७०% को जनमत विपरित ८० बर्षका बाइडेनले मंगलबार दोश्रो कार्यकालका लागि उम्मेदवारी घोषणा गर्दै


प्रकाशित मिति : बैशाख ११, २०८० सोमबार

राष्ट्रपति जो बाइडेनले यस हप्ता दोस्रो कार्यकालका लागि औपचारिक रूपमा उम्मेदवारीको घोषणा गर्ने तयारी गर्दैछन्। उनले मङ्गलबार यसबारे गर्ने घोषणाको भिडियोमा अन्तिम सम्पादनहरू गरिएको जनाइएको छ ।

बाइडेनले २०२० को राष्ट्रपतिको चुनावमा आफूलाई उम्मेदवार घोषणा गरेको चार वर्षपछि दोश्रो कार्यकालका लागि उम्मेवारी घोषणा गर्न लागेका हुन् । डेमोक्र्याटिक सांसदहरू उनको अभियानको वरिपरि एकताबद्ध हुन तयारी गर्दै गर्दा सर्वेक्षणहरूले भने उनको पुनस् चुनावको दौडको लागि समर्थन गरेका छैनन् ।

आइतवार सार्वजनिक गरिएको एनबीसी न्यूजको सर्वेक्षणले ८० वर्षको उमेरमा बाइडेनले दोस्रो कार्यकालका लागि राष्ट्रपतिको रूपमा उम्मेदवारी दिनुपर्ने पक्षमा २६ प्रतिशत अमेरिकीहरूमात्र छन् । जबकि ७० प्रतिशतले बाइडेनले उम्मेदवारी दिन नहुने बताएका छन् ।

डेमोक्र्याटहरू मध्येपनि ५१ प्रतिशतले बाइडेनले दोस्रो कार्यकालको लागि चुनाव लड्नु नहुने मत जाहेर गरेका छन् । यसले हालैका अन्य सर्वेक्षणहरूको निष्कर्षलाई पनि प्रतिबिम्बित गर्दछ, जसमा शुक्रबार जारी गरिएको एपीएनओआरसी सर्वेक्षण र यस महिनाको सुरूमा जारी गरिएको सीएनएन मतदान समावेश छ। एनबीसी पोलमा बाइडेनको उम्मेदवारीको विरोध गर्नेहरू मध्ये झन्डै आधाले उनको उमेर उद्धृत गरेका छन् ।

बाइडेनले आफ्नो पुन: चुनाव अभियानको व्यवस्थापन गर्न वेष्ट विंगका वरिष्ठ अधिकारी र लामो समयदेखि डेमोक्र्याटिक पार्टी कार्यकर्ता जुली चाभेज रोड्रिग्वेजको नाम राख्ने तयारी गरेका छन् । चाभेज रोड्रिग्वेजले हाल राष्ट्रपतिको वरिष्ठ सल्लाहकार र सहायकको रूपमा काम गर्दै आएकी छिन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com