महिनौपछि अमेरिकामा घरको मोर्गेज दरमा थोरै गिरावट तर २० बर्षयताकै उच्च
प्रकाशित मिति : कार्तिक १६, २०७९ बुधबार
मोर्गेज बैंकर्स एसोसिएसनद्वारा बुधवार जारी गरिएको तथ्याङ्क अनुसार मुद्रास्फीतिसँग फेडरल रिजर्भको लडाईको बीचमा दुई महिना भन्दा बढीमा पहिलो पटक मोर्गेेज दर थोरै घटेको छ। ३० वर्षको फिक्स्ड मोर्गेज दर एक हप्ता अघिको ७ दशमलव १६ प्रतिशतबाट घटेर ७ दशलव ०६ प्रतिशतमा झरेको छ ।
यद्यपी मोर्गेज दर अझै पनि दुई दशककै उच्चतम बिन्दुमा रहेको छ । सन् २००१ यता गतबर्षदेखि मोर्गेज दर उच्च बिन्दुमा पुगेको हो । सन् २०२१ मा मोर्गेज दर २ दशमलव ९६ प्रतिशतसम्म झरेको थियो । तर त्यपछि ह्वात्तै बढेको छ । ३० बर्षको फिक्स्ड मोर्गेज दरमा केही गिरावटको बावजुद गत वर्षको तुलनामा भने अझै पनि उल्लेखनीय रूपमा उच्च रहेको छ । जसले आवास किन्नेहरु र समग्र आवास बजारलाई चुनौती दिइरहेको छ ।
समायोज्य दरको मोर्गेजबाहेक अन्य सबै प्रकारका ऋणहरूको ब्याज दर पनि एक वर्ष अघिको तुलनामा औषतमा तीन प्रतिशत बढेको छ ।
बढ्दो मुद्रास्फीतिलाई रोक्न फेडरल रिजर्भको आक्रामक ब्याज दर वृद्धिको कारणले मोर्गेज दरमा भएको गिरावटले महिनौंको निरन्तर वृद्धिलाई पछ्याएको छ । विज्ञहरूले केन्द्रीय बैंकको बैठकमा फेडले फेरि दर बढाउने अपेक्षा गरेका छन् ।
हालका हप्ताहरूमा बढ्दो मोर्गेज दरहरूले घरको मूल्यमा गिरावट आएको छ भने बिक्रीमा पनि गिरावट आएको छ । नेशनल एसोसिएसन अफ रियाल्टर्सको तथ्याङ्कअनुसार सेप्टेम्बरमा कन्ट्रयाक्टमा रहेका घरहरूको सङ्ख्या अगस्टको तुलनामा १० दशमलव २ प्रतिशतले घटेको छ। जुन लगातार चौथो महिनामा भएको गिरावट हो ।
अहिले ३ लाख डलर ऋण लिने हो भने मासिक मोर्गेज झण्डै २ हजार डलर हुन्छ । एक वर्ष पहिले झण्डै १२६५ डलरमात्र हुने गरेको थियो । गतबर्षको तुलनामा हरेक महिना ७ सय डलरभन्दा धेरैको भिन्नता हुन आएको छ । मुद्रास्फीति नियन्त्रणमा आएपछि मात्र मोर्गेजको दर घट्नेछ र खरिदकर्ताहरूको लागि घर खरीद शक्ति बढ्ने अपेक्षा गरिएको छ ।