न्युयोर्कको मंगलबारको चुनावमा मतदान गर्नु अगाडि जान्नुपर्ने कुराहरु


प्रकाशित मिति : कार्तिक १८, २०७९ शुक्रबार

व्यस्त प्राइमरी सिजन पछि न्युयोर्कबासीहरु अब राज्य र राष्ट्रिय राजनीति दुवैको लागि नतिजा ल्याउने प्रतिस्पर्धाबाट नेतृत्व छनौटका लागि निर्णायक चुनावमा जाँदैछन् । संसदमा डेमोक्र्याटहरूको झिनो बहुमत कायम रहेको र रिपब्लिकनहरू नियन्त्रणमा लिन उत्सुक रहेको अवस्थामा न्युयोर्क कुनै पनि अन्य राज्यको तुलनामा संसदीय दौडमा धेरै प्रतिस्पर्धीका साथ एक प्रमुख युद्ध मैदान बनेको छ।

मतदानका लागि जाँदा आफ्नो भोटर आईडी लिएर गएको खण्डमा सहज हुनेछ । न्युयोर्क बोर्ड अफ इलेक्सनका कार्यकारी निर्देशक माइकल जे रायन भोटर आईडी लिएर जाँदा कसरी सहज हुन्छ भन्ने देखाउँदै ।

न्युयोर्कका मतदाताहरूले गभर्नरसहित राज्यव्यापी चार प्रतिस्पर्धामा छनोटहरूको सामना गरिरहेका छन् । जसमा १४ महिना अघि एन्ड्रयु कुमोको राजिनामापछि गभर्नर बनेकी क्याथी होचुलले आफ्नो पहिलो पूर्ण कार्यकालको लागि चुनाव लड्दैछिन् । उनले रिपब्लिकन प्रतिद्वन्द्वी ली जेल्डिनको सामना गरिरहेकी छिन् ।

न्युयोर्कमा अग्रिम मतदान अक्टोबर २९ मा सुरु भइसकेको छ भने नोभेम्बर ६ सम्म जारी रहनेछ । अग्रिम मतदानमा सहभागी नहुनेहरुले चुनावको मुख्य दिन नोभेम्बर ८ मा विहान ६ बजेदेखि बेलुका ९ बजेसम्म मतदान गर्न सक्नेछन् । अधिकांश अवस्थामा अग्रिम मतदान गर्ने स्थानहरु चुनावको दिनमा मतदान केन्द्रभन्दा फरक रहेका छन् ।

आफ्नो मतदान केन्द्र थाहा पाउन यहाँ क्लीक गर्नुहोला ।

अनुपस्थित मतपत्र अनलाइनबाट अनुरोध गर्ने अन्तिम म्याद पहिले नै बितिसकेको छ । तर मतदाताहरूले नोभेम्बर ७ सम्म आफ्नो स्थानीय काउन्टी बोर्ड अफ चुनाव कार्यालयमा अनुपस्थित मतपत्रका लागि आवेदन दिन सक्छन्।

मतपत्रहरू नोभेम्बर ८ सम्मको पोस्टमार्क सहित हुलाकमार्फत पठाउनुपर्छ । वा नोभेम्बर ८ को बेलुका ९ बजेभित्रमा मतदान स्थल वा काउन्टी बोर्ड अफ इलेक्शन्सको कार्यालयमा बुझाउन सकिन्छ ।

नमुना मतपत्र देखाउँदै न्युयोर्क बोर्ड अफ इलेक्सनका कार्यकारी निर्देशक माइकल जे रायन ।

यदि मतदाताहरूले अनुपस्थित मतपत्रबाट मतदान गर्न अनुरोध गरेका छन् भने उनीहरूले मतदान स्थलमा गएर मेसिनमा मत हाल्न पाउँदैनन् । तर अग्रिम मतदान अवधिमा वा चुनावको दिनमा एभिडाभिट मतपत्र प्रयोग गरेर व्यक्तिगत रूपमा मतदान गर्न भने सक्छन्। मतदाताको अनुपस्थित मतपत्र प्राप्त नभएको खण्डमा मात्र यो एभिडाभिट मतपत्र गणना गरिनेछ ।

मतपत्रको शीर्षमा मतदाताले गभर्नरको दौडका लागि उम्मेदबारहरु देख्नेछन् । यो यस्तो प्रतिस्पर्धा हो जसमा रिपब्लिकनहरूले परम्परागत रूपमा लामो बाधाहरूको सामना गरेका छन् । २० वर्षमा कुनै पनि रिपब्लिकन गभर्नरमा निर्वाचित भएका छैनन्।

त्यस्तै प्रतिनिधि सभाको नियन्त्रण कायम राख्ने डेमोक्र्याटको मिसनमा न्युयोर्कलाई पार्टीको पकड क्षेत्रमा रुपमा लिने गरिन्छ । तर यस वर्षको सुरुमा चुनावी क्षेत्रका भूगोलमा भएको केही फेरबदलका कारण अब केही रिपब्लिकनहरूले कतिपय क्षेत्रमा जित उल्टाउने देखिएको छ ।

हडसन भ्यालीका ३ डिस्ट्रिक्टहरुमा विशेष चासोको साथ हेरिएको छ, जसमा हाल डेमोक्र्याटहरूले प्रतिनिधित्व गरेका छन्। यी क्षेत्रमा रिपब्लिकनहरूले राष्ट्रपति बाइडेन र उनको पार्टीसँगको असन्तुष्टिलाई उपयोग गरेर जीत हासिल गर्ने अपेक्षा गरेका छन् ।

खासगरी १७ औं संसदीय क्षेत्रमा हाउस डेमोक्र्याट्सको अभियान समितिको नेतृत्व गर्ने सांसद सीन प्याट्रिक मालोनले रिपब्लिकन उम्मेदबार माइक ललरको कडा चुनौतीको सामना गरिरहेका छन्।

मतगणना कसरी हुन्छ भन्नेबारे जानकारी दिदै न्युयोर्क बोर्ड अफ इलेक्सनका डेपुटी कार्यकारी निर्देशक भिन्सेन्ट एम इग्निजियो ।

त्यस्तै १८ औं संसदीय क्षेत्रमा पनि लगभग उस्तै छ, जहाँ अगस्टमा विशेष सदनको चुनाव जितेका प्याट रायनले रिपब्लिकन उम्मेदबार कोलिन स्मिटको चुनौतीको सामना गरिरहेका छन्। १९ औं डिस्ट्रिक्टमापनि रिपब्लिकन उम्मेदबार मार्कस मोलिनारो र जोस रिलेबीचको प्रतिस्पर्धा रोचक छ ।

रिपब्लिकनहरूले लंग आइल्याण्डमा पनि नियन्त्रण कायम गर्ने अपेक्षा गरिरहेका छन् । न्युयोर्क सिटीमा डेमोक्र्याटहरू पनि स्टेटन आइल्याण्ड र दक्षिणपश्चिम ब्रुकलिनका केही भागहरू समेट्ने ११ औं कङ्ग्रेसनल डिस्ट्रिक्ट पुन प्राप्त गर्न उत्सुक छन्।

गभर्नर र प्रतिनिधिसभा सदस्यबाहेक सिनेटको एउटा सिटका लागि पनि मतदान हुँदैछ । जसमा चक शुमरले जीत हासिल गर्नेमा विश्वस्त छन् । न्युयोर्क एटोर्नी जनरल लेटिया जेम्स पनि गत वर्ष गभर्नरको लागि चुनावी अभियान स्थगित गरेपछि एटोर्नी जनरलको चुनावी दौडमा छिन् । उनको रिपब्लिकन प्रतिद्वन्द्वी माइकल हेनरी हुन्, जो न्यूयोर्क शहरमा वकिलको रूपमा काम गर्छन्। राज्य कम्पट्रोलरमा थोमस डिनापोली र पल रोड्रिग्वेजबीच प्रतिस्पर्धा हुँदैछ ।

मतगणना गर्ने मेसिन

न्युयोर्क राज्यका सिनेटर र एसेम्बली मेम्बरका लागिपनि मतदाताले मतपत्रमा उम्मेदबारहरु देख्नेछन् । त्यो बाहेक मतपत्रमा तीनवटा विषयमा जनमतसंग्रह हुँदैछ ।

चार प्रस्तावमध्ये एउटा राज्यव्यापी प्रस्ताव हो, जसमा भविश्वमा वातावरण सम्बन्धि परियोजनामा खर्च बढाउने प्रस्ताव रहेको छ । तीनवटा प्रस्ताव न्युयोर्क सिटीसँग सम्बन्धित छन्, जसमा जातीय इक्विटी कार्यालय गठन गर्ने, सरकारको लागि मानक कथन सिर्जना गर्ने र जीवनयापन खर्च गणनाबारे परिभाषित गर्ने रहेका छन् । यदि पारित भएमा यी चारवटै प्रस्ताव तुरुन्तै कार्यान्वयनमा आउनेछन् ।

सन् १९८५ यता मतपत्रमा राखिएका यस्ता ५५ प्रस्तावमध्ये ३९ प्रस्तावहरु पारित भएका छन् । त्यसैले यसपटकका प्रस्तावहरु पारित हुने नहुने निश्चित भने छैन । एउटा प्रस्तावले न्यूयोर्क राज्यलाई विशेष वातावरण सम्बन्धी परियोजनाहरू र नीति प्रयासहरूको लागि बन्ड जारी गरेर ४ दशमलव २ बिलियन डलर ऋण लिन अनुमति दिनेछ । जसमा पानी प्रणाली सुधार गर्न २५० मिलियन, फोहोर पानी पूर्वाधारको लागि २०० मिलियन, शून्य उत्सर्जन स्कूल बसहरूको लागि ५०० मिलियन र सिमसार संरक्षण र नवीकरणीय ऊर्जा परियोजनाहरू जस्ता जलवायु न्यूनीकरणका लागि १ दशमलव ५ बिलियन समावेश छ ।

त्यस्तै अर्को प्रस्तावमा न्युयोर्क सिटीको चार्टरमा प्रस्तावना थपेर न्यूयोर्कको सरकारको लागि एक प्रकारको मिशन स्टेटमेन्ट सिर्जना गर्ने विषय समावेश छ । जसमा मूल्यमान्यता र दृष्टिकोणको कथन समावेश छ । जसको उद्देश्य सबैका लागि न्यायपूर्ण र समानुपातिक शहर बनाउनु हो ।

अर्को प्रस्तावले न्युयोर्क सिटीको चार्टरमा तीनवटा नयाँ आवश्यकताहरू थप्नेछ । सबै सहर एजेन्सीहरूले प्रत्येक दुई वर्षमा जातीय इक्विटी योजनाहरू सिर्जना गर्ने, सिटी सरकारमा जातीय समानता योजनालाई समन्वय गर्न जातीय इक्विटीको नयाँ कार्यालय स्थापना गर्ने र जातीय समानतामा आयोग गठन गर्ने विषय यो प्रस्तावमा समावेश छन् । त्यो आयोगले जातीय इक्विटी योजनाको लागि प्राथमिकताहरू पहिचान र प्रस्ताव गर्नेछ भने प्रत्येक सिटी एजेन्सीको लागि जातीय इक्विटी योजनाहरूको समीक्षा गर्नेछ ।

अर्को प्रस्तावमा सिटीसरकारले कुनै व्यक्ति वा घरपरिवारले प्राप्त गर्न सक्ने सार्वजनिक, निजी वा अनौपचारिक सहायतालाई ध्यानमा नलिई सहरमा जीवनयापनको वास्तविक लाग गणना गर्न नयाँ विधि प्रयोग गर्न आदेश दिनेछ । अहिलेको गरिबी मापदण्ड गर्ने तरिका न्युयोर्क सिटीको आवश्यकता वा नीतिगत निर्णयहरूका लागि सही नभएको निष्कर्षका साथ यो प्रस्ताव ल्याइएको हो । दशकौं अघि विकसित गरिएको संघीय गरिबी मापनले क्षेत्रीय लागतहरूलाई ध्यान दिदैन । त्यसैले न्यूयोर्क सिटीले गरिबी मापनको आफ्नौ उपाय बनाएको छ । तर यसले अझै पनि सार्वजनिक सहायतालाई आयको रूपमा गणना गर्ने भएकाले नयाँ विधि ल्याउन खोजिएको हो ।

सबै तस्वीर:  खसोखास

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com