१६ बर्षदेखि ग्रिनकार्डको प्रतिक्षा, परिवारमा आधारित ग्रिनकार्ड पाउन लाग्ने अवधि अझै बढ्यो
प्रकाशित मिति : बैशाख ३१, २०८० आईतबार
परिवारमा आधारित सबै श्रेणीका ग्रिनकार्ड पाउन लाग्ने अवधि मे महिनाका तुलनामा जुन महिनामा एकमहिना थपिएको छ । अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जुन महिनाको भिसा बुलेटिन जारी गर्दै ग्रिनकार्ड जारी हुने मिति मे महिनाकै कायम राखेको हो ।
ग्रिनकार्ड पाउने मिति २०२१ को सेप्टेम्बरदेखि नै जस्ताको तस्तै रहँदा परिवारमा आधारित श्रेणीका ग्रिनकार्डका लागि लाग्ने अवधि बढेको बढ्यै छ । ग्रिनकार्ड पाउनका लागि २०२१ को सेम्टेम्बरमा जुन मिति कायम थियो अहिले पनि त्यही मिति कायम छ ।
जसको अर्थ परिवारमा आधारित विभिन्न श्रेणीको ग्रिनकार्ड पाउने लाग्ने समय र अमेरिकामा नै हुनेहरुले फाइल गर्नका लागि लाग्ने सन् २०२१ को सेप्टेम्बरको तुलनामा १९ महिना बढेको छ । अमेरिकी नागरिकका २१ बर्ष काटेका अविवाहित छोराछोरी, ग्रिनकार्डवाहकका २१ बर्ष काटेका अविवाहित छोराछोरी, अमेरिकी नागरिकका विवाहित छोराछोरीहरु र अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुका सन्दर्भमा ग्रिनकार्ड पाउने मितिमा कुनै फेरवदल नभएको हो ।
ग्रिनकार्ड बाहकका दम्पत्ति र २१ बर्ष नकाटेका छोराछोरीका सन्दर्भमा भने भिसा करेन्ट रहेको छ । साथै उनीहरुले ग्रिनकार्ड पाउने मिति पनि करेन्ट रहेको छ । जसको अर्थ अमेरिकाबाहिर रहेका ग्रिनकार्ड बाहकका दम्पत्ति र २१ बर्ष नकाटेका छोराछोरीका सन्दर्भमा नेशनल भिसा सेन्टरले भिसा करेन्ट हुने मिति प्रतिक्षा नगरी सिधै प्रकृया अगाडि बढाउँछ । अमेरिकाभित्रै हुने ग्रिनकार्ड बाहकका दम्पत्ति र २१ बर्ष नकाटेका छोराछोरीका सन्दर्भमा आई १३० फर्मका साथमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गरेर वर्क परमिट र ट्राभल डकुमेन्ट प्राप्त गर्नसकिन्छ । साथै अध्यागमन स्टाटस जोगाउने झन्झट पनि हुँदैन ।
जुन महिनाको भिसा बुलेटिन अनुशार अमेरिकी नागरिकका २१ बर्ष काटेका अविवाहित छोराछोरीले ग्रिनकार्ड पाउन लाग्ने अवधि ८ बर्ष ६ महिना पुगेको छ । ग्रिनकार्डवाहकका २१ बर्ष काटेका अविवाहित छोराछोरीका लागि ग्रिनकार्ड पाउन लाग्ने अवधि पनि ७ बर्ष ९ महिना पुगेको छ । अमेरिकी नागरिकका विवाहित छोराछोरीहरुले ग्रिनकार्ड पाउन लाग्ने अवधि १४ बर्ष ७ महिना पुगेको छ भने अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुका सन्दर्भमा ग्रिनकार्ड पाउन लाग्ने अवधि १६ बर्ष ३ महिना पुगेको छ ।
अमेरिका भित्र हुनेहरुका लागि भने अमेरिकी नागरिकका २१ बर्ष काटेका अविवाहित छोराछोरी र ग्रिनकार्डवाहकका २१ बर्ष काटेका अविवाहित छोराछोरीको सन्दर्भमा १ जनवरी २०१७ भन्दा अगाडि प्राथमिकता मिति हुनेले मे महिनामा ग्रिनकार्ड आवेदन दिन सक्नेछन् । अमेरिकी नागरिकका विवाहित छोराछोरीहरुका सन्दर्भमा ८ फरबरी २०१० भन्दा अगाडि प्राथमिकता मिति हुनेले मे महिनामा ग्रिनकार्ड आवेदन दिन सक्नेछन् भने अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुका सन्दर्भमा १ फरबरी २००८ भन्दा अगाडि प्राथमिकता मिति हुनेले मे महिनामा ग्रिनकार्ड आवेदन दिन सक्नेछन् । नेशनल भिसा सेन्टरले पनि सोही आधारमा भिसा प्रकृया अगाडि बढाउनेछ ।