ट्विटरबाट नीलो चेकमार्कको लागि ८ डलर चार्ज गर्नेगरी एप्लीकेशन अपडेट
प्रकाशित मिति : कार्तिक १९, २०७९ शनिबार
ट्विटरले नीलो चेकमार्कको लागि ८ डलर चार्ज गर्नेगरी एप्लीकेशन अपडेट गरेको छ । ट्विटरले शनिबार एप्पलको एप स्टोरमा आफ्नो एप अपडेट गरेको हो ।
सोसल मिडिया प्लेटफर्म ट्वीटरले एलन मस्कको नेतृत्वमा नीलो चेकमार्कसहित ट्वीटर ब्लुका लागि ८ डलर चार्ज गर्न सुरु गरेर पहिलो ठूलो परिवर्तन गरेको हो । एप्पल उपकरणहरूमा एप्लीकेशनमा गरिएको अपडेटमा, कम्पनीले यो सुविधा निश्चित देशहरूमा प्रयोगकर्ताहरूका लागि खुला गरेको र ट्विटर ब्लू सेवामा प्रति महिना ८ डलरमा साइन अप गर्नेलाई निलो चेकमार्क दिइने उल्लेख गरेको छ ।
ट्वीटर प्लेटफर्म नक्कली खाताहरूले भरिएको हुनसक्ने चिन्ताका बीच गरिएको यो नीति परिवर्तन विवादास्पद रहेको छ । ट्वीटरले शुक्रबार कम्पनीको लगभग आधा कर्मचारीहरुलाई हटाएलगत्तै शनिबार यो परिवर्तन ल्याएको हो ।
नीलो टिक पहिले उच्च-प्रोफाइल वा प्रभावशाली व्यक्ति र संस्थाहरूलाई मात्र उपलब्ध थियो, जसलाई आफ्नो पहिचान प्रमाणित गर्न भनिएको थियो। यो प्रोफाइल प्रामाणिक भएको संकेतको रूपमा प्रयोग गरिएको थियो ।
नीति परिवर्तनले सरकारी व्यक्तित्वहरू, सेलिब्रेटीहरू, पत्रकारहरू र ब्रान्डहरूलाई मासिक शुल्क तिर्न इच्छुक कुनै पनि प्रयोगकर्ताद्वारा प्रतिरूपण गर्न सक्ने चिन्ता बढाएको छ । अर्थात् मासिक शुल्क तिरेर कसैले सरकारी व्यक्तित्व, सेलिब्रेटी, पत्रकार वा ब्राण्डजस्तै बनेर प्रयोगकर्तालाई झुक्काउनसक्नेबारे चिन्ता देखिएको हो ।
प्रमाणिकरण नीतिमा भएको परिवर्तनसँग सम्बन्धित केही विवरणहरू सार्वजनिक गरिएको पनि शनिबारको घोषणा पछि ट्वीटर ब्लू सदस्यता युके र अमेरिकाका कैयन एकाउन्टमा पुरानो मूल्य ४ डलर ९९ सेन्टस रहेको छ। ट्विटरले यो परिवर्तन सुरुमा बेलायत, अमेरिका, क्यानडा, अष्ट्रेलिया र न्यूजील्याण्डमा मात्र लागू हुने बताएको छ।
सुरुमा केही देशहरुमा मूल्यांकन गरेपछि मस्कले यी परिवर्तनहरू विश्वव्यापी रूपमा लागु हुने बताएका छन् । पहिले नै टीकमार्क भएका प्रोफाइलहरूलाई के हुनेछ भन्ने प्रष्ट छैन । अवस्थित प्रमाणित प्रोफाइलहरूमा के हुन्छ भनेर सोध्ने एक प्रयोगकर्तालाई जवाफ दिँदै मस्कले परिवर्तनहरू लागू गर्नको लागि केही महिना लाग्ने बताएका छन् ।
चर्चित व्यक्तित्वजस्तै नक्कली खाता बनाउने प्रयोगकर्ताले रकम तिरेर टिकमार्क लिएको खण्डमा अरुको नक्कल गर्ने प्रयास गर्ने खातालाई निलम्बन गर्ने र पैसा ट्वीटरले राख्ने मस्कले बताएका छन् ।