टेक्सासमा युनाइटेड एयरलाइन्सका २ विमानमा २० मिनेटको अन्तरमा चरा ठोक्किएपछि फिर्ता
प्रकाशित मिति : बैशाख १४, २०८० बिहीबार
टेक्सासको ह्युस्टनबाट मंगलबार राति प्रस्थान गरेका युनाइटेड एयरलाइन्सका दुई उडानहरू चराहरूसँग ठोक्किएपछि दुबै उडानहरू जर्ज बुश इन्टरकन्टिनेन्टल एयरपोर्टमा फर्किन बाध्य भएका छन् ।
युनाइटेड एयरलाइन्सको उडान ८४७ सान्टियागो, चिली जाँदै थियो, जसमा राती ८ बजेर ५० मिनेटमा दायाँ पखेटामा चरा ठोक्किएको रिपोर्ट गरियो । त्यसको केवल २० मिनेट पछि लस भेगासको लागि उडेको युनाइटेड एयरलाइन्सको उडान २०८६ मा राति ९ बजेर १० मिनेटमा चरा ठोक्किएको थियो ।
मङ्गलबार साँझ जर्ज बुस इन्टरकन्टिनेन्टल एयरपोर्टबाट छुट्ने दुई अलग उडानहरू चराको प्रहारका कारण एयरपोर्टमा फर्किएको र दुबै उडानहरू सुरक्षित रूपमा अवतरण गरिएको तथा यात्रुहरुलाई अन्य विमानहरूमा पुन समायोजन गरिएको युनाइटेडले एक विज्ञप्तिमा बताएको छ ।
उड्डयन विश्लेषक मेरी शियाभोले चराहरूको सख्या बृद्धिका कारण ठोक्किने क्रम बढेको बताइन् । गत वर्ष १७,००० चराहरू ठोक्किएका घटना भएका थिए । यस्ता घटनामा सामान्यतया मानिसहरूलाई चोट लाग्दैन र पाइलटहरूलाई के गर्ने थाहा हुन्छ । प्राय तिनीहरू एयरपोर्टमा फर्किन्छन्।
यस वर्ष मात्रै अमेरिकामा लगभग चरा ठोक्किने २ हजार घटनाहरु भइसकेका छन् । जसमध्ये ८५ प्रतिशत व्यावसायिक एयरलाइन्स छन् । अधिकांश चराहरु जलपक्षी रहेपनि कहिलेकाहीँ चील जस्ता चराहरू पनि ठोक्किने गरेका छन् ।
धेरै जसो चरा ठोक्किने घटना दिनको उज्यालो समयमा हुन्छ तर लगभग एक तिहाइ घटनाहरु भने रातको समयमा पनि हुने गरेका छन् । रातीमा विमानमा ठोक्किनेहरु अधिकांश निशाचर प्रजातिका हुन् ।
विमानमा चरा ठोक्किने घटना नौलो होइन । चरा ठोक्किएका कारण फिनिक्सका लागि उडेको एउटा अमेरिकन एयरलाइन्सको विमान आइतवार बिहान कोलम्बस ओहायोमा एयरपोर्टमा फर्किन बाध्य भयो । उक्त विमानको इन्जिनमा आगो लागेको थियो ।
त्यस्तै आइतबार नै वुल्फ्सबर्गमा च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लिगको खेलपछि रिपब्लिक अफ आयरल्यान्डका कप्तान केटी म्याककेबसहित आर्सनलको महिला टोलीलाई लन्डन फर्काउने विमानको इन्जिनमा चरा ठोक्किदा आगलागी भएको थियो। जर्मनीको ब्राउनस्विग वल्फ्सबर्ग विमानस्थलको धावनमार्गमा जादै गर्दा चरा ठोक्किएपछि बोइङ ७३७ को इन्जिनबाट आगो निस्किएको थियो भने ठूलो आवाज आएको थियो ।
रातमा आफूलाई अझ बढी देखिने बनाउन र चराहरू ठोक्किने जोखिम कम गर्न केही विमान निर्माताहरूले तिनीहरूको मानक सञ्चालन प्रक्रियाको भागको रूपमा विमानमा बत्तीहरू प्रयोग गर्न सिफारिस गर्छन्। ग्रीष्म र शरद ऋतुमा जवान चराहरू गुँड उडाउने र मौसम चिसो भएपछि मौसमी बसाइँसराइको कारणले गर्दा चराहरूको सङ्ख्यामा पनि थोरै वृद्धि हुन्छ, जसले गर्दा उक्त समयमा चराहरु ठोक्किने जोखिम अझ बढी हुन्छ ।
अमेरिकाको फेडरल एभिएसन एडमिनिस्ट्रिेशनका अनुशार न्युयोर्क एयरपोर्टहरूमा जनवरी २०२१ देखि जनवरी २०२२ सम्ममात्र ४९३ पशुपंक्षीहरु विमानमा ठोक्किएका घटनाहरू रिपोर्ट गरिएका थिए। त्यो प्रति दिन एक भन्दा बढी हो । सन् २०१९ मामात्र अमेरिकामा ७५३ विमानस्थलहरुमा १७ हजारभन्दा धेरै विमानमा पशुपंक्षी ठोक्किएका घटना भएका थिए । अमेरिकामा सन् १९९० देखि सन् २०१९ सम्म २ लाख २७ हजार यस्ता घटनाहरु भएका छन् ।
५३ प्रतिशत चरा ठोक्किने घटना जुलाईदेखि अक्टोबरको बीचमा हुने गरेका छन् । त्यस्तै ६३ प्रतिशत चरा ठोक्किने घटना दिनको समयमा हुने गरेका छन् भने २९ प्रतिशत चरा ठोक्किने घटना रातीको समयमा हुने गरेका छन् । ८ प्रतिशत घटना प्रभात वा सन्ध्याको समयमा हुने गरेका छन् । ६१ प्रतिशत घटना विमान अवतरणको बेलामा र ३६ प्रतिशत घटना उडानको बेलामा हुने गरेका छन् । जबकी ३ प्रतिशत घटना विमान उडिरहेको बेलामा हुने गरेका छन् ।
सन् १९८८ देखि १९९९ सम्म विश्वभर चरा ठोक्किएका कारण भएका दुर्घटनामा २९२ जनाको मृत्यु भएको छ भने अमेरिकामामात्र ३२७ जना घाइते भएका छन् । पशुपंक्षी ठोक्किएका कारण २०१९ सम्म २७१ विमानहरु क्षतिग्रस्त भएका छन् । पशुपंक्षी ठोक्किने घटनामा अमेरिकामा ९७ प्रतिशत चरा ठोक्किने घटना भएपनि ३ प्रतिशत रनवेमा अन्य जनावर ठोक्किने घटना पनि भएका छन् ।
विमानका प्रोपेलरहरू पहिले नै अभूतपूर्व गतिमा घुमिरहेका हुन्छन् । र तिनीहरू घुम्ने क्रममा संरचनात्मक झटकाहरू लिन डिजाइन गरिएका छैनन्। चरा ठोक्किदा इन्जिन लोड गर्न, पिस्टन रडहरू झुकाउन वा प्रोपेलरलाई पूर्ण रूपमा तोड्न सक्छ।