टेक्सास ग्यास स्टेशनमा कामबाट फर्कदा गोली लागी घाइते नेपालीको हातको हड्डी क्षती, सहयोगको अपिल
प्रकाशित मिति : असार १०, २०८० आईतबार
टेक्सासको ग्यास स्टेशनमा काम गरेर फर्कदा गोली लागी घाइते नेपाली युवा दिपेन्द्र जोशीको एउटा हातको हड्डी क्षतीग्रस्त भएको र अझै चारपाँच महिना आराम गर्नुपर्ने अवस्था रहेको जोशीको परिवारले जनाएको छ । परिवारका तर्फबाट गोफण्डमीमा सहयोगको अपिल गर्दै सुरु गरिएको आर्थिक अभियानमा श्रीमानको दायाँ हातको हड्डी पूर्ण रुपमा क्षती भएको श्रीमती तनुजा विनाडीले जनाएकी छिन् ।
आफू र श्रीमान दिपेन्द्र जोशी बिगत ३ महिना देखि ड्यालसको युलेश स्थित एक अपार्टमेन्टमा बस्दै आएको तथा आफू नेपालबाट र श्रीमान विस्कन्सनबाट टेक्सास आएको तनुजाले उल्लेख गरेकी छिन् । उनका अनुशार जोशीलाई काम गर्ने आईटी कम्पनीले एक महिना अघि विना सूचना कामबाट निलम्बन गरेपछि आधारभूत खर्च जुटाउन अपार्टमेन्ट नजिकको एउटा ग्याँस स्टेशनमा म्यानेजर पदमा काम गर्न थालेका थिए ।
स्टोरमा काम गर्न शुरु गरेको दुई हप्ता नपुग्दै जु ६ को राती करिब साढे ११ बजे स्टोरबाट बाहिर निस्किने बेला अज्ञात समुहले अन्धाधुन्ध १२-१३ राउन्ड गोली प्रहार गर्दा जोशीको दाँया हातमा २ वटा गोली लागेको थिषे । त्यसपछि घाईते अवस्थामा प्रहरीले बेलर स्कट एण्ड ह्वाइट अस्पतालमा इमर्जेन्सीमा भर्ना गरि अपरेशन भएको छ ।
हाल हातको हड्डी जोड्न स्टिलको सपोर्ट राखिएको छ । डाक्टरका अनुसार हड्डी निकै क्षती भएकाले हातको हड्डी जोडिने सम्भावना न्यून रहेको छ । डाक्टरले कम्तीमा पनि ४/५ महिना बेड रेष्ट गर्नुपर्ने सल्लाह दिएको तनुजाले उल्लेख गरेकी छिन् ।
उनले भनेकी छिन् – ‘म भर्खर नेपालबाट आएको हुनाले ड्राईभिङ आउदैन । भाषाको पनि समस्या छ । अहिले बेरोजगार छु । मेरो श्रीमान अपाँग हुनु भएको छ । काम गर्न सक्ने अवस्था छैन । मलाई तत्काल आधारभूत खर्च कसरी जुटाउने भन्ने चिन्ताले पिरोलेको छ । श्रीमान घरको जेठो छोरा भएकाले नेपालमा पनि आधारभूत खर्च धान्नु पर्ने बोझ छ ।’
उनले तत्कालको समस्या सामाधान गो फण्ड खोलेको बताउदै सहयोगका लागि अपिल गरेकी छिन् । तपाई पनि सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला ।