अमेरिकी इतिहासको तेश्रो ठूलो १ दशमलव १ बिलियनको मेगा मिलियन ज्याकपट आज खोलिदै
प्रकाशित मिति : पुस २६, २०७९ मंगलबार
अमेरिकी इतिहासको तेश्रो ठूलो १ दशमलव १ बिलियनको मेगा मिलियन ज्याकपट आज खोलिदै छ । शुक्रबार पनि कसैलाई नपरेपछि मेगा मिलियन ज्याकपट मोटाएर १ दशमलव १ बिलियन डलरको पुगेको छ । यो इतिहासमै तेश्रो ठूलो मेगा मिलियन ज्याकपट बनेको छ ।
यस अगाडि २०२२ को जुलाईमा खोलिएको १ दशमलव ३ बिलियनको लोटरी इलिनोयमा परेको थियो । २०१८ को अक्टोबरमा १ दशमलव ५ बिलियनको लोटरी साउथ क्यारोलिनामा परेको थियो ।
ज्याकपट विजेताहरूले आफ्नो जितेको पैसा एक पटकको नगद भुक्तानी वा वार्षिकी विकल्पका रुपमा सङ्कलन गर्न सक्छन् । बार्षिक भुक्तानी ३० किस्तामा गरिन्छ । एकमुष्ठ लिन चाहनेले ५६८ मिलियन प्राप्त गर्नेछन् ।
मेगा मिलियन चिठ्ठा अमेरिकाका ४४ वटा राज्यहरुमा खेल्न सकिन्छ । साथै वासिंटन डिसी र युएस भर्जिन आइल्याण्डमा पनि खेल्न सकिन्छ ।
मेगा मिलियन हरेक मंगलबार र शुक्रबार न्युयोर्क समय अनुशार राती ११ बजे खोलिन्छ । यसको ज्याकपटक जित्नका लागि ३०२ मिलियन टिकटबीच सबैभन्दा धेरै भाग्यशाली हुन जरुरी छ । यो टिकटको मूल्य २ डलर रहेको छ । खेल्ने व्यक्तिले १ देखि ७० भित्रका ५ वटा नम्बर र १ देखि २५ भित्रको एउटा नम्बर छनौट गर्नुपर्छ ।
लोटरीबाट राज्यले कमाएको शतप्रतिशत नाफा रकम शिक्षामा
न्युयोर्क लोटरी उत्तर अमेरिकाको सबैभन्दा ठूलो र सबैभन्दा फाइदा गर्ने लोटरी बन्ने क्रम जारी रहेको छ । यो राज्यबाट संचालित सरकारी लोटरी हो । तपाईलाई लाग्न सक्छ यसरी लोटरीबाट कमाएको नाफा रकम कहाँ जान्छ ?
वास्तवमा लोटरीबाट गरेको नाफा रकम शिक्षामा जाने गरेको छ । आर्थिक बर्ष २०२१/२०२२ मा न्युयोर्क राज्यमा शिक्षामा सहायताका लागि न्युयोर्क लोटरीले ३ दशमलव ६ बिलियन डलर प्रदान गरेको थियो । न्युयोर्क लोटरीको आम्दानी स्थानीय विद्यालय डिस्ट्रिक्टहरुमा वितरण गरिन्छ ।
राज्यबाट प्रदान गरिने अन्य सहायताका लागि जुन शुत्र प्रयोग गरिन्छ, लोटरीको आम्दानी रकम पनि त्यही शुत्र प्रयोग गरेर शिक्षामा प्रदान गरिदै आएको छ । कुन स्कुल डिस्ट्रिक्टमा कति रकम जाने भन्ने कुरा डिस्ट्रिक्टको आकार र आयस्तर दुवैलाई ध्यान दिएर निर्धारण गरिन्छ । ठूला, कम आय भएका स्कुल डिस्ट्रिक्टहरुले धेरै सहायता रकम प्राप्त गर्छन्।
लोटरीबाट भएको शतप्रतिशत आम्दानीको रकम शिक्षामा खर्च गरिन्छ । सन् १९६६ मा न्युयोर्कमा ६६ प्रतिशत मतदाताहरुले न्युयोर्कको लोटरीको आम्दानीको रकम सबै शिक्षामा प्रदान गर्नुपर्ने नियम स्वीकृत गरेका थिए ।
आर्थिक बर्ष २०२०/२०२१ मा न्युयोर्कमा ८ दशमलव ५९ बिलियनको लोटरी बिक्री भएको थियो । त्यसमध्ये २ दशमलव ५ बिलियन डलर आम्दानी शिक्षामा खर्च गरिएको थियो भने ४ बिलियन डलरभन्दा धेरै रकम विजेताहरुले पाएका थिए । बाँकी रकम बिक्रेतालाई कमिशन, ठेकेदारलाई शुल्क र अन्य खर्चमा समेत जाने गर्छ ।
अहिलेसम्मको इतिहासमा सबैभन्दा धेरै न्युयोर्कमा १० दशमलव २९ बिलियनको लोटरी आर्थिक बर्ष २०१८- २०१९ मा बिक्रि भएको थियो । जसमध्ये ३ दशमलव ४ बिलियन विद्यालयहरुलाई सहायतामा खर्च गरिएको थियो भने बाँकी रकम विजेता, बिक्रेता, ठेकेदार र अन्य खर्चमा लागेको थियो ।
न्युयोर्कमा मेगा मिलियन, पावरबल, क्यास फर लाइफ र न्युयोर्क लोट्टोगरी ४ वटा ज्याकपट खेलाइन्छ । जसमा सबैभन्दा धेरै मेगा मिलियन बिक्रि हुने गरेको छ । त्यो बाहेक न्युयोर्कमा स्क्रयाच गर्ने र दैनिक खेलिने अन्य लोटरीहरु पनि छन् ।