खरिदार हुँदै दलित समुदायका पहिलो विशिष्ट श्रेणीका सचिव डा. मानबहादुर बीकेको विषम यात्रा
प्रकाशित मिति : बैशाख ३, २०८० आईतबार
– सञ्जीव कार्की
एउटै व्यक्ति खरिदारदेखि विशिष्ट श्रेणीको सचिवसम्म र प्रावि शिक्षकदेखि विश्वविद्यालयको प्राध्यापकसम्म बनेको उल्लेख गर्दा कतिपयलाई लाग्ला ‘एउटै व्यक्ति कसरी दुई लाइनको सेवामा उच्च तहसम्म पुग्न सक्छ?’ भनेर । तर त्यस्तै भएको छ डा. मानवहादुर बीकेको हकमा । दृढ इच्छाशक्ति, मिहिनेत र लगनशील रहेमा त्यो पनि सम्भव हुँदो रहेछ भन्ने ज्वलन्त उदाहरण बनेको छ डा. मानबहादुर बीकेको जीवन यात्रा । त्यति मात्र हैन वहाँमा अन्तर्राष्ट्रिय संस्थामा डेपुटि कन्ट्री रेप्रिजेन्टेटिभ, संयुक्त राष्ट्र संघीय निकायको नेशनल मेनेजर, विभिन्न संघसंस्थाको संस्थापक र नेपालमा सामुदायिक बैङ्किङ सेवाको प्रवर्तक समेत रहेर सेवा गरेको अनुभव छ ।
दुर्गम गाउँको दलित परिवारबाट उठेर विभेदका विभिन्न श्रृङ्खलाहरु छिचोल्दै यी सबै कुरा गर्न सफल व्यक्ति हुनुहुन्छ डा मानबहादुर बीके । त्यसका अलावा चेतनामुलक पत्रिका (जनउत्थान) को प्रधान सम्पादक र दर्जनौ पुस्तक प्रकाशन गरेको पनि अनुभव छ । डेढ वर्षअघि निजामति सेवाको विशिष्ट श्रेणी सचिवबाट निवृत्त भएपछि अमेरिकाको एकामाई युनिभर्सिटीमा प्राध्यापनमा संलग्न बीकेले त्यहाँ पनि ‘ग्रीन ग्रोथ डेभलोपमेन्ट’ को नयाँ कोर्ष बनाई हरित विकासलाई उच्च शिक्षामा विश्वव्यापी रूपमा मूलप्रवाहीकरण गर्दै हुनुहुन्छ ।
रैथाने सीप, कला र संस्कृतिलाई उच्च शिक्षासम्म पुर्याउने उद्देश्य लिएर संचालन गरिएको नागरिक अभियानलाई नेतृत्व गरिरहनु भएका डा. बीके हालै नेपाल सरकारले गठन गरेको रैथाने शिल्पकला तथा संस्कृति विश्वविध्यालय स्थापनाका लागि संभाव्यता अध्ययन समितिका संयोजक समेत हुनुहुन्छ।
आफूसँगै पढने कक्षाका गैर दलित साथीहरूसँगै बसेर पढ्दा अरूलाई नछोइकनै आफूले लगेको झुत्रे सुकुलमा बसेर पढ्नु पर्थ्यो बालक मानबहादुरलाई । अरूलाई पानी खान सहज थियो तर प्यास लाग्दा पनि अरूकै खटनमा मात्र पानी खान पाइने र मन्दिरमा साथीहरू पस्दा आफू बाहिर बसेर सबैका भनिएका भगवानको थानमा पनि जान वन्चित हुनुपर्थ्यो ।
अझ दुखको कुरा उहाँका गैर दलित साथीभाइले दुख दिनु पर्दा उहाँको किताब,कापी लगेर मन्दिर भित्र राखिदिन्थे जबकि दलितको लागि मन्दिर भित्र छिर्न वर्जित थियो । आफ्नो लागि निषेधित क्षेत्रमा किताबको झोला नै राखिदिंदा हुनुसम्मको हैरानी लाग्दैन्थ्यो । एउटा बालकको लागि सामाजिक संरचनाद्वारा निर्मित यो भन्दा अपमानको विषय के हुन्थ्यो ? बाल मनोविज्ञानमा कति चोट पर्यो होला ? आधुनिक समाजलाई दलित समुदायले आजसम्म भोग्नु परेको अपमान, तिरस्कार उपेक्षा र अमर्यादाको शोध भर्ना दिने मनशाय छ छैन ? अहिले जे जति शोध भर्नाका अभ्यास र छुट गरिएको छ ती अपर्याप्त र अपूर्ण छन् ।
मस्तिष्कमा परेको ट्रमाको उपचारको उपाय के हुन्छ ? गम्भीर भएर मानवीयसवालमा आधुनिक समाज घोत्लिनु पर्नेछ । दलित समुदायको कोखमा मानबहादुर आफ्नो अनुरोध र बिन्ती बिसाएर आउनु भएको पनि होइन् । न अरू कथित उच्च जात नै रोजेर कसैको गर्भमा आएका हुन् ? कुनै पनि जननीको कोख बहुमूल्य वा मूल्यहीन हुँदैन । तसर्थ इतिहास हराएका, पहिचान मेटिएका, वर्चस्वशाली समुदायले धकेलेर किनाराकृत गरिएका दलित समुदायका आमाहरूको पवित्र कोख कसरी मूल्यहीन हुन्छ ? अछुत हुन्छ ? तर हाम्रो धर्म र परम्परामा अभ्यास गरिएको छुत र अछुत चलनले आफू जस्तै मान्छेहरूको मानव अधिकार, स्वतन्त्रता र मर्यादा हनन गरेको हजारौ वर्ष भयो । त्यहीपीडा र दुखमा दलित समुदाय कहर खेपेर बाँचेको छ ।
आज पर्यन्त सो क्रम रोकिएको छैन । वर्तमानमा पनि जातको नाममा गरिने अत्याचार र अवहेलना सामाजिक तथा बहिष्करणमा किंचित पनि कमी नभएको कुरा सिराहाको भगवानपुर गाउँ पालिकाका अध्यक्षको भोजमा यही फाल्गुन २२ मा जात अनुसार बसेर खाने व्यानर पोस्टर टाँसेर छुट्याएको भोजमा सांसद र जिल्लाको सिडीओंलगायत लब्ध प्रतिष्ठित व्यक्ति सहभागी हुनु र कास्की जिल्लामा फाल्गुन २५ गते दलितले छोएको भन्दै दलितद्वारा गैर दलितको लागि आयोजित गैर दलितद्वारा तयार गरिएको भोजमा दलितले छोएको भन्दै भतेर घोप्ट्याएको ताजा दुई घटनाले पुष्टि गर्दछ । यसबाट हाम्रो समाज आज पनि मनु स्मृतिको कानुनमा संचालित रहेको प्रमाणित हुन्छ ।
गैर दलितसँग दलितले बिहे गरेको आरोपमा मारिएका अमित मिजारको लास आज पनि शिक्षण अस्पतालको चिसो बाकसमा वर्षौ देखि कोचिएको अवस्थामा रहनुले हाम्रो समाज र राज्यको दलितसमुदायलाई हेर्ने दृष्टिकोण प्रस्तुत गर्दछ । रुकुमको सोतीमा २०७७ जेठ १० मा नवराज लगायत ६ जना युवाको नरसंहारले विश्व मानचित्रमा जातीय छुवाछुतको स्थिति छर्लंग पार्छ । यस्तो विषम परिस्थितिका बाबजुद नेपाल सरकारको विशिष्ट श्रेणीको सचिवसम्म पुग्नु मानबहादुर बीकेको चानचुने सफलता होइन ।
भुइँ तहको मान्छे, दलित समुदायको व्यक्ति नेपाल जस्तो जात व्यवस्थाले धेरै कुरा प्रत्यक्ष-परोक्ष निर्धारण गर्ने मुलुकमा निजामती सेवाको उपल्लो तह अर्थात् स्थायी सरकारको प्रमुखतह सचिव बन्नु कागजमा लेखिएको अधिकार, संविधानले व्यवस्था गरेको समानता र स्वतन्त्रताको हक अनुसार सामान्य भए पनि एउटा गरिव गाउँले र कथित दलितको छोराको हकमा यो करिब करिब आश्चर्यकै विषय हो । जुन बेला आज जस्तो जातीय रिजर्भेसन कोटा छुट्याइएको थिएन । सगोलको प्रतिस्पर्धा थियो ।
गरिवीका दुश्चक्र एकातिर थियो भने अर्कोतिर जात व्यवस्थाले मान्छेको मर्यादा नदिएको स्थितिमा धार्मिक कानुन बलवान बन्ने समाजमा एउटा दलित परिवारको छोराको लागि शिक्षा प्राप्त गर्नु र निजामती सेवामा प्रवेश गरेर नेपाल सरकारको सचिव बन्दासम्म काट्नु परेको परेको दुख र गर्नु परेको सङ्घर्ष खप्नु परेको घाम पानी असामान्य थिए । जात व्यवस्थाले उपल्लो श्रेणीमा राखेका गाउँ ठाउँका गरिब मान्छेलाई समेत असहज हुने शिक्षा रोजगारी एउटा दलित समुदायको मान्छेको हकमा कति असहज भयो होला ? सहजै अनुमान गर्न सकिन्छ । नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव बनेर गत वर्ष २०७८ बैशाखमा अवकाश लिनु भएका मानबहादुर बीकेको जिन्दगीको आरोह अवरोहलाई हेरौं ।
पाल्पाको रिब्दीकोट गाउँ पालिका तत्कालीन देउराली गाउँ पंचायतमा २०२१ वैशाख ६ गते भीम र मायादेवी विश्वकर्माको जेष्ठ सन्तानको रूपमा मानबहादुर जन्मिनु भएको हो । पाल्पाको सदरमुकाम देखि ३, ४ घण्टा पैदलमार्गबाट पुगिने दुर्गम गाउँका विके परिवारमा आय आर्जनको स्रोत परम्परागत खेती नै थियो । मानबहादुरका बुबा भारतमा चौकीदारको काम गर्नु हुन्थ्यो । बुबासँगै करिव ४, ५ वर्षको उमेरमा मानबहादुर पनि भारत लगिनु भयो र आगराको स्कुलमा बुबाले भर्ना गरिदिनु भयो । त्यहाँ खरीजस्तो झोलमा बाँसको कलमले पाटीमा लेखेर पढाइको शुरुवात गर्नु भयो ।
‘करिब डेढ वर्ष जति त्यहाँ पढेपछि बुबाले गाउँमै लिएर फर्कनु भयो र गाउँकै प्राविमा ५ पाँच कक्षासम्म पढेर आदर्श निमावि देउरालीमा ६ र ७ पढे । त्यसपछि १० कक्षा सम्म भैरवस्थानमा भैरव जनता माविमा पढेर त्यहीँबाट २०३७ सालमा एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण भएँ’ मानबहादुर आफ्नो वाल्यकाल र पढाई स्मरण गर्नुहुन्छ । विज्ञान विषय पढ्ने रहर भए पनि कलेजमा गएर बुझ्दा विज्ञान पढ्न आफ्नो आर्थिक हैसियत नपुग्ने थाहा पाएपछि पाल्पाको त्रिभुवन बहुमूखी क्याम्पस तानसेनमा कमर्श पढन भर्ना भइ त्यहीं ट्युसन पढाएर आफ्नो खर्चको जोहो गर्नुभयो ।
केही समयपछि भगवती स्थान प्राविमा अस्थायी शिक्षक र जनता माविमा रात्रीकालीन शिक्षक भएर काम गर्नु भयो जसले गर्दा खर्च धान्न अलि सहज भयो । त्यो दुखको बेला भगवती स्थान प्राविमा शिक्षकको काम दिएर जागिरे जीवनको शुरुवात गर्ने मौका प्रदान गर्ने त्यस विध्यालयका तत्कालिन प्रअ मेघराज शर्मा सरप्रति मानसर अनुग्रहित हुनुहुन्छ । २०४३ सालमा लोकसेवा दिएका मानको पहिलोपटक मै नाम निस्कियो र उहाँ सहलेखापाल भइ सरकारी कर्मचारीको रुपमा ट्याक्टर चढेर अर्घाखाँची पुग्नुभयो । अर्घाखाँचीमा काम गर्दा गर्दै पाल्पाबाट विकम पास गरेपश्चात काठमाडौँको हवाई विभागमा सरुवा भएर आइ मिन भवन कमर्श क्याम्पसमा डिग्रीमा भरना भएर पढदै गर्दा २०४७ सालमा लोकसेवाबाट अधिकृतमा नाम निकाल्न सफल हुनुभयो ।
बीकेसँग निजामती सेवामा प्रवेश गरेपछिका तीन वटा रेकर्ड बनेका छन् भने विसं पछि आउने सात अक्षरका संयोग विशेष वर्षहरू हुन् जसलाई यसरी सम्झन सकिन्छ :
एसएलसी २०३७,
लोकसेवाबाट शाखा अधिकृत २०४७,
खुलाबाट सहसचिव २०६७,
नेपाल सरकारको सचिव २०७७ ।
२०४७ सालमा खुला प्रतियोगिताबाट लोकसेवा पास गरेर शाखा अधिकृत बन्नु भएको मानवहादुर बीके २०५४ सालमा सरकारको स्वीकृतिमा उच्च शिक्षाका लागि विदेश जानुभयो तर फर्कीदा सरकारले हाजिर गराएन। त्यसैको लागि सरकारसँग करिव ७ बर्ष मुद्दा लडेर २०६६ सालमा सरकारसँग मुद्दा जित्नुभयो ।
२०६७ मा खुलाप्रतिष्पर्धाबाट सहसचिव हुन सफल भई दलित समुदायको तर्फबाट पहिलो पटक सिडिओ बनेर जिल्ला हाँक्ने अवसर पाएका प्रशासक हुनुभयो । २०७७ मा नेपाल सरकारको विशिष्ट श्रेणीको सचिव बनेर दलित समुदायको पहिलो सचिव बन्ने अवसर मिल्यो ।
सम्भवत बीके दलित समुदायबाट प्रशासन समुहको पहिलो शाखा अधिकृत, सिडिओ, सचिव र दलित समुदायको तर्फबाट त्रिभुवन विश्वविध्यालयबाट विद्यावारिधि गर्ने नेपालका प्रथम रत्न पनि हुनुहुन्छ । मानबहादुर बहुआयामिक प्रशासक हुनुहुन्छ । क्याम्पस अध्ययनरत रहँदै ‘जनउत्थान मासिक’ पत्रिका र ‘दलित सोलिडारिटी’ अंग्रेजी बुलेटिनको प्रधान सम्पादक बनेर काम गरेको अनुभव बटुल्नु भएका अनुसन्धानमुलक जर्नलको सम्पादक समुहमा संलग्न भएर काम गर्दै आउनु भएको छ । जतिबेला नेपालमा नेपालीले लेखेको नेपाली भाषाको एमबीएस र एमबिएको किताव उपलब्ध हुँदैनथ्यो । आफू पढ्दाको असहजतालाई सम्झेर उहाँले क्याम्पसका कोर्स र अनुसन्धानमा आधारित २ दर्जन किताव प्रकाशित गर्नु भयो ।
मान बीके साहित्यमा गहिरो लगाव राखेर साधनारत श्रष्टा पनि हुनुहुन्छ । कविता कथा लेख्न मन पराउने उहाँका ‘मान्छे र माटो’ कविता सङ्ग्रह प्रकाशित छ । कथा संग्रहको बजारमा आउने तयारीमा छ । मान सरले साहित्यमा आफ्नो नाम ‘बीके सेवक’ राख्नु भएको छ । प्राथमिक शिक्षकबाट प्राध्यापन सुरू गर्नु भएका बीके सरकारी सेवामा जता गए त्यतै प्रध्यापन कार्यमा पनि संलग्न रहनु भयो । २०४७ सालदेखि नै आंशिक रुपमा प्रध्यापन गर्न थाल्नु भएको थियो । सरकारसँग मुद्दा लड्दाको अवधीमा पूर्णकालिन प्रध्यापनमा संलग्न हुनुभयो ।
सन २०१६/१७ का लागि अमेरिकी सरकारले संचालन गरेको फूलब्राइट प्रतिष्पर्धामा उत्तरविध्यावारिधीको लागि अमेरिकामा खाध्य सुरक्षामा अनुसन्धानरत रहदा त्यहाँका विश्वविध्यालयमा समेत प्राध्यापन गर्ने मौका पाउनु भएको थियो । अध्ययन अध्यापन उहाँको विशेष रूचीको क्षेत्र हो जसलाई अवकासप्राप्त हुँदा पनि छाड्नु भएको छैन, बररू झन पूर्ण रूपमा संलग्न हुनुहुन्छ । हाल अमेरिकाको एकामाई विश्वविध्यालयका अर्थशास्त्रका प्राध्यापक हुनुहुन्छ । कोरोना महामारीले गर्दा नेपालमै बसेर विधुतीय माध्यमबाट प्रध्यापन गर्ने सुविधा पाएकोबेला उहाँले मुलुकमै बसेर अन्य विभिन्न अभियानमा संलग्न हुने मौका पाउनु भएको थियो । हाल कोरोना कहर मत्थर हुदै जादा उहाँलाई उतै जानु पर्ने अबस्थाको चापले भने थिच्दै गएको छ,तर आफूले चालेका अभियानहरु चटक्क छोडेर यो उमेरमा उता जान उहाँलाई पटक्कै मन छैन रे ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय सङ्घ संस्थामा परामर्शदाता भएर काम गरेको अनुभव पनि बीकेसँग रहेको छ । पत्रपत्रिकामा समसामयिक,आर्थिक, सामाजिक विषयसम्बद्द लेख रचना प्रकाशित गरिरहनु पनि बीकेको अर्को विशेषता हो । गाउँ घरमा बसेर गाईवस्तु चराउने काम हुँदै हजुरवुवासँग आरनमा बसेको, गोल काट्न बन गएको, आफूले तयार गरेका भाडा वर्तन बेच्न तानसेन सहर पुगेको देखि प्रशासक भएर जिल्ला हाँक्दै मन्त्रालयको सचिव भएर सिंहदरबार हुँदै अमेरिकी विश्वविद्यालयको प्राध्यापक समेत भएको दुख सुखका उकाली ओरालीका अनगिन्ति संस्मरण पीडा, हर्ष र विस्मातका कथा र व्यथाहरू छन् उहाँसँग ।
हवाई विभागमा कार्यरत रहँदा काठमाडौँको थापागाउँबाट दलित भनेर डेराबाट अपमानपूर्वक निकालिएको आत्मसम्मानमा लागेका चोटका डोबहरू छन् । काठमाडौँले सामान्य मान्छे मात्र होइन दलित भनेर थाहा पाएपछि सांसद, न्यायाधीश र मन्त्रीलाई समेत डेराबाट निकालेको उदाहरण छन । दलित भनेर थाहा पाएपछि विभेदमा परिने त्राशका असंख्य मनोदशा र अव्यक्त पीडाका क्षणहरू अहिलेका दलित युवाहरुमा बग्रेल्ती छन् । निजामति सेवामा रहदा पनि विभिन्न तरिकाका विभेदजन्य व्यवहार भोग्नु परेको र कतिपय कर्मचारी साथीभाईहरूले अप्रत्यक्ष रूपमा गरेका विभेदका किस्साहरू सङ्ग्रहित छन् उहाँसँग । सेवाको अवधिमा सरुवा बढुवाजस्ता सामान्य प्रकृयागत कुरामा पनि कास्ट पेनाल्टीले मानसिक रूपमा डामेका घाउहरू पुरिएका छैनन् ।
एउटा पेचिलो कुरा त्रिभुवन विश्वविद्यालयले युवा पुस्तामा ज्ञानको पुनरुत्पादन र विभेदको पुस्तान्तरण कसरी गर्ने गरेको छ मान बिकेले हालै सुर्खेतमा भएको कर्णाली उत्सवमा मार्मिक ढङ्गले चित्रण गरेका छन्। केही समयअघि किरण गौतमले हिमाल पत्रिकामा ‘ज्ञानमा जातसत्ता’भन्ने आलेखमा दलितको विषय राखेर विद्यावारिधिको लागि अनुसन्धान प्रस्ताव राखेको तर सम्बन्धित विभागका प्राध्यापकले कन्टेन्ट नै नहेरी ठाडै अस्वीकार गरेको र पछि शीर्षक फेरेर मात्र प्रस्ताव स्वीकार गरेको घटनाले हाम्रा ज्ञान सत्ता कसको हातमा छ भन्ने स्पष्ट पार्छ ।’
बीके सुनाउनुहुन्छ- “त्रिभुवन विश्वविद्यालयले स्वर्ण जयन्ती मनाइ रहेको बेला त्यहाँको अभिलेखमा कुनै पनि दलित समुदायको व्यक्तिले त्यतिबेलासम्म विद्यावारिधिको उपाधि लिएको रेकर्ड थिएन । मैले ‘सामाजिक समावेशीकरण’ शीर्षकमा अनुसन्धान सकेको थिएँ । मलाई लागेको थियो मेरो यो उपाधिमा विश्वविद्यालयले गर्व गर्नेछ, तर त्यसो भएन बरु धेरै दुख पाइयो। अझै चाख लाग्दो कुरा त अनुसन्धान समितिले विध्यावारिधीको उपाधि स्वीकृत गरिसकेपछि प्रोभिजिनल सर्टिफिकेट लिन जाँदा पाएको मानसिक र बौद्दिक पीडा अवर्णनीय छ । किरणको त शीर्षक मात्रै दलित थियो बदल्न सकिने तर म त अनुसन्धानकर्ता नै दलित थिएँ बदल्नै नसकिने !”
आक्रोश र पीडा मिसिएको भावमा बीकेले व्यक्त गरेका विचारहरूले हाम्रो प्राज्ञिक क्षेत्रको वैचारिकीलाई सङ्केत गर्छ । अहिले पनि यस्ता विषय र समुदायका अध्येताहरुप्रति उच्चशिक्षा प्रदायक/ज्ञान उत्पादक निकायहरूको वक्र दृष्टि रहेको पाइन्छ । ज्ञान उत्पादन केन्द्रमा पुरातन वर्श्स्वशालीकै हालीमुहाली रहुन्जेल सीमान्तकृत समुदायलाई हेर्ने दृष्टिकोण र उनिहरुका सवालप्रति बदलाव आउन सक्दैन । सामान्य मान्छेले गर्ने विभेद भन्दा ज्ञान निर्माणको थलोमा बसेर गर्ने विभेदका घटनाले देशलाई घातक नोक्शानी गराउँछ ।
अमेरिकाको ब्राण्डाइज विश्वविद्यालयबाट ‘खाद्य सुरक्षा’ मा उत्तर विद्यावारिधि उपाधि लिएका मान बिकेले त्रिभुवन विश्वविद्यालयबाट ‘लघुवित्तमा समावेशीकरण’ शीर्षकमा विद्यावारिधि गर्नु भएको छ । त्यस अतिरिक्त भारतको कानपुरबाट चार्टड एकाउन्टेन्ट कोर्स पनि गर्नु भएको छ । देश विदेश घुमेर अध्ययन अनुसन्धानमा सक्रिय छन् । लामो समय प्रसासनिक सेवामा रहेर पनि कहिल्यै कतै बदनाम र आर्थिक हिनामिनामा मानसरको नाम मुछिएको पाइन्न ।
बेदाग एउटा इमानदार प्रसाशकको छवि राख्न सफल बीके हाम्रा केटाकेटीको वालापन जोगाउन नसक्दा हाम्रो भविष्य पनि जोगाउन मुश्किल हुन्छ त्यसैले ‘वालापनको संरक्षण’ अभियानमा उनको रूचीसाथ लाग्नु भएको छ । निवृत्त भए पछि उनि रैथाने, सीप, कला, हरित उद्धमशीलता र संस्कृतिलाई आकर्षण पुनरुत्थान विकास र अनुसन्धानमा अग्रसर भएर लाग्नु भएको छ । उहाँ रैथाने शिल्पकला तथा सम्पदा प्रतिष्ठानका अध्यक्ष हुनुहुन्छ । हालै सरकारले पाँच सदस्यीय रैथाने विश्वविद्यालय स्थापना सम्बन्धी सम्भाव्यता अध्ययन समिति बनाएको छ,जसको संयोजक बीके हुनुहुन्छ । तल्लो तप्कासम्म वित्तीय पहुच पुर्याउन उहाँले लघुवित्तको नयाँ ढाँचा नै तयार गर्नु भएको छ, जसलाई अन्तराष्ट्रिय स्तरमा लघुवित्तको तेस्रो पुस्ताको ररूपमा चिनिन्छ। सन् २००८ मा नेपालमा पनि लघुवित्त बारे छलफल गर्न लघुवित्त सम्मेलनको अवधारणा ल्याई शुरु गराउनुभएको उहाँले त्यही समय देखि समुदायमा आधारित लघु बैङ्किङ वा सामाजिक बैङ्किङको वकालत गर्दै आउनु भएको छ जुन अहिले एकदम सान्दर्भिक देखिन्छ।
नेपालमा आजपर्यन्त जातीय छुवाछुतजस्तो अमानवीय प्रथा जीवित रहनुमा राज्य संचालक र नीति निर्माताको तहमा हुनुपर्ने जति संवेदनशीलता नभएर हो । सिमान्तकृत दलित समुदायको समस्या देशले मेरो समस्या हो भने ग्रहण गर्न नसकेर पनि हो । समाज मनोविज्ञान र धर्म संस्कृतिमा व्यापक सुधार सहित जातीय छुवाछुत र भेदभाव निर्मुल गर्न विशेष हस्तक्षेपकारी भूमिका राज्यले खेल्नुपर्ने वहाँको सुझाव छ । राज्य संयन्त्रका उच्च तहमा पुगेका व्यक्तिहरु समेतलाई दलित समुदायको हुनको कारण काठमाडौँ डेरा दिन मान्दैन तसर्थ आर्थिक सवलिकरण र पद मात्र पनि समानताको सूचक होइनन् भनेर बुझ्न सकिन्छ । यद्दपि आर्थिक सवलीकरण विभेद निर्मुलीकरणको महत्वपूर्ण पाटो हो । आर्थिक साँस्कृतिक, राजनीतिक, धार्मिक र मनोवैज्ञानिक सबै पक्ष समेटेर जातीय विभेद विरुद्द नेपाल र विशेष गरी दक्षिण एशियाका देशहरू भारत, भुटान, म्यान्मार लड्नु आवश्यक देखिन्छ ।
आफ्नै बल बुता प्रदर्शन गरेर भुइँबाट यहाँसम्मको सफल यात्रा गरेका बिके नेपाली समाजले गौरव गर्ने पात्र हुन् । नेपाली समाजका लागि एक रोल मोडेल हुन् । मानसरको बृहत अनुभव, दक्षता, सीप र इमान देशले भरपुर उपयोग गर्न सकेमा उहाँको ज्ञान र अनुभव अझ पुरस्कृत पनि हुन्थ्यो र देशले अझै धेरै लाभ लिन सक्थ्यो ।