न्युयोर्कको क्वीन्समा एमटीएको बस अपहरण प्रयास, चालक झ्यालबाट हाम फाले, पोलमा ठोक्कियो बस


प्रकाशित मिति : कार्तिक १०, २०७९ बिहीबार

आज विहान एक व्यक्तिले न्युयोर्कको क्वीन्समा एमटीएको बस अपहरण प्रयास गरेको प्रहरीले जनाएको छ । अपहरणकारीले बस चालकलाई बन्दुक देखाएर जर्बजस्ती गरेपनि बस चालक झ्यालबाट हाम फालेपछि बस नियन्त्रण बाहिर गएर विजुलीको पोलमा ठोक्किएको थियो । बिजुलीको पोल ढलेपछि उक्त क्षेत्रमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको छ ।

विहान ७ बजेर २० मिनेटमा अपहरणकारी ४४ बर्षको व्यक्ति सेन्ट अल्बान्सको १९७ औं स्ट्रिट र लिन्डेन बुलेभार्ड नजिकै पूर्वतर्फ जाने क्यु फोर बसको अगाडिपट्टी गएर चालकलाई गाडी अगाडि बढाइरहन जबर्जस्ती गरेको प्रहरीले जनाएको छ । बसमा २५ जना यात्रुहरु रहेका थिए ।

त्यो व्यक्तिले बसको अपहरण प्रयास गर्ने बित्तिकै बस चालकले तुरुन्तै यात्रुहरूलाई बाहिर निस्कनका लागि ढोका खोलिदिएका थिए । उक्त व्यक्तिको हातमा बन्दुक समेत रहेको थियो । चालकले लिएको कदमप्रति प्रहरीले प्रशंसा गरेको छ ।

उक्त व्यक्तिले चालकलाई आफू भागिरहेको भन्दै गाडी चलाइरहन निर्देशन दिएको थियो । त्यसपछि चालकले बाध्य भएर एक दर्जन भन्दा बढी ब्लकहरू पार हुन्जेल बस चलाएका थिए । तर क्याम्ब्रिया हाइट्सको २३२ स्ट्रीट र लिन्डेन बुलेभार्ड आइसकेपछि चालक झ्यालबाट बाहिर हामफालेका थिए । त्यतीबेला विहानको ७ बजेर ३५ मिनेट गएको थियो ।

चालक झ्यालबाट हाम फालेपछि उक्त व्यक्तिले ड्राइभरको सिटमा बसेर बसलाई नियन्त्रण गर्ने प्रयास गरेको थियो । तर गाडी विजुलीको पोलमा ठोक्कियो। त्यसपछि संदिग्धलाई प्रहरी अधिकारीहरूले पक्राऊ गरेका थिए ।

बस चालक र संदिग्ध दुवैलाई सामान्य चोटपटक लागेपछि उपचारका लागि अस्पतालमा लगिएको थिए । प्रहरीले बस सञ्चालक एमटीएका २१ वर्षका अनुभवी भएको बताएको छ । घटना भएको नजिकैको विद्यालयका बालबालिकालाई पनि घर पठाइएको छ । उनीहरु सबै सकुशल रहेको प्रहरीले जनाएको छ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com