नेपाली अमेरिकन ७५ हजार, विगत ७ बर्षमा तेब्बर, एकदशकमा चारगुणा बृद्धि
प्रकाशित मिति : श्रावण ५, २०८० शुक्रबार
अहिलेसम्म अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या झण्डै ७५ हजार पुगेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । जसमध्ये झण्डै १५ प्रतिशत न्युयोर्क निवासी रहेका छन् । अर्थात् न्युयोर्क निवासी नेपाली अमेरिकनको संख्या झण्डै ११ हजार छ । कोरोना महामारीका बाबजुत आर्थिक बर्ष सन् २०२० मा अमेरिकाभर ५ हजार ७ सय ९४ र सन् २०२१ मा ७ हजार २ सय ३२ जना नेपालीहरुले अमेरिकन नागरिकता प्राप्त गरेका थिए । आर्थिक बर्ष २०२२ र २०२३ को तथ्यांक समेत जोड्दा ७५ हजार नेपालीले अमेरिकन नागरिकता लिइसकेका छन् ।
आर्थिक बर्ष सन् २०१९ मा अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या ७ हजार ४ सय ९ रहेको थियो । जसमा ३ हजार ५ सय ७७ जना महिला र ३ हजार ८ सय ३२ जना पुरुष रहेका थिए । उनीहरुमध्ये ८१० जना न्युयोर्क निवासी, १२०४ जना टेक्सास निवासी र ६०१ जना क्यालिफोर्निया निवासी रहेका थिए ।
सन् २०१८ मा अमेरिकाभर ५३५२ जना नेपालीहरुले अमेरिकाको नागरिकता लिए । त्यतीबेला सबैभन्दा धेरै न्युयोर्क निवासी ७१८ जना नेपालीहरुले अमेरिकन नागरिकता लिए भने दोश्रोमा टेक्सास निवासी ५७० र तेश्रोमा क्यालिफोर्निया निवासी ५३४ जना रहेका थिए ।
त्यस्तै सन् २०१७ मा भने अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या ४५ सय ९ रहेको थियो । त्यतीबेला न्युयोर्क निवासी ५६० र क्यालिफोर्निया निवासी ५२० जना रहेका थिए । सन् २०१६ मा ५ हजार ४ जना नेपालीहरुले अमेरिकाको नागरिकता लिए । जसमध्ये न्युयोर्क निवासी ६२९ जना रहेका थिए भने उक्त बर्ष सबैभन्दा धेरै टेक्सास निवासी ६५५ जना नेपालीहरुले अमेरिकन नागरिकता लिए ।
विगत ७ बर्षमा नेपाली अमेरिकनको संख्या तेब्बरले बृद्धि भएको छ । किनभने २०१५ सम्म २५ हजार नेपालीले अमेरिकी नागरिकता लिएका थिए भने अहिले यो संख्या ७५ हजार पुगेको छ । विगत एकदशकको तुलना गर्ने हो भने नेपाली अमेरिकनको संख्या झण्डै ४ गुणाले बढेको छ । किनभने एकदशक अगाडि नेपाली अमेरिकनको संख्या झण्डै १८ हजारमात्र रहेको थियो ।
अमेरिकी सरकारको आप्रवास तथ्यांक कार्यालयका अनुसार सन् १९९० सम्ममा अमेरिकी नागरिकता पाउन सफल नेपालीहरुको संख्या जम्मा २६१६ मात्र रहेको थियो । त्यतीबेला सन् १९९० कै वर्षमा जम्मा ३७ जना नेपालीले अमेरिकन नागरिकता लिएका थिए ।
त्यो भन्दा अगाडि सन् १९८९ मा ३५ जना नेपालीले अमेरिकन नागरिकता लिएका थिए । त्यसैगरी सन् १९८८ मा जम्मा ३१ जनाले र सन् १९८७ मा २२ जनाले अमेरिकन नागरिकता लिएका थिए ।
सन् १९९१ मा अमेरिकन पाउने नेपालीको संख्या थोरै बढेर ५६ पुगेको थियो । सन् १९९२ मा ४४ जना नेपालीहरुले अमेरिकन नागरिकता पाए । सन् १९९३ मा ४६ जनाले , सन् १९९४ मा ७० जनाले, सन् १९९५ मा ६० जनाले , सन् १९९६ मा ११९ जनाले, सन् १९९७ मा ७८ जनाले र सन् १९९८ मा ८२ जना नेपालीले अमेरिकन नागरिकता पाए ।
सन् १९९९ मा १४३ जनाले, सन् २००१ मा २०५ जनाले, सन् २००२ मा २४७ जनाले,सन् २००३ मा ३१८ जनाले , सन् २००४ मा ४०८ जनाले अमेरिकन नागरिकता पाए । त्यस्तै सन् २००५ मा ४१७ जनाले, २००६ मा ५७५ जनाले, सन् २००७ मा ६३८ जनाले, सन् २००८ मा ९५३ जनाले, सन् २००९ मा १६३२ जनाले, सन् २०१० मा २१८५ जनाले र सन् २०११ मा २२३५ जनाले अमेरिकन नागरिकता लिएका थिए ।
त्यस्तै सन् २०१२ मा २४४८ जना नेपालीहरुले अमेरिकन नागरिकता लिएका थिए । सन् २०१३ मा अमेरिकन नागरिकता लिने नेपालीहरुको संख्या २७११ रहेको थियो । सन् २०१४ मा २८८८ नेपालीले अमेरिकी नागरिकता लिए भने सन् २०१५ मा ४२२५ जना नेपालीले अमेरिकन नागरिकता लिए ।