ह्यारी भण्डारीले ल्याएको दुबै सदनबाट पारित दशैं बिलमा मेरिल्याण्डका गभर्नरबाट हस्ताक्षर, दशैंबारे पढाइ समेत हुने
प्रकाशित मिति : बैशाख २१, २०८० बिहीबार
मेरिल्याण्ड राज्यको दुवै सदनले पारित गरेको दशैं विधयेकमा गभर्नर वेज मूरले हस्ताक्षर गरेका छन् । बुधबार आयोजित एक समारोहमा विधयेकमा हस्ताक्षर गरिएपछि अब राज्यको कानुनमा दशैंलाई मान्यता दिइएको छ भने दशैं विधयेकबारे विभिन्न शिक्षण संस्थाहरुमा समेत पढाइ हुने भएको छ । हस्ताक्षर समारोहमा डेलिगेट ह्यारी भण्डारीसहित नेपाली समुदायका व्यक्तिहरुको पनि उपस्थीति रहेको थियो ।
राज्य संसदको ४४६ औ सेसनले पारित गरेको हाउस विल ०९६७ ले हिन्दु नेपालीहरुको चाड दशैंलाई कोमोमोरिटिभ मान्यता दिएको छ ।मेरिल्याण्डका राज्य सांसद हयारी भण्डारीले हाउसको तल्लो सदनमा यो बिल पेश गरेका थिए । त्यसपछिको भण्डारीको लविङ र अथक प्रयासपछि विधयेक पारित हुन सफल भएको थियो ।
संसदका अघिल्ला सेसनमा पनि विधयेक पेश गरिएको थियो । तर पारित हुन भने सकेको थिएन । यस अगाडि मेरिल्याण्ड राज्यका सिनेटर तथा अमेरिकी पूर्व राष्ट्रपति विल क्लिन्टनबाट रोमानियाका लागि राजदूत नियुक्त रोजा पेपेले दशैं विधयेक सिनेटमा प्रस्तुत गरेपनि अगाडि वढन भने सकेको थिएन ।
यस पटकको अधिवेशनमा भण्डारीले पुन विधयेक पेश गरेपछि तल्लो सदनले पारित गरे लगत्तै विभिन्न उपसमिति,समितिमा गहनतम छलफल र विभिन्न व्यक्तिहरुले विधयेक माथि टिप्पणी गरेका थिए । यसका केही आलोचकहरुले दशैंमा पशुको वध गरिने भन्ने विधयेकको विरोध समेत गरेका थिए । गभर्नरको हस्ताक्षरपछि अब दशै विधयेकले कानूनी मान्यताका साथ कार्यान्वयनमा गएको छ ।
यो विधयेकको लागि डेलिगेट भण्डारीले सन् २०१९ देखि नै कडा मेहनत गरेका थिए । तर मेरिल्याण्ड राज्यले यस्ता साँस्कृतिक महत्व वोकेको विधयेक पारित गराउन वर्षो वर्ष सम्म लगाउने ईतिहास रहेको छ । यो विधयेकपनि एजुकेशन, ईन्भारोमेन्ट र ईनर्जी समितिमा त्यत्तिकै अडकेर वसेको थियो ।
गत नोभेम्वर महिनामा दोश्रो कार्यकालमा विजयी भएपछि भण्डारीले १० फरबरी २०२३ मा यो विल प्रस्तुत गरे । दर्जन प्रक्रिया पूरा गरेपछि राज्य संसदको हेल्थ एण्ड गभर्नमेन्ट अपरेशन कमिटिले यसलाई मार्च १० तारिखको दिन पारित गरेको थियो । त्यसपछिको हाउसको वैठकले यो विधयेक पारित गरेको थियो ।
हाउसवाट विधयेक पारित भईसकेपछि मेरिल्याण्ड राज्यको संयुक्त सदनमा अमेरिकी प्यासिफिक आईल्याण्डर्स समूहको ककशमा अध्यक्ष समेत रहेका भण्डारीले सिनेटरहरुसँग छलफल र यसको महत्व वारेमा अहोरात्र खटेर जानकारी गराए । साथमा सिनेट प्रेसिडेन्ट विल फार्गशन र सिनेटमा वरिष्ठ व्यक्तित्वहरुसँग समेत निरन्तर सम्वाद र छलफल पश्चात सिनेटवाट मार्च २० तारिखको दिन यसलाई पारित गराउन सफल भएका थिए ।
यो विधयेकमा दशैं नेपालमा उत्पत्ति भएको र यसलाई दक्षिण एशियाली देशहरुका केही भागमा र विश्व भरि छरिएर रहेका दक्षिण एशियाली मूलका व्यक्तित्वहरुले मनाउने उल्लेख छ । साथै घटस्थापना देखि कोजाग्रत पूर्णिमा सम्म १५ दिन सम्म यो चाड मनाईने उल्लेख छ । यो चाडले विश्व भातृत्वलाई अपनत्व गर्दे संस्कृत शब्द वसुधैव कुटुम्बकम को भावनालाई आत्मसात गर्ने तथा यो साँस्कृतिक महत्व वोकेको चाड भएको विधयेकमा उल्लेख छ ।
महान चाड वडा दशैले शरद ऋतुको मनोरम र आकर्षक मौसमलाई सम्बोधन गरेको हुन्छ । यसै सिलसिलामा एउटा दिन तोक्न पर्ने भएको कारणले अक्टोवर ५ लाई तोकेर विधयेक प्रस्तुत गरिएको हो । यसलाई कालान्तरमा अरु विधयेक जस्तै परिवर्तन गर्न सक्ने व्यवस्था छ ।
विश्व भाईचारा र आत्मीय भावना जागृत गराउने वडा दशैं पर्वलाई मेरिल्याण्ड राज्यले पारित गरेकाले अव हरेक वर्ष अक्टोवर ५ तारिखको दिन मेरिल्याण्ड राज्यका गभर्नरले एक घोषणा पत्र जारी गर्नेछन् । मेरिल्याण्ड राज्यमा हाईस्कूल तहमा अमेरिकाको ईतिहास अध्ययन गर्दा मेरिल्याण्ड जनरल एसेम्वलीको समेत अध्ययन हुने भएकाले यस सम्वन्धि अध्ययन गर्ने भावी पुस्ताले समेत दशैं पर्वको वारेमा जानकारी हासिल गर्न सक्नेछन् ।
मेरिल्याण्डको पव्लिक स्कुल सिष्टममा यो दिन विदा माग्ने प्रक्रियाको लागि अभिभावकले आफनो काउन्टीको स्कूल सिष्टममा अनुरोध गर्न सहज हुनेछ । भण्डारीको पहलमा यस अगाडि नै वाल्टिमोर काउन्टीको पव्लिक स्कुल सिष्टममा दिपावलीको अवसरमा विद्यार्थीहरुलाई विदा दिने व्यवस्था गरिएको हो ।
ठूला ठूला विश्वविद्यालयहरुमा एशियन स्टडी गर्नेहरुको लागि समेत समन्वय र सहकार्य गर्न मद्दत पुग्ने तथा यो एउटा सांस्कृतिक कुटनीतिका लागि समेत आधार निर्माणको लागि ढोका खोल्ने माध्यम बन्नसक्ने भण्डारीले बताएका छन् ।
सबै तस्वीर: जो एंड्रुकिक / प्याट्रिक सिबर्ट, मेरिल्याण्ड गभर्नरको कार्यालय