के कागजात नभएका आप्रवासी र पर्यटकहरूले अमेरिकामा लोटरी किनेर रकम प्राप्त गर्न सक्छन् ?
प्रकाशित मिति : कार्तिक १८, २०७९ शुक्रबार
अवश्य सक्छन् । कागजात नभएका आप्रवासी र पर्यटकहरूले अमेरिकामा लोटरी खेलेर कुनै रकम जितेको खण्डमा उक्त पुरस्कार प्राप्त गर्न सक्छन् । आधिकारिक लोटरी वेबसाइट अनुसार लोटरी खेल्न सक्षम हुन अमेरिका निवासी हुन आवश्यक छैन।
पावरबलको वेवसाइटमा भनिएको छ -‘तपाईं पावरबल वा अन्य लोटरी खेल्नको लागि अमेरिकी नागरिक वा अमेरिका निवासी हुनु पर्दैन। उमेरको कानुनी आवश्यकता पूरा गरेकाहरुले लोटरी किन्न सक्छन् । तर पुरस्कार रकममा संघीय र अन्य आयकरहरू लागु हुन्छ ।’
विजेता भएको खण्डमा तपाईको मूल देशबाट जारी गरिएको आधिकारिक परिचयपत्र खुलाउने कागजात आवश्यक पर्छ । विजयी टिकट ४५ राज्यहरू मध्ये एकमा खरिद गरिएको हुनुपर्छ जसमा लोटरीलाई मान्यता दिइएको छ । साथै डिस्ट्रिक्ट अफ कोलम्बिया, पोर्तोरिको र भर्जिन आइल्याण्डमा पनि टिकट किन्न सकिन्छ ।
यसका बावजुद केही राज्यहरूमा विजेताहरूले ट्याक्स आईडी नम्बर बुझाउनुपर्छ । जसको मतलब तपाईंसँग अमेरिकामा ठेगाना हुनुपर्दछ । तर त्यो टिकट खरिद गरिएको राज्यमा निर्भर गर्दछ।
कानूनी रूपमा अमेरिकाका लोटरी टिकटहरू किन्नको लागि तपाई अमेरिकाभित्रै हुनुपर्दछ। इन्टरनेट वा हुलाक मार्फत लटरी टिकटहरू किन्न गैरकानूनी छ । तर आफ्ना ग्राहकहरूका लागि भौतिक रूपमा टिकटहरू किन्न कर्मचारी पठाउने कम्पनीबाट सञ्चालित लोटरी एपबाट भने किन्न सकिन्छ ।
अमेरिकाका लोटरी कागजपत्रविहिनले समेत किन्न सकिने भएतापनि कतिपय कागजपत्रविहिनहरु लोटरी जितेपछि देशनिकालामा परिने डरले दावी गर्न डराउने गरेका छन् । उदाहरणका लागि सन् २०११ मा होजे एन्टोनियोले साढे ७ लाख डलरको लोटरी जितेपनि दावी गर्न डराउका थिए । जब उनले आफ्नो मालिकलाई दावी गर्न भने तब मालिकले लोटरीको सबै रकम आफैले लिए ।
लोटरी जित्दा देशनिकाला हुने नभई ग्रीन कार्डको बाटो सहज हुन सक्छ। यदि तपाईं कागजातविहीन आप्रवासी हुनुहुन्छ र तपाईंसँग विजयी लोटरी टिकट छ भने,तपाईंले आफ्नो पुरस्कार दाबी गर्नु अघि कानून व्यवसायीसँग सम्पर्क गर्नुहोला ।
ज्याकपटको रकम लिन रोक लगाइएका व्यक्ति ती हुन्, जसको कम्पनीसँग कुनै पनि प्रकारको सम्बन्ध छ वा कर्मचारीहरूको नजिकका परिवारका सदस्यहरू हुन् । साथै राज्यको कानून वा लागू प्रशासनिक नियमद्वारा निषेधित कुनै पनि अन्य व्यक्ति लोटरी रकम लिन योग्य हुदैनन् ।