२०२२ मा २५ बर्षकै इतिहासमा सबैभन्दा धेरैलाई डाइभर्सिटी भिसा, नेपालीहरु ८ बर्षकै उच्च


प्रकाशित मिति : कार्तिक ९, २०७९ बुधबार

आर्थिक बर्ष २०२२ मा २५ बर्षकै इतिहासमा सबैभन्दा धेरैलाई डाइभर्सिटी भिसा जारी गरिएको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । आर्थिक बर्ष २०२२ मा डिभीका लागि तय भएका सबै भिसाहरु प्रयोग भएको ब्यूरो अफ कन्सुलर अफेयर्सले खुलासा गरेको छ ।

विभिन्न दूतावास र कन्सुलेटहरुले ५४ हजार ३३४ जनालाई डाइभर्सिटी भिसा जारी गरेको छ । बाँकी डिभी विजेताहरु अमेरिकामा नै रहेकाले युएससीआईएसमार्फत स्थीति समायोजन गरेको जनाइएको छ । कुनै पनि डिभी कार्यक्रमका लागि ५५ हजारसम्मले भिसा पाउनसक्ने प्रावधान रहेकोमा आर्थिक बर्ष २०२२ मा सबै नम्बर प्रयोग भएको छ ।

आर्थिक बर्ष २०२२ का लागि विश्वभरबाट १ लाख १९ हजार २१ जनाले डिभी लोटरी पारेका थिए । उक्त डिभी कार्यक्रममा विश्वभरबाट ७३ लाख ३६ हजार ३ सय २ आवेदकहरु सहभागी थिए । उनीहरुका परिवारसमेत जोड्दा यो संख्या १ करोड ३१ लाख ९१ हजार २ सय ९६ रहेको थियो ।

जबकी २०२० मा १९ हजार २१५ र २०२१ मा १८ हजार ९ सय १२ जनालेमात्र विश्वभरबाट डाइभर्सिटी भिसा पाएका थिए । २०२० मा २ हजार ८५ जना र २०२१ मा १३७२ जना नेपालीहरुलेमात्र डाइभर्सिटी भिसा पाएका थिए । यो बर्ष डाइभर्सिटी भिसा पाउने नेपालीहरुको संख्या ८ बर्षकै उच्च हो ।

नेपालीहरु कति ?

आर्थिक बर्ष २०२२ मा ३४८२ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाएका छन् । यो प्राथमिक डिभी विजेता र डाइभर्सिटी भिसा पाउने उनीहरुका परिवारका सदस्यहरुसमेत जोडेपछिको संख्या हो । अमेरिकी विदेश मन्त्रालयका अनुशार आर्थिक बर्ष सन् २०२२ का लागि ३८०२ जना नेपालीहरुले डिभी लोटरी पारेका थिए ।

अमेरिकी दूतावास काठमाडौं

डिभी २०२२ को अन्तिम महिना सेप्टेम्बरमा २८९ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाएको तथ्यांक अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । सेप्टेम्बरमा अमेरिकी दूतावास काठमाडौंलेमात्र २६३ जनालाई डाइभर्सिटी भिसा जारी थरेको थियो ।

अगस्तमा भने अमेरिकी दूतावास काठमाडौंले अत्याधिक नेपालीहरुलाई डाइभर्सिटी भिसा जारी गरेको थियो । जुलाईसम्म कुल १६१६ जना नेपालीहरुलेमात्र डाइभर्सिटी भिसा प्राप्त गरेकोमा अगस्तमा एकै महिनामा १६०३ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरे ।

काठमाडौंको अमेरिकी दूतावासलेमात्र अगस्तमा १५ सय ५२ जनालाई अगस्तमा डाइभर्सिटी भिसा जारी गरेको थियो भने बाँकी अन्य देशका दूतावासबाट डाइभर्सिटी भिसा पाउने र अमेरिकामा नै स्टाटस एड्जस्ट गर्नेहरु हुन् ।

डिभी कार्यक्रम अन्तरगत बार्षिक ५५ हजारसम्म भिसा जारी गर्न सकिने कोटा तय भएको छ । जस अनुशार एउटा देशले कुल संख्याको ७ प्रतिशतसम्म अर्थात् ३८ सय सम्म डाइभर्सिटी भिसा प्राप्त गर्न सक्छन् । यो संख्या प्राथमिक डिभी विजेता र उनीहरुको परिवार समेत जोड्दा हो ।

जुलाईमा २३४ जना नेपाली डिभी विजेताहरुले अमेरिकाको डाइभर्सिटी भिसा पाएका थिए, जसमध्ये अमेरिकी दूतावास काठमाडौंबाट डाइभर्सिटी भिसा पाउनेहरु २२९ जना रहेको तथ्यांक अमेरिकी सरकार विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले सार्वजनिक गरेको छ ।

जुन महिनामा ३५७ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए । जसमध्ये काठमाडौंको अमेरिकी दूतावासलेमात्र ३५१ जनालाई डाइभर्सिटी भिसा जारी गरेको थियो । अन्य व्यक्ति अमेरिकामा नै स्टाटस एड्जस्ट गर्नेहरु र अन्य देशमा भिसा पाउने नेपालीहरु हुन् ।

मे महिनामा जम्मा ५९ जना नेपालीहरुले अमेरिकाको डाइभर्सिटी भिसा प्राप्त गरेकोमा अमेरिकी दूतावास काठमाडौंले जम्मा ५४ जनालाईमात्र डाइभर्सिटी भिसा दिएको थियो ।

त्यस अगाडि अप्रिलमा भने नेपालीहरुले उल्लेख्य संख्यामा डाइभर्सिटी भिसा पाएका थिए । कुल ६६२ जनाले अप्रिलमा डाइभर्सिटी भिसा पाएकोमा काठमाडौंबाट पाउनेहरु ६४६ जना रहेका थिए । मार्चमा कुल ३०४ जना नेपालीले डाइभर्सिटी भिसा पाएकोमा अमेरिकी दूतावास काठमाडौंले २९४ जना डिभी विजेताहरुलाई भिसा जारी गरेको थियो ।

डिभी २०२२ का विजेताहरुले अक्टोबरदेखि नै भिसा प्राप्त गर्नुपर्ने भएतापनि झण्डै साढे ५ महिनासम्म भिसा नदिएको अमेरिकाले मार्चको तेश्रोसातादेखि भिसा दिन सुरु गरेको थियो । अक्टोबरदेखि मार्चको दोश्रोसातासम्म अमेरिकी दूतावास काठमाडौंले डिभी विजेताको अन्तरवार्ता समेत लिएको थिएन । मार्च २१ सोमबारदेखिमात्र डिभी विजेताहरुको अन्तरवार्ता लिन सुरु गरेको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com