कोरोना सम्बन्धित सरकारी सहायता नपाएपनि आफूलाई उभ्याउदै न्युयोर्कको गोर्खाली रेष्टुरेण्ट


प्रकाशित मिति : चैत्र २३, २०७९ बिहीबार

न्युयोर्कको क्वीन्समा नेपाली आप्रवासीहरु र नेपालीभाषीहरुबाट संचालित झण्डै ३ दर्जन रेष्टुरेण्टहरु संचालनमा रहेका छन् । कोरोना महामारीपछि महामारीबाट प्रभावित रेष्टुरेण्ट र साना व्यवसायलाई सहयोग गर्न विभिन्न राहत कार्यक्रमहरु आए, त्यस्ता राहत कार्यक्रमबाट धेरै नेपाली रेष्टुरेण्टहरुलाई सहायता पनि भयो । तर केही नेपाली रेष्टुरेण्टहरु भने यस्ता अनुदान वा ऋण पाउनबाट वञ्चित भए । न्युयोर्कको क्वीन्स ज्याक्सनहाइटमा रहेको नेपाली रेष्टुरेण्ट गोर्खालीले भने कुनै पनि संघीय अनुदान र ऋण लगायतका राहत कार्यक्रमविना नै आफूलाई उभ्याउने बाध्यता आयो ।

४ जना सन्तानकी आमा एक महिला ज्ञान थापाले ज्याक्सनहाइटको ७७ स्ट्रीट रुजभेल्ट एभिन्युमा सन् २०१९ देखि नै गोर्खाली रेष्टुरेण्ट सुरु गर्ने योजनाका साथ सन् २०१८ को डिसेम्बरबाट उक्त स्थान ५ बर्षका लागि लिजमा लिएकी थिइन् । तर रेष्टुरेण्टको निर्माणमा लामो समय लाग्नुका साथै ग्यास कनेक्सनमा समस्या आएका कारण उनले बर्षभरी भाडामात्र तिर्नुपर्यो । जब उनले सन् २०२० को फेबुअ्ररीमा रेष्टुरेण्टको सुरुवात गरिन्, त्यसको एकमहिना नपुग्दै कोरोना महामारीको सामना गर्नुपर्यो, जसले गर्दा २ महिना रेष्टुरेण्ट पूर्णरुपमा नै बन्द भयो ।

‘कोरोना महामारीका कारण अरुले विभिन्न खालका संघीय अनुदान सहायता र ऋणहरु पाए भन्ने सुनियो । तर हामीले केही पनि पाएनौं । व्यवसाय सुरु गरे लगत्तै महामारी आएकाले व्यवसाय संचालनको इतिहास भएन । कागजात नपुगेको भन्दै हामीलाई अनुदान वा ऋणका लागि अयोग्य बनाइयो,’   ज्ञानले भनिन् ।

स्मल विजनेश एड्मीनिष्ट्रेशनले रेष्टुरेण्ट र अन्य व्यवसायहरुलाई सहयोग गर्न पेचेक प्रोटेक्सन प्रोग्राम, ईआईडीएल एड्भान्स अनुदान, ईआईडीएल ऋण, रेष्टुरेण्ट रिभाइटलाइजेशन फण्ड प्रोग्राम लगायतका कार्यक्रमहरु ल्यायो । तर गोर्खाली रेष्टुरेण्ट भने यी कुनै पनि कार्यक्रमका लागि योग्य भएन । १० हजारसम्मको टार्गेटेड ईआईडीएल एड्भान्सका लागि योग्य हुन सन् २०२० को फेबु्रअरी १५ अगाडिदेखि नै संचालनमा रहेको हुनुपर्ने तथा सन् २०२० को मार्च २ पछिको ८ हप्ताको अवधिमा ३० प्रतिशतभन्दा बढी ब्यापार घटेको देखाउनुपर्ने प्रावधान थियो । तर मार्चभन्दा अगाडिको अवस्थाको तुलना गर्ने इतिहास नभएको र मार्चपछि पनि २ महिना बन्द गर्नुपरेकाले ब्यापार घटेको देखाउन नसक्दा यो सहायता पनि गोर्खाली रेष्टुरेण्टलाई प्राप्त भएन ।

त्यस्तै रेष्टुरेण्ट रिभाइटलाइजेशन फण्डका लागि पनि २०२० को फेबुअ्ररी १५ सम्म कम्तीमा १ बर्ष संचालनमा रहेको इतिहास हुनुपर्ने तथा २०१९ र २०२० का ट्याक्स कागजातको तुलना गर्नुपर्ने लगायतका प्रावधानले योग्य हुन सकेन । पेचेक प्रोटेक्सन प्रोग्राम अन्तरगतको सहायताका लागि पनि पहिलो क्वार्टरको पेरोल सुरु गर्न नपाउँदै महामारी आएकाले गोर्खाली रेष्टुरेण्ट योग्य भएन ।

‘हामीले तिर्न नपर्ने अनुदानका लागि योग्य नभएपनि सस्तो ब्याजको ईआईडीएल ऋणका लागि आवेदन दिएका थियौं । २०१९ को ट्याक्स फाइल गरेको कागजातहरु नभएकाले उक्त ऋणका लागि समेत योग्य भएनौं । पहिलेदेखि संचालनमा भएकाहरुभन्दा २०२० को सुरुमा संचालन गर्ने साना व्यव्यसायहरुमा बढी मार परेको थियो । तर जसलाई बढी मार परेको थियो, उनैले पाएनन् ,’  ज्ञानले भनिन् ।

संघीय अनुदान र ऋणहरु नपाएपनि न्युयोर्क राज्य र न्युयोर्क सिटीले ल्याएका कार्यक्रममा त योग्य भइएला कि भन्ने आशा थियो ज्ञानलाई । तर न्युयोर्क सिटीले ल्याएको स्मल विजनेश रेजिलेन्स ग्रान्टका लागि पनि २०१९ मा संचालन भएको हुनुपर्ने र २०१९ को ब्यापारसँग तुलना गरेर घाटा देखाउनुपर्ने भएकाले गोर्खाली रेष्टुरेष्ट योग्य भएन । न्युयोर्क राज्यको स्मल विजनेश रिकभरी ग्रान्ट कार्यक्रममा त सुरुमा एकडलर भएपनि नाफा देखाउनुपर्ने प्रावधानका कारण योग्य हुने कुरा भएन तर पछि यो प्रावधान हटाएपनि २०१९ मा संचालनमा नभएका कारण गोर्खाली रेष्टुरेण्ट योग्य भएन । न्युयोर्क राज्यको सिड फण्डिङ ग्रान्ट कार्यक्रमबाट भने १० हजार डलर सुरक्षित गर्न सक्षम भयो, त्यो पनि दक्षिण एसियाली र इन्डो क्यारेबियन समुदायको आर्थिक विकाशका लागि कामगर्दै आएको सामाजिक गैर नाफामुलक संस्था छाया सीडीसीको सहायतामा ।

छाया सीडीसीमा सिनियर स्मल विजनेश अर्गनाइजर रहेका उर्गेन शेर्पाका अनुशार छाया सीडीसीले कैयन साना व्यवसायलाई अनुदान र ऋण सहायता दिलाउनका लागि पहल गरेको छ । सुरुमा अनुदान वा ऋण अस्वीकृत भएका व्यवसायहरुले पनि आफूहरुको सहयोगमा अनुदान वा ऋण पाउन सफल भएको उनले बताए ।

संघीय अनुदानहरु पाउन नसकेपनि न्युयोर्क सिटीले ल्याएको स्मल विजनेश अपर्चुनिटी फण्डबाट सस्तो व्याजमा ऋण पाउने आशा छ ज्ञानलाई । यो ऋण ५ देखि ६ बर्षभित्र तिरिसक्नुपर्ने भएपनि सस्तो ब्याज भएकाले ऋण पाएको खण्डमा व्यवसायलाई अझ राम्रो बनाउने र बढाउने उनको योजना रहेको छ । उनी भन्छिन् -‘यही भएपनि पाइयो भने रेष्टुरेण्टको सुधारमा लगाउँछु ।’

अमेरिका आएको ८ महिनामै श्रीमान गुमाएपछिको संघर्ष

सन् २०१३ को मार्चमा आफ्ना १७ र १५ बर्षका दुई छोरीहरु तथा १३ र ८ बर्षका २ छोराहरु लिएर अमेरिकामा श्रीमानसँग साथमा बस्न आउन पाउँदा निकै खुशी थिइन् ज्ञान थापा । सन् २००७ मा अमेरिका आएका श्रीमान बुद्धी थापाले आफ्नो अध्यागमन स्टाटसका कारण २०१३ मा मात्र श्रीमती र छोराछोरीहरु अमेरिका ल्याउन सफल भएका थिए । तर अमेरिका आएको खुशी धेरै समय टिक्न पाएन, जब सन् २०१३ को नोभेम्बर २६ मा न्युयोर्कको म्यानहटनको सेकेण्ड एभिन्यु र ८९ स्ट्रीटमा बाटोमा हिडिरहेको बेला गाडीको ठक्करबाट उनका ४२ बर्षका श्रीमान बुद्धी थापाको निधन भयो ।

सबै छोराछोरी १८ बर्षभन्दा कम उमेरका भएको अवस्थामा श्रीमानको निधनले ज्ञान निकै दुखी भइन् । तर पनि उनले हिम्मत जुटाएर छोराछोरी र आफैलाई सम्हालिन् । ज्ञान सम्झिन्छन् -‘त्यतीबेला मैले नेपालबाट आएर भर्खर लिभ इन काम गरिरहेकी थिएँ । छोराछोरीहरु साना भएकाले निकै गाह्रो भयो । सबै स्कुल जाने उमेरका थिए । कान्छो छोरालाई स्कुल छाड्न र लिन जानुपर्ने भएकाले कामबाट छुट्टी लिएर भएपनि छोरालाई स्कुल छाड्न र लिन जान्थें ।’

पछि ज्याक्सनहाइटको ७२ स्ट्रीटमा रहेको तावा रोटीमा ज्ञानले सेलरोटी पकाउने काम सुरु गरिन् । एउटा कुनामा बसेर सेलरोटी पकाइरहँदा उनको दिमागमा रेष्टुरेण्ट व्यवसायको आईडीया आउन थाल्यो । ग्राहकहरुको रुची के मा छ र कस्तो रेष्टुरेण्ट संचालन गर्न सकिन्छ भन्नेबारे उनको दिमागमा अनेक आइडियाहरु आउन थाले । केही रकम जम्मा गरिसकेपछि उनले ज्याक्सनहाइटकै ७४ स्ट्रीट ३७ रोडमा केही पार्टनरसँग मिलेर भान्साघर नामको रेष्टुरेण्ट सुरु गरिन् । त्यसको केही समयपछि ७४ स्ट्रीटकै भित्र मेरिट कबाबको एउटा भागमा उनी एक्लैले मम र चाउमिन बेच्न सुरु गरिन् ।

ज्ञान भन्छिन् – ‘भान्साघर छाडेपछि यत्तिकै बसेर त भएन, छोराछोरी त पाल्नुपर्यो भन्ने विचारले सानो ठाउँ भाडामा लिएर मम र चाउमिन बेच्न थालें । त्यहाँ भाडा निकै महँगो थियो । तर पनि सानो व्यवसाय गर्दैै गएमा ठूलो पनि आँट्न सक्छु जस्तो लाग्यो । मम चाउमिनको व्यापार एकदमै राम्रो भयो । जसले गर्दा गोर्खाली रेष्टुरेण्ट खोल्ने हिम्मत आयो ।’

रेष्टुरेण्ट सुरु गरे लगत्तै महामारीका कारण २ महिना बन्द गर्नुपरेता पनि त्यसपछि भने उनले जुन महिनादेखि आउटडोर डाइनिङ सुरु गरेर व्यवसाय अगाडि बढाइन् । त्यसपछि विस्तारै ब्यापार बढ्दै गयो । ग्रबहब, उबर इट लगायतबाट अनलाइन अर्डर समेत लिन थालिन् । सन् २०२२ मा मदिराको लाइसेन्स पनि पाएपछि रेष्टुरेण्टमा सप्ताहन्तमा लाइभ म्युजिकको समेत व्यवस्था गरियो । जसले गर्दा व्यवसाय अझ राम्रो बनेको उनको अनुभव छ । उनी भन्छिन् – ‘अब त छोराछोरी पनि हुर्किसके । कान्छो छोरो पनि १८ बर्ष भइसक्यो । उनीहरुले पनि रेष्टुरेण्ट संचालनमा सहयोग गरिरहेका छन् । आँटले गरेकी छु । तर आँटेजस्तै पनि भएको छ ।’

यद्यपी उनलाई अहिले लिजको चिन्ता छ । सन् २०१८ को डिसेम्बरमा लिएको ५ बर्षको लिज आगामी डिसेम्बरमा सकिदैछ । जसले गर्दा उनले रेष्टुरेण्टमा खुलेर लगानी गर्न सकेकी छैनन् । उनी भन्छिन् घरवेटीले लिज नविकरण गरिदिने आश्वासन दिएको छ । तर नगरेमा के गर्ने भन्ने अन्यौल छ । लिज बढाएमा रेष्टुरेण्टलाई अझै अपग्रेड गर्ने योजना बनाएकी छु । डेकोरेशन अझ राम्रो बनाउने र मेनुहरु थप्ने योजना पनि छ ।

सरकारी श्रोतहरु बुझ्नै गाह्रो, जनचेतनाको पनि अभाव

साना व्यवसाय र अल्पसंख्यक तथा महिलाहरुले संचालन गरेका व्यवसायका लागि स्थानीय सरकारले विभिन्न श्रोतहरु उपलब्ध गराएपनि भाषाको समस्याका कारण त्यस्ता श्रोतहरु बुझ्नै गाह्रो भएको बताउँछिन् ज्ञान । आफूलाई अँग्रेजी भाषा खासै नआउने र छोराछोरीहरुले अँग्रेजी जानेपनि सरकारी भाषा बुझ्न गाह्रो हुने गरेको उनको अनुभव छ ।

भाषिक न्यायको कुरा गर्दा भाषा अनुवादको कुरामात्र नभई समुदायका व्यक्तिले सरकारी सेवा, अधिकार र श्रोत लाई कसरी बुझ्ने भन्ने प्रश्न पनि मुख्य रहेको नेशनल युनिभर्सिटी र ट्राइन युनिभर्सिटीमा डाटा साइन्सका प्रोफेसर डाक्टर राजन थपलियाको भनाई छ । उनी भन्छन् – ’पहिलो त स्थानीय सरकारका साधन श्रोतहरु नेपाली भाषामा असाध्यै कममात्र रहेका छन् । दोश्रो, नेपाली भाषामा भएपनि सरकारले प्रयोग गर्ने भाषा समुदायका सदस्यहरुले नबुझने र जटिल खालको हुने भएकाले समस्या छ ।’

’आप्रवासीहरुका लागि भाषा कक्षाहरु त छन् । स्थानीय सरकारले वी स्पीक एनवाईसी जस्ता भाषा कक्षा संचालन गर्नका लागि पार्टनरसिप पनि गरिरहेको पाइन्छ । तर त्यस्ता कक्षामा नेपाली भाषाबाट अँग्रेजी र अँग्रेजी भाषाबाट नेपाली नपढाइने भएकाले ती कक्षामा सहभागी हुने कैयनले पनि भाषा सिक्न सकेका छैनन् । भाषाकक्षा सम्पूर्णरुपमा नै अँग्रेजीमा हुने भएकाले कैयन नेपाली समुदायका सदस्यहरुका लागि त्यस्ता भाषाकक्षा उपयोगी हुन सकेका छैनन् । भाषा प्रशिक्षक नेपाली समेत बुझ्ने भएको खण्डमा त्यस्ता कक्षाहरु उपयोगी हुनसक्छन् । सकेसम्म नेपाली भाषा बोल्ने व्यक्तिले नै अँग्रेजी पढाउनुपर्छ ।’ – थपलिया भन्छन् ।

समस्या व्यक्त गर्ने उचित प्लेटफर्म नभएका कारण नेपाली समुदाय भ्वाइसलेस जस्तै हुने बाध्यता रहेको बताउँछन् राजन थपलिया । उनी भन्छन् – ’भाषा बुझनेहरुलाई समेत स्थानीय सरकार वा राज्यका रिसोर्सहरुबारे जानकारीको अभाव छ । ती श्रोत साधनहरुबाट कसरी फाइदा लिने भन्नेबारे जानकारी छैन । त्यसैले स्थानीय सरकार वा राज्यका रिसोर्सहरुबारे जनचेतनामुलक कार्यक्रमहरुको समेत अभाव रहेको छ ।’

भाषाकै कारणले स्थानीय सरकारले साना तथा अल्पसंख्यक समुदायले संचालन गर्ने व्यवसायका लागि प्रदान गर्ने कैयन अवशर, अधिकार र सुविधाहरु थाहा पाउन नसक्ने अवस्था रहेको तथा स्थानीय सरकारले उपलब्ध गराउने तालिमहरु समेत अँग्रेजी भाषामा हुने भएकाले त्यस्ता कैयन तालिम समेत उपयोगी हुन नसकेको उर्गेन शेर्पा बताउँछन् । उनी भन्छन् -‘साना व्यवसायहरुले पाउने कैयन सुविधाहरु जनचेतनाको कमीले गर्दा नपाएको अवस्था पनि छ । विभिन्न प्रकारका अनुदान र ऋणको बाढी आएकाले कतिपय व्यवसायीहरुमा अन्यौल भयो । अनुदान हुन् कि ऋण हुन् भन्ने छुट्याउनमा समेत समस्या भएकाले त्यो लिंदा पछि कुनै समस्या हुने हो कि भनेर व्यवसायीहरु अन्यौलमा देखिए । भाषाका कारण फ्लोअप गर्नमा पनि समस्या रहेको छ । कतिपय व्यवसायीले त कोरोनापछिका अनुदान र ऋणबारे सुन्दै नसुनेको समेत बताए ।’

छाया सीडीसीमा सिनियर स्मल विजनेश अर्गनाइजर रहेका उर्गेन शेर्पा

कतिपय नेपाली व्यवसायहरुले संचालकको अध्यागमन स्टाटसका कारण पनि कोरोना महामारीपछिका संघीय अनुदान र ऋणहरु लिन नपाएको उर्गेन शेर्पाको अनुभव छ । त्यसमा केही नेपाली रेष्टुरेण्टहरु समेत रहेका छन् । उर्गेन भन्छन् – ‘एउटा नेपाली रेष्टुरेण्टलाई सुुरुमा ८३ हजार डलर एसबीएएको ऋण स्वीकृत भएको थियो । तर संचालकको ग्रिनकार्ड नभएका कारण पछि उक्त ऋण प्राप्त गर्न सकेनन् ।’

केही व्यवसायहरुमा ट्याक्स लगायतका कागजातहरु व्यवस्थीत नभएकाले पनि कैयन अनुदान र ऋण सहायताहरु पाउन नसकेको बताउँछन् उर्गेन शेर्पा । व्यवसायको नाम परिवर्तन गर्दा र किनबेच गर्दा पनि उचित कागजात राख्नमा समस्या हुने गरेको उनी बताउँछन् । उनी भन्छन् – ‘छाया सीडीसीले ट्याक्स कागजात लगायतका अन्य कागजातहरु व्यवस्थीत तरिकाले राख्नेबारे तालिम कार्यक्रम संचालन गर्दैछ ।’

(यो रिपोर्ट न्युयोर्क सिटी मेयरको मिडिया र मनोरन्जन कार्यालयको आर्थिक सहयोगमा सेन्टर फर कम्युनिटी मिडियाबाट आयोजित साना व्यवसाय रिपोर्टिङ फेलोशिपको एक भागको रूपमा उत्पादन गरिएको हो ।)

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com