न्युयोर्कको अष्टोरियामा कारको ठक्करबाट ज्यान गुमाउने बालिका ७ बर्षकी नाधुम डोल्मा
प्रकाशित मिति : फाल्गुन ६, २०७९ शनिबार
न्युयोर्कको क्वीन्समा शुक्रबार बेलुका कारको ठक्करबाट ज्यान गुमाउने बालिका ७ वर्षीया नाधुम डोल्मा भएको पुष्टी भएको छ । साँझ ६ बजेतिर अस्टोरियाको ४६ औं स्ट्रिट र न्यूटाउन रोडको इन्टरसेक्सनमा उनलाई कारले ठक्कर दिएको थियो ।
प्रहरीका अनुसार एक ४६ वर्षीया महिलाले सेतो २०२१ फोर्ड एक्सप्लोरर गाडी चलाइरहेकी थिइन् । न्यूटाउन रोडमा पूर्वतर्फ जाँदै गर्दा उनले ७ वर्षीया बालिका डोल्मालाई ठक्कर दिएकी थिइन्। चोकको उत्तरपश्चिम कुनाबाट दक्षिणपश्चिम कुनासम्म आमासँग सडक पार गरिरहेकी डोल्मालाई कारले ठक्कर दिएको हो ।
११४ औं प्रेसिन्क्टका प्रहरी अधिकारीहरू घटनास्थलमा पुग्दा पैदल बालिका नाधुम डोल्माको टाउकोमा गहिरो चोट लागेको थियो भने उनी सडकमा पल्टिएको अवस्थामा थिइन् । उनकी आमा घटनास्थलमा छोरीलाई समातेर रोइरहेकी थिइन् ।
बालिकालाई एल्महर्स्ट अस्पताल लगिएको थियो जहाँ उनलाई मृत घोषित गरिएको थियो। आमा र बच्चा इन्टरसेक्सन नजिकै बस्ने छिमेकीले बताएका छन् ।
घटनापछि चालक घटनास्थलमा रहेको जनाइएको छ । घटनामा कुनै आपराधिक संदिग्ध नभएको प्रहरीले जनाएको छ ।