१ बर्षमा ७१२८ नेपालीलाई अमेरिकाको भिजिटर भिसा, जम्मा १८ प्रतिशतको अस्वीकृत
प्रकाशित मिति : माघ १४, २०७९ शनिबार
अमेरिकाले आर्थिक बर्ष २०२१ को १२ महिनामा ७१२८ नेपालीलाई अमेरिकाको भिजिटर भिसा प्रदान गरेको र जम्मा १८ दशमलव ७२ प्रतिशतको मात्र भिजिटर भिसा अस्वीकृत गरेको खुलासा भएको छ । अर्थात् झण्डै ८१ प्रतिशत आवेदकले भिसा पाएका छन् ।
आर्थिक बर्ष २०२१ मा झण्डै १५ सय नेपालीका भिजिटर भिसाका आवेदनहरुमात्र अमेरिकाले अस्वीकार गरेको छ । यो बर्ष झण्डै ९ हजार नेपालीहरुले अमेरिकाको भिजिटर भिसाका लागि आवेदन दिएका थिए । जसमध्ये विना अन्तरवार्ता भिसा नविकरणको आवेदन दिनेहरु उल्लेख्य थिए । २०२१ मा नेपालीहरुलाई अमेरिकाको भिसा दिने दर ऐतिहासिक रुपमा उच्च बनेको हो ।
त्यस अगाडि आर्थिक बर्ष २०२० मा आवेदकमध्ये झण्डै ५१ दशमलव ९ प्रतिशत नेपालीहरुलाई अमेरिकाले भिजिटर भिसा प्रदान गरेको थियो । यद्यपी सन् २०२० मा अमेरिकाको भिजिटर भिसा स्वीकृत हुने नेपालीहरुको प्रतिशत दर त्यस अगाडिका ३ बर्षको तुलनामा सबैभन्दा उच्च थियो ।
आर्थिक बर्ष २०२० को तुलनामा २०२१ मा भिसा पाउने प्रतिशत दर बढेपनि संख्या भने घटेको छ । २०२० मा ७ हजार ७ सय ५१नेपालीहरुलाई अमेरिकाको भिजिटिर भिसा प्राप्त गरेकोमा २०२१ मा यो संख्या अझ घटेको छ ।
आर्थिक बर्ष २०२० मा झण्डै १५ हजार नेपालीहरुले अमेरिकाको भिजिटर भिसा आवेदन दिएका थिए । त्यसमध्ये ७ हजार ७ सय ५१ जनाको भिजिटर भिसा स्वीकृत भएको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ ।
नेपालीको भिजिटर भिसा अस्वीकृत दर आर्थिक बर्ष सन् २०१९ मा ५० दशमलव ७ प्रतिशत र २०१८ मा ५१ दशमलव ५ प्रतिशत रहेको थियो । आर्थिक बर्ष २०१७ मा भने अस्वीकृत दर ४६ दशमलव ४ प्रतिशतमात्र थियो ।
आर्थिक बर्ष २०१८ मा भने नेपालीहरुको भिजिटर भिसा अस्वीकृत दर सन् २०१२ पछिकै सबैभन्दा धेरै रहेको थियो । सन् २०११ मा भने त्योभन्दा पनि धेरै कुल आवेदकमध्ये ५९ दशमलव ९ प्रतिशत नेपालीहरुको भिजिटर भिसा अस्वीकृत भएको थियो । सन् २००६ देखि सन् २०११ सम्म भिजिटर भिसाका कुल आवेदकमा भिसा पाउनेहरुभन्दा नपाउनेहरुकै प्रतिशतदर उच्च थियो ।
तर सन् २०१२ देखि २०१७ सम्म भिजिटर भिसाका कुल आवेदकमा भिसा पाउनेहरुको प्रतिशत नपाउनेहरुको तुलनामा बढी थियो । सन् २०१४ मा त कुल भिजिटर भिसाका नेपाली आवेदकहरुमध्ये ६१ दशमलव ८ प्रतिशतले भिसा पाएका थिए । कुल आवेदकमध्ये जम्मा ३८ दशमलव २ प्रतिशत नेपाली आवेदकको भिजिटर भिसा अस्वीकृत भएको थियो ।
समाचारमा उल्लेख भएको संख्या र प्रतिशत अमेरिकी दूतावास काठमाडौंको मात्र होइन, नेपालीहरुले भिजिटर भिसाका लागि आवेदन दिएका विश्वका कुनै पनि देशमा रहेका अमेरिकी दूतावास वा कन्सुलेटको हो ।