पत्नीलाई घरको कामलगाएवापत डिभोर्सपछि श्रीमानले २ लाख डलर तिर्नुपर्ने अदालतको आदेश
प्रकाशित मिति : फाल्गुन २९, २०७९ सोमबार
स्पेनका एक न्यायाधीशले एकजना पुरुषलाई आफ्नी पूर्व पत्नीलाई २५ वर्षको घरको काम लगाएबापत २ लाख १५ हजार डलर तिर्न आदेश दिएका छन् । उनले दम्पती हुँदा विशेष रूपमा घरको काम सम्हालेकी थिइन् ।
इभाना मोरलले आफ्नो २५ वर्षको वैवाहिक जीवनमा दम्पतीका लागि कामको बोझ रहेको तर्क गरेपछि मुद्दा जितेकी हुन् । अदालतले मोरलका पूर्व पतिलाई आफ्नी पूर्व पत्नीलाई ५२८ डलरको मासिक भुक्तानी गर्न आदेश दिएको हो ।
यो रकम दम्पतीको विवाह भएको अवधिमा हाउसकिपरको लागि न्यूनतम मासिक व्यावसायिक ज्याला गणना गरेर निर्धारण गरिएको थियो। मोरलले दुई छोरीहरूलाई हुर्काउन र पतिको हेरचाह गर्न आफूले समय खर्चेको अदालतसमक्ष बताइन् । साथै उनले घरको सरसफाइ समेत गरेकी थिइन् ।
घर र परिवारको लागि उनको विशेष समर्पण रहेका कारण आफ्नै क्यारियर अवसरहरू पछ्याउन असमर्थ भएको उनले बताइन् । जबकि उनका पूर्व पतिले सफल जिम व्यवसाय निर्माण गर्न सक्षम भएका थिए भने तीव्र रूपमा आफ्नो सम्पत्ति बढाएका थिए ।
पूर्व पतिसँग २५ वर्षको वैवाहिक जीवनले उनलाई आर्थिक रूपमा कमजोर, बेकार र परनिर्भर बनाएको समेत मोरलले बताइन् ।