यो ग्रिनकार्ड आवेदन अप्रिल १२ पछि नेब्रास्काको ठेगानामा पठाउनुपर्ने
प्रकाशित मिति : चैत्र ६, २०७९ सोमबार
युएससीआईएसले यु भिसाका आधारित ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्ने स्थान परिवर्तनको घोषणा गरेको छ । यु भिसा वाहकले अमेरिकाको स्थायी बासिन्दा बन्नका लागि दिइने आवेदन आई ४८५ अब नेब्रास्का सर्भिस सेन्टरमा मात्र पठाउनुपर्ने युएससीआईएसले स्पष्ट पारेको छ ।
अप्रिल १२ पछि आवेदनहरु भर्मोन्ट सर्भिस सेन्टरमा नपठाउन यु भिसावाहकलाई सचेत गराइएको छ । आवेदन पठाउनुपर्ने ठेगाना ग्रिनकार्ड आवेदन आई ४८५ को पेजमा अपडेट गरिएको छ ।
भर्मोन्ट सर्भिस सेन्टरमा पठाउने आवेदनहरु अप्रिल १२ भन्दा अगाडिको पोष्टमार्कसहित हुनुपर्नेछ । त्यसपछिको पोष्टमार्कसहितका आवेदनहरु नेब्रास्का सर्भिस सेन्टरमा पठाउनुपर्नेछ ।
अप्रिल १२ पछि कसैले भर्मोन्ट सर्भिस सेन्टरकै ठेगानामा आवेदन पठाएमा त्यस्ता आवेदनहरु अस्वीकार गरेर आवेदकलाई नै फिर्ता गरिनेछ । आवेदनमा उल्लेखित सुरक्षित ठेगाना वा जी २८ फर्ममा तोकिएको कानून व्यवसायी वा प्रतिनिधिको ठेगानामा आवेदन फिर्ता पठाइने युएससीआईएसले जनाएको छ ।