एकजुट हुँदै अमेरिकामा नेपाली क्रिश्चियनहरु, न्युयोर्कका २ वटा नेपाली चर्च मर्ज


प्रकाशित मिति : असार २५, २०८० सोमबार

अमेरिकामा रहेका नेपालीभाषी क्रिश्चियनहरु एकजुट हुँदै गएका छन् । यसैक्रममा न्युयोर्कमा रहेका दुईवटा नेपाली चर्चहरु मर्ज गरेर न्युयोर्क नेपाली चर्चको स्थापना गरिएको छ ।

बेथेल नेपाली चर्च र न्युयोर्क नेपाली प्रेस्बेटेरियन चर्चको मर्ज गरेर न्युयोर्क नेपाली चर्च बनाइएको हो । केही बर्ष अगाडि मेरिल्याण्डमा नेपालीभाषीका चारवटा चर्चहरु मर्ज भएका थिए ।

यसअगाडि बेथेल नेपाली चर्च न्युयोर्कको एल्महस्र्टको बाप्टिस्ट चर्चमा भाडामा स्थान लिएर संचालन हुदै आएको थियो । न्युयोर्क नेपाली प्रेस्बेटेरियन चर्चका लागि भने न्युयोर्क प्रेस्बेटेरियन चर्चले निशुल्क स्थान उपलब्ध गराएको थियो ।

मर्ज कार्यक्रममा बोल्दै सचिव तथा डिकन रायन लाम्गादे । फोटो: दीपक परियार/खसोखास

बेथेल नेपाली चर्चमा झण्डै ७० जना र न्युयोर्क नेपाली प्रेस्बेटेरियन चर्चमा झण्डै ४० जना सदस्य रहेकोमा मर्जपछि अब ११० भन्दा बढी सदस्यहरु रहेको सचिव तथा डिकन रायन लाम्गादेले जानकारी दिए । अहिलेका लागि न्युयोर्क नेपाली चर्चपनि न्युयोर्क प्रेस्बेटेरियन चर्चमै संचालन हुने उनले जानकारी दिए ।

बेथेल नेपाली चर्च अनौपचारिक रुपमा सन् २००४ बाट सुरु भएको थियो भने न्युयोर्क नेपाली प्रेस्बेटेरियन चर्च अनौपचारिक रुपमा सन् २००६ मा सुरु भएको थियो । यो बाहेक न्युयोर्कमा कम्तीमा अरु ३ वटा नेपाली चर्चहरु समेत रहेका छन् । बेथेल नेपाली चर्च ४ जनाबाट सुरु भएकोमा न्युयोर्कमा नेपालीहरु आउने क्रम बढेसँगै विस्तार भएको हो ।

बेथेल नेपाली चर्चका पास्टर पावल राई रहेका छन् भने न्युयोर्क नेपाली प्रेस्बेटेरियन चर्चका पाष्टर डानियल बस्नेत रहेका छन् । मर्ज भएर बनेको न्युयोर्क नेपाली चर्चमा अहिलेका लागि दुबै पास्टरहरु रहनेछन् । चर्च मर्जका लागि आइतबार न्युयोर्क प्रेस्बेटेरियन चर्चमा विशेष कार्यक्रम गरिएको थियो जसमा वक्ताहरुले एकजुट हुनुको महत्वबारे बोलेका थिए । कार्यक्रममा भजनमण्डलीले यशुका भजनहरु गाएका थिए ।

अमेरिकामा नेपालीभाषीहरुका मन्दिर, चर्च र गुम्बाहरु उल्लेख्य संख्यामा रहेका छन् । न्युयोर्कको ज्याक्सनहाइटमा नेपालीको आफ्नै भवनमा गुम्बा रहेको छ भने न्युयोर्कको रिजउड र क्यालिफोर्नियाको लस एन्जलस लगायतका स्थानमा आफ्नै भवनमा मन्दिरहरु संचालनमा रहेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com