जर्जियाको ग्यास स्टेशनमा ५ देखि १७ बर्षका ९ बालबालिकालाई गोली प्रहार
प्रकाशित मिति : फाल्गुन ६, २०७९ शनिबार
जर्जियाको ग्यास स्टेशनमा गोली चल्दा ९ बालबालिका घाइते भएका छन् । जर्जियाको कोलम्बसको वार्म स्प्रिंग्स रोडमा रहेको एउटा ग्यास स्टेशनमा शुक्रबार राति भएको घटनामा ५ देखि १७ वर्षसम्मका नौ बालबालिकालाई गोली प्रहार गरिएको थियो ।
घाइते सबैको ज्यान जाने खतरा नभएको र उपचार भइरहेको प्रहरीले जनाएको छ । युवाहरू संलग्न बन्दुकको हिंसाका घटनाले देशभरका समुदायहरूलाई असर गरिरहेको र त्यसबाट जर्जियाको कोलम्बस पनि मुक्त नरहेको त्यहाँका प्रहरी प्रमुख फ्रेडी ब्ल्याकमोनले एक विज्ञप्तिमा भनेका छन् ।
राति करिब १० बजे गोली चलेको थियो । घटनास्थल जर्जिया कोलम्बसको शेल ग्यास स्टेशन हो, जुन अलाबामाको सिमानामा छ । सबैभन्दा कान्छो पीडित एक ५ वर्षीय बालक हुन् । बाँकी पीडितहरू किशोर किशोरी जसमा १३ बर्षका केटीहरु पनि छन् ।
कोलम्बस प्रहरी विभागले शनिबार फेसबुक पोस्टमा अधिकारीहरू घटनास्थलमा पुग्दा धेरै बन्दुकको शिकार भएको र मानिसहरूको ठूलो समूह भेट्टाएको बताएको छ । घटनामा सम्बन्धित कसैलाई पनि पक्राउ गरिएको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो वर्ष अमेरिकामा अहिलेसम्म ८५ भन्दा बढी सामूहिक गोलीकाण्ड भएका छन् । शुक्रबार पनि मिसिसिपीको ग्रामीण इलाकामा एक बन्दुकधारीले गोली चलाउँदा ६ जनाको मृत्यु भएको थियो ।