रुस-युक्रेन युद्ध: देशका दक्षिणी सहरहरूमा भीषण युद्ध जारी
प्रकाशित मिति : मंसिर २५, २०७९ आईतबार
दक्षिणी युक्रेनमा भीषण लडाई जारी छ । रुस र युक्रेन दुवैबाट ठूला हमला भएका छन् ।
रुसले ओडेसा सहरमा ड्रोनबाट आक्रमण गरेको छ भने युक्रेनले रुसको नियन्त्रणमा रहेको मेलिटोपोल सहरमा आक्रमण गरेको छ ।
युक्रेनको सेनाले ओडेसामा प्रहार गरिएका १५ मध्ये १० ड्रोनलाई खसालेको बताएको छ, तर बाँकी पाँचवटाले ऊर्जा क्षेत्रलाई निशाना बनाएका छन्, जसले गर्दा विद्युत् कटौती भएको छ र १५ लाख मानिस अन्धकारमा छन्।
यसपछि मेलिटोपोलका निर्वासित मेयरले युक्रेनले रुसको नियन्त्रणमा रहेको सहरमा आक्रमण गरेको बताए ।
मेलिटोपोलमा तैनाथ मस्कोका अधिकारीहरूले ठूलो आगलागी देखाइएको तस्बिरहरू जारी गरेका छन्।
युक्रेनी अधिकारीहरूले दक्षिणी युक्रेनको बन्दरगाह शहर ओडेसामा रुसको ड्रोन आक्रमणले इरानमा बनाइएका ड्रोनहरूद्वारा रसियाले महत्त्वपूर्ण युक्रेनी पूर्वाधारलाई लक्षित गरिरहेको देखाएको बताए।
रुसले अक्टोबरदेखि युक्रेनको ऊर्जा पूर्वाधारमा ड्रोन र मिसाइल आक्रमण गरिरहेको छ।
यसै क्रममा मेलिटोपोलमा रुस समर्थक प्रशासनले युक्रेनको मिसाइल आक्रमणमा दुई जनाको मृत्यु भएको र १० जना घाइते भएको जनाएको छ ।
युक्रेनले आक्रमणमा अमेरिकाको हिमर्स रकेट लन्चर प्रयोग गरेको रुसले दावी गरेको छ ।