फेब्रुअरीमा ७ हजारसम्म केस नम्बर हुने नेपालीले डाइभर्सिटी भिसा पाउनसक्ने
प्रकाशित मिति : पुस ४, २०७९ सोमबार
अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले सार्वजनिक गरेको भिसा बुलेटिन अनुशार फेब्रुअरीका लागि डाइभर्सिटी भिसा पाउनसक्ने नेपालीको केस नम्बर थपेर ७ हजार बनाइएको छ । जनवरीका लागि नेपालीहरुको केस ५५ सय रहेकोमा फेब्रुअरीका लागि १५ सय थपेर ७ हजार बनाइएको हो । अर्थात् ७ हजारसम्म केस नम्बर हुने नेपाली डिभी विजेताहरु जनवरीमा भिसा पाउन योग्य हुनेछन् ।
डिसेम्बरका लागि नेपालीहरुको केस नम्बर १७ सय मात्र रहेको छ । जनवरीका लागि तेब्बरभन्दा धेरै थपिएको थियो । नोभेम्बरका लागि भने नेपाली डिभी विजेताको केस नम्बर थपिएको थिएन । अक्टोबरमा १४५० सम्म केस नम्बर हुने नेपाली डिभी विजेताहरुले भिसा पाउनसक्नेगरी सिमाबन्दी तोकिएकोमा नोभेम्बरका लागि समेत सोही सिमाबन्दी कायम रहेको थियो ।
फेब्रुअरीमा एसियामा १५ हजार ५ सय ५० सम्म केस नम्बर भएका डिभी विजेताले भिसा पाउनसक्ने भएकोमा इरानका ५५ सय र नेपालका ७ हजारसम्म केस नम्बर हुनेहरुलेमात्र भिसा पाउन सक्नेछन् । इरानका लागि जनवरीको तुलनामा फेब्रुअरीमा केस नम्बर थपिएको छैन ।
डिभी २०२३ का विजेताहरुले अक्टोबरदेखि भिसा पाउन सुरु गर्ने प्रावधान रहेतापनि अमेरिकी दूतावास काठमाडौंले अक्टोबरमा कसैलाई पनि डाइभर्सिटी भिसा जारी नगरेको तथ्यांक सार्वजनिक भएको छ ।
चालु आर्थिक बर्षका डिभी विजेताहरुले सन् २०२३ को सेप्टेम्बरभित्र भिसा पाइसक्नुपर्ने प्रावधान रहेको छ ।
कुल १ लाख १९ हजार २ सय ६२ जनाले डिभी लोटरी पारेकोमा अधिकतम ५५ हजारसम्मले भिसा पाउनसक्नेछन् । आर्थिक बर्ष २०२३ का डिभी विजेता नेपालीहरुको संख्या ३८०८ रहेको छ ।
डिभी २०२३ मा ९५ लाख ७० हजार २ सय ९१ जना सहभागी भएका थिए । उनीहरुले गतबर्षको अक्टोबर ६ देखि नोभेम्बर ९ सम्म डिभी लोटरी भरेका थिए । अमेरिकाभित्रै हुने डिभी लोटरी विजेताहरुले युएससीआईएसमार्फत स्थीति समायोजन गरेर ग्रिनकार्ड पाउनसक्छन् भने बाहिर हुनेले कन्सुलर प्रकृयामार्फत भिसा प्राप्त गर्नेछन् ।