न्युयोर्क सिटीमा झण्डै साढे ४ लाखले गरे अग्रिम मतदान, चुनावको मुख्य दिन भोलि


प्रकाशित मिति : कार्तिक २१, २०७९ सोमबार

अमेरिकामा यसपटकको मध्यावधी चुनावमा न्युयोर्क सिटीमा झण्डै साढे ४ लाखले अग्रिम मतदान गरेका छन् । अक्टोबर २९ देखि नोभेम्बर ६ सम्म अग्रिम मतदान गर्न सकिने व्यवस्था रहेकोमा न्युयोर्कको म्यानहटनमा १ लाख ३३ हजार ६ सय १८, बु्रकलिनमा १ लाख ३५ हजार २ सय ३९, क्वीन्समा ८८ हजार ८ सय ४०, ब्रोक्समा ३९ हजार ६९ र स्टेटन आइल्याण्डमा ३५ हजार ८ सय ६८ जनाले मतदान गरेका हुन् ।

न्युयोर्क सिटीमा झण्डै ५५ लाख मतदाताहरु रहेका छन् । न्युयोर्कमा नेपाली मूलका अमेरिकन मतदाताहरुको संख्या झण्डै ९ हजारको हाराहारीमा रहेको छ । नेपाली अमेरिकनहरुको बाक्लो उपस्थीति क्वीन्समा रहेको छ भने अग्रिम मतदानमा न्युयोर्कमा रहेका नेपाली मतदाताहरु पनि सहभागी भएका छन् । कतिपय मतदाताहरु भने चुनावको मुख्य दिन नोभेम्बर ८ को प्रतिक्षामा रहेका छन् ।

मतपत्रमा ४ प्रस्तावमा जनमतसंग्रह

यसपटकको चुनावमा न्युयोर्क सिटीका मतदाताहरुका मतपत्रमा उम्मेदबारमात्र नभएर विभिन्न प्रस्तावहरु पनि रहेका छन् ।

चार प्रस्तावमध्ये एउटा राज्यव्यापी प्रस्ताव हो, जसमा भविश्वमा वातावरण सम्बन्धि परियोजनामा खर्च बढाउने प्रस्ताव रहेको छ । तीनवटा प्रस्ताव न्युयोर्क सिटीसँग सम्बन्धित छन्, जसमा जातीय इक्विटी कार्यालय गठन गर्ने, सरकारको लागि मानक कथन सिर्जना गर्ने र जीवनयापन खर्च गणनाबारे परिभाषित गर्ने रहेका छन् । यदि पारित भएमा यी चारवटै प्रस्ताव तुरुन्तै कार्यान्वयनमा आउनेछन् ।

सन् १९८५ यता मतपत्रमा राखिएका यस्ता ५५ प्रस्तावमध्ये ३९ प्रस्तावहरु पारित भएका छन् । त्यसैले यसपटकका प्रस्तावहरु पारित हुने नहुने निश्चित भने छैन । एउटा प्रस्तावले न्यूयोर्क राज्यलाई विशेष वातावरण सम्बन्धी परियोजनाहरू र नीति प्रयासहरूको लागि बन्ड जारी गरेर ४ दशमलव २ बिलियन डलर ऋण लिन अनुमति दिनेछ । जसमा पानी प्रणाली सुधार गर्न २५० मिलियन, फोहोर पानी पूर्वाधारको लागि २०० मिलियन, शून्य उत्सर्जन स्कूल बसहरूको लागि ५०० मिलियन र सिमसार संरक्षण र नवीकरणीय ऊर्जा परियोजनाहरू जस्ता जलवायु न्यूनीकरणका लागि १ दशमलव ५ बिलियन समावेश छ ।

Photo Khasokhas

त्यस्तै अर्को प्रस्तावमा न्युयोर्क सिटीको चार्टरमा प्रस्तावना थपेर न्यूयोर्कको सरकारको लागि एक प्रकारको मिशन स्टेटमेन्ट सिर्जना गर्ने विषय समावेश छ । जसमा मूल्यमान्यता र दृष्टिकोणको कथन समावेश छ । जसको उद्देश्य सबैका लागि न्यायपूर्ण र समानुपातिक शहर बनाउनु हो ।

अर्को प्रस्तावले न्युयोर्क सिटीको चार्टरमा तीनवटा नयाँ आवश्यकताहरू थप्नेछ । सबै सहर एजेन्सीहरूले प्रत्येक दुई वर्षमा जातीय इक्विटी योजनाहरू सिर्जना गर्ने, सिटी सरकारमा जातीय समानता योजनालाई समन्वय गर्न जातीय इक्विटीको नयाँ कार्यालय स्थापना गर्ने र जातीय समानतामा आयोग गठन गर्ने विषय यो प्रस्तावमा समावेश छन् । त्यो आयोगले जातीय इक्विटी योजनाको लागि प्राथमिकताहरू पहिचान र प्रस्ताव गर्नेछ भने प्रत्येक सिटी एजेन्सीको लागि जातीय इक्विटी योजनाहरूको समीक्षा गर्नेछ ।

अर्को प्रस्तावमा सिटीसरकारले कुनै व्यक्ति वा घरपरिवारले प्राप्त गर्न सक्ने सार्वजनिक, निजी वा अनौपचारिक सहायतालाई ध्यानमा नलिई सहरमा जीवनयापनको वास्तविक लाग गणना गर्न नयाँ विधि प्रयोग गर्न आदेश दिनेछ । अहिलेको गरिबी मापदण्ड गर्ने तरिका न्युयोर्क सिटीको आवश्यकता वा नीतिगत निर्णयहरूका लागि सही नभएको निष्कर्षका साथ यो प्रस्ताव ल्याइएको हो । दशकौं अघि विकसित गरिएको संघीय गरिबी मापनले क्षेत्रीय लागतहरूलाई ध्यान दिदैन । त्यसैले न्यूयोर्क सिटीले गरिबी मापनको आफ्नौ उपाय बनाएको छ । तर यसले अझै पनि सार्वजनिक सहायतालाई आयको रूपमा गणना गर्ने भएकाले नयाँ विधि ल्याउन खोजिएको हो ।

कतिछन् नेपाली अमेरिकन मतदाता ?

न्युयोर्कमा नेपालीहरुको संख्या बढ्दै जाँदा अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या पनि बढ्दै गइरहेको छ । न्युयोर्कमा झण्डै ९ हजार नेपालीहरु अमेरिकी चुनावमा मतदानका लागि योग्य रहेको विभिन्न तथ्यांकहरुले देखाएको छ ।

अमेरिकाभर झण्डै ६० हजार नेपालीहरुले अमेरिकी नागरिकता लिइसकेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांकले देखाएको छ । त्यसमध्ये झण्डै १५ प्रतिशत नेपालीहरु न्युयोर्क निवासी रहेका छन् ।

नेपाली अमेरिकनहरु अल्पसंख्यक समुदायहरु रहेपनि अमेरिकाको चुनावमा सकृयताका साथ सहभागिता जनाउँदै आएका छन् । अमेरिकी मुलधारको राजनीतिमा नेपाली अमेरिकनको चासो र सहभागिता विगतका बर्षहरुमा बढ्दै गइरहेको छ । चुनावमा उम्मेदवारी दिनेमात्र होइन, चुनाव जितेर इतिहास कायम गर्ने काम समेत नेपाली अमेरिकनले सुरु गरेका छन् ।

कभरमा यसपटकको चुनावमा अग्रिम मतदानपछि न्युयोर्कको क्वीन्स निवासी मनमोहन सिंह घिमिरे, निर्मला बास्कोटा र परिवार ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com