कले यो पनि देखाउँछ कि सन् २०२१ मा यो राज्य दलितहरू विरुद्ध दर्ता गरिएका मुद्दाहरूमा पहिलो नम्बरमा थियो, जहाँ प्रत्येक एक लाख जनसंख्यामा ६४ मुद्दाहरू दर्ता भएका थिए।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com