भिसा थप वा परिवर्तनका लागि निश्चित आवेदकको बायोमेट्रिक छुट विस्तार, भविश्यमा सबैलाई छुट
प्रकाशित मिति : बैशाख ६, २०८० बुधबार
युएससीआईएसले गैर आप्रवासी भिसा थप वा परिवर्तनका लागि फारम आई ५३९ दाखिल गर्ने निश्चित आवेदकहरूले बायोमेट्रिक दिन नपर्ने व्यवस्था विस्तार गरेको छ । एचफोर, एल टु र ई भिसाका लागि स्टाटस परिवर्तन वा ती भिसाका लागि अवधि थपको आवेदन दिनेहरुलाई बायोमेट्रिक छुटको व्यवस्था विस्तार गरिएको हो ।
यस अगाडि यो छुट आगामी मे १७ का लागिमात्र रहेकोमा अब सेप्टेम्बर ३० सम्म थपिएको छ। ती श्रेणीमा पर्नेहरुलाई फिंगरप्रिन्ट र फोटो नखिचिकनै बायोग्राफिक जानकारी र सम्बन्धित पृष्ठभूमि जाँचहरूको आधारमा अगाडि बढ्न अनुमति दिने युएससीआईएसले जनाएको छ ।
कुनै पनि आवेदकका लागि बायोमेट्रिक्स आवश्यक पर्ने भएमा केसका आधारमा निर्णय गर्ने पनि युएससीआईएसले प्रष्ट पारेको छ । आवश्यक परेमा आवेदकहरूलाई बायोमेट्रिक्स पेश गर्नको लागि एप्लीकेशन सर्पोट सेन्टरमा अपोइन्टमेन्टको लागि मिति निर्धारित हुन सक्छ।
बायोमेट्रिक्स छुटको मापदण्ड पूरा गर्ने आवेदकले छुट अवधिमा ८५ डलर बायोमेट्रिक सेवा शुल्क बुझाउनु पर्दैन। आवेदन र बायोमेट्रिकको अलग अलग शुल्क पठाएमा बायोमेट्रिक सेवा शुल्क फिर्ता गर्ने तर योग्य व्यक्तिले आवेदन र बायोमेट्रिकको एउटै शुल्क पठाएमा भने आवेदनहरू अस्वीकार गरेर सबै शुल्क फिर्ता गर्ने युएससीआईएसले जनाएको छ ।
यदि आवेदकले बायोमेट्रिक्स सेवा शुल्क समावेश गरेका कारणले युएससीआईएसले कागजी आवेदन अस्वीकार गरेमा आवेदकले बायोमेट्रिक सेवा शुल्क बिना आवेदन पुन फाइल गर्नुपर्नेछ। आगामी महिनाहरूमा सबै भिसा थप र परिवर्तनका आवेदकहरूको लागि स्थायीरुपमा बायोमेट्रिक्स छूट स्थापना गर्ने योजनामा रहेको युएससीआईएसले जनाएको छ ।