अमेरिकी नागरिकता, ग्रिनकार्ड लगायत आवेदनमा शुल्क बढाइदै, कमेन्ट अवधि मार्च १३ सम्म थप
प्रकाशित मिति : फाल्गुन ११, २०७९ बिहीबार
अमेरिकी सरकारको अध्यागमनबारे काम गर्ने एजेन्सी युएससीआईएसले अमेरिकी नागरिकता, ग्रिनकार्ड लगायतका कैयन आवेदनमा फेरि शुल्क बढाउदैछ । यो प्रस्तावित नियम जनवरी ४ बुधबार फेडलर रजिष्टरमा प्रकाशित भएकोमा मार्च ६ सम्मका लागि कमेन्ट अवधि तोकिएको थियो । अब कमेन्ट अवधि बढाएर मार्च १३ सम्म बनाइएको छ ।
फरबरी १४ मा वेवसाइटमा प्राविधिक समस्या हुँदा कैयनले झण्डै २४ घण्टासम्म कमेन्ट पठाउन नसकेकाले ५ विजनेश दिनका लागि कमेन्ट अवधि थपिएको युएससीआईएसले जनाएको छ । अहिलेसम्म ३५ सयभन्दा धेरैले अनलाइनमा कमेन्ट पठाइसकेका छन् ।
अहिले अमेरिकी नागरिकता आवेदनका लागि ६४० डलर शुल्क तिर्नुपर्छ । यदि अनलाइनबाट आवेदन दिएको खण्डमा यो शुल्क अनलाइनबाट तिर्न सकिन्छ । कागजी आवेदन दिएमा मनी अर्डर, चेक वा क्रेडिट कार्डबाट पनि तिर्न सकिन्छ । तर अब यो शुल्क १२० डलर बढाएर ७६० डलर बनाउने प्रस्ताव गरिएको छ ।
अहिले अमेरिकी ग्रिनकार्डका लागि ११४० डलर शुल्क रहेकोमा यसलाई १५४० डलर बनाउने प्रस्ताव गरिएको छ । जुन ४ सय डलरले बृद्धि हो । ग्रिनकार्ड आवेदनमा बायोमेट्रिक शुल्क भने लिइनेछैन । अहिले बायोमेट्रिक शुल्कसहित ग्रिनकार्ड आवेदनका लागि १२२५ डलर तिर्नुपर्छ ।
गैरआवासीय भिसा थप वा स्टाटस परिवर्तनका लागि दिइने आवेदनमा अहिले आवेदन शुल्क ३७० डलर र बायोमेट्रिक शुल्क ८५ डलर गरी ४५५ डलर तिर्नुपर्छ । तर प्रस्तावित शुल्कमा बायोमेट्रिक शुल्क नलिनइे र आवेदन शुल्क अनलाइन आवेदन दिएमा ३७० बाट ५२५ बनाउने र कागजी आवेदन दिएमा ६२० बनाउने प्रस्ताव गरिएको छ ।
परिवारमा आधारित ग्रिनकार्ड आई १३० का लागि आवेदन दिंदा ५३५ डलर शुल्क रहेकोमा १७५ डलर बढाएर ७१० डलर बनाउने प्रस्ताव गरिएको छ । यो आवेदन कागजी रुपमा फाइल गरेको खण्डमा ८२० डलर तिर्नुपर्ने प्रस्ताव गरिएको छ । अर्थात् कागजीरुपमा भन्दा अनलाइनमार्फत आवेदन दिंदा सस्तो पर्नेछ ।
कामदार भिसा एचवानबीको लोटरीका लागि अनलाइन रजिट्रेशन शुल्क १० डलर रहदै आएकोमा त्यसलाई बढाएर २१५ डलर बनाउने प्रस्ताव गरिएको छ । एचटुएका लागि आई १२९ आवेदनमा ४६० बाट बढाएर १०९०, एचटुबीका लागि १२९ आवेदनमा ४६० बाट बढाएर १०८०, एल भिसाका लागि १२९ आवेदनमा ४६० बाट बढाएर १३८५ र ओ भिसाका लागि १२९ आवेदनमा ४६० बाट बढाएर १०५५ डलर बनाउने प्रस्ताव गरिएको छ ।
वर्क परमिटको आवेदन शुल्क ४१० डलरबाट बढाएर अनलाइनबाट फाइल गर्दा ५५५ र कागजी रुपमा फाइल गर्दा ६५० बनाउने प्रस्ताव गरिएको छ । अहिले लिइदै आएको बायोमेट्रिक शुल्क लिइनेछैन ।
यो ४६९ पेजको प्रस्तावित नियममात्र भएकाले अन्तिम नियम अर्को चरणमा प्रकाशित गरिनेछ । ६० दिनको कमेन्ट अवधि समाप्त भएपछि अन्तिम नियम ल्याउने तयारी गरिनेछ ।
कुन आवेदनमा कति शुल्क बढाउने प्रस्ताव गरिएको छ ? हेर्नुहोस् ।