अमेरिकामा विष्णु र मेलोडीको समलिंगी जोडी: ‘प्रेम र विवाहपछि आफूमा धेरै परिवर्तन पाएँ’


प्रकाशित मिति : असार २६, २०८० मंगलबार

अमेरिकाको कोलोराडोमा बस्दै आएको छ विष्णु अधिकारी र मेलोडी मेडिसनको समलिंगी जोडी । उनीहरुले झण्डै ३ बर्ष अगाडि अमेरिकामा नै विवाह गरेका हुन् । झण्डै २ बर्ष लामो चिनजान र प्रेम सम्बन्धलाई उनीहरुले कोरोना महामारीका बेलामा वैवाहिक रुप दिएका हुन् । त्यसपछि आफ्नो जीवनमा धेरै परिवर्तन आएको विष्णुको भनाई छ । उनी भन्छन् – ‘त्यसपछि मैले मानसिक रुपमा धेरै खुशी र स्वस्थ्य अनुभव गरें । खुशी र आन्नदित मात्र होइन सुरक्षित अनुभव समेत भएको छ । प्रेमको जीत भएको छ ।’

सन् २०२० को सेप्टेम्बर १५ मा विवाह गर्दा विश्वभर कोरोना महामारीको जगजगी थियो । त्यसैले उनीहरुको विवाहपनि जुममार्फत भएको थियो । उनीहरुले अनलाइनबाटै आवेदन दिएपछि भिडियोकलमा न्यायाधिस उपस्थीत भएर उनीहरुको विवाह गराइदिए । अमेरिकामा समलिंगी विवाह बैध भएकाले उनीहरुले विवाहका लागि कुनै झन्झटको सामना गर्नुपरेन ।

झण्डै ३५ बर्ष अगाडि विष्णु अधिकारीको जन्म कास्कीको ढिकुरपोखरीमा छोरीका रुपमा भएको थियो । शारीरिक रुपमा छोरीका रुपमा जन्मिएपनि उनको सबै स्वभाव छोराको रुपमा विकाश भयो । अहिले उनी आफूलाई ट्रान्सम्यानका रुपमा परिचित गराउन चाहन्छन् । उनको सबै कागजातमा आफ्नो लिंग ‘पुरुष’का रुपमा उल्लेख गरेका छन् । विष्णु भन्छन् – ‘मलाई कसैले ऊ वा उनी जे भनेर सम्बोधन गरेपनि खासै फरक पर्दैन । तर मैले सबै कागजातमा आफ्नो लिंग पुरुषकै रुपमा उल्लेख गर्छु । यो एउटा सामाजिक लडाई पनि थियो ।’

सन् २०१४ मा अमेरिका आएपछि विष्णु वासिंटन डिसी, मेरिल्याण्ड र भर्जिनिया क्षेत्रमा बस्दै आएका थिए । मेलोडीसँग उनको भेट एकजना साथीमार्फत सन् २०१८ मा भएको थियो । सुरुमा साथीका रुपमा चिनजान भएपनि पछि यो चिनजान प्रेम सम्बन्धमा परिवर्तन भयो । म्युजिकल थेरापीमा मास्टर्स गरेकी मेलोडी अन्तत विष्णुको जीवनमा पनि मेलोडी नै बनेर आइन् । मेलोडी आफ्नो जीवनमा आएपछि आफूले अहिले प्रेम के हो भन्ने बुझेको उनले बताए ।

उनी भन्छन् -‘प्रेम त औषधी रहेछ । मनमा छटपटी भएको बेला तपाई प्रेम गर्ने मान्छेसँग बस्दा शान्त हुनुहुन्छ । प्रेम गर्ने मान्छेसँग रुन र हाँस्न सक्नुहुन्छ । विवाहपछि अहिले म धेरै परिपक्व अनुभव गर्छु । पारिवारिक रुपमा सम्हालिको अनुभव गर्छु । मानसिक रुपमा धेरै खुशी र स्वस्थ्य अनुभव गर्छु । आफूलाई केही भएमा साथ दिने व्यक्ति छ भनेर सुरक्षित अनुभव गर्छु ।’

अलिक सेटल भइसकेपछि भविश्यमा आफ्नै बायोलोजिकल बच्चा जन्माउने उनीहरुको योजना रहेको छ । मेलोडी वा आफूमध्ये एकजनाको पेटमा बच्चा हुर्काउन आफूहरु तयार रहेको उनले बताए । उनी भन्छन् -‘स्पर्म डोनेशन लिएर हामीले भविश्यमा आफ्नै बायोलोजिकल बच्चा जन्माउने योजना बनाएका छौं ।’

विष्णु र मेलोडीको जोडी ।

आफू ‘फरक’ भएको थाहा पाएपछि

कास्कीको ढिकुरपोखरीमा विष्णुको जन्म चौथो सन्तानका रुपमा भएको थियो । दुईजना दाई र एकजना दिदीपछि उनको जन्म भएको हो । उनकी एकजना बहिनी पनि छिन् । परिवारले उनलाई छोरीकै रुपमा मानेपनि बाल्यकालदेखि नै उनलाई भने आफू छोरा हुँ भन्ने अनुभूत हुन्थ्यो । समाज र स्कुलमा पनि उनलाई धेरैले छोराजस्तो भएको बताउँथें । उनका साथीहरु पनि केटाहरु नै थिए ।

‘म परिवारमा फरक थिएँ । समाजमा फरक थिएँ । तर त्यतीबेला म आफू फरक भएको अनुभव थिएन । विद्यालयमा विहानको प्राथनामा केटा र केटीहरुको लाइन फरक फरक हुन्थ्यो । म केटाहरुकै लाइनमा गएर उभिन्थें । तर शिक्षकहरुले मलाई केटीहरुको लाइनमा ल्याएर लगाउनुहुन्थ्यो । म बाल्यकालदेखि नै फरक थिएँ । बहिनीसँग नखेलेर अरु केटा साथीहरुसँग खेल्थें । तर आफू फरक भएको अनुभव भने मैले चौध पन्ध्र बर्षको उमेरमा मात्र गरें,’ विष्णुले बाल्यकाल सम्झदै भने ।

सुरुमा आफू फरक भएको थाहा पाउँदा निकै आत्तिएको उनको भनाई छ । आफूलाई केटामान्छे जस्तो लागेपनि शारीरिक बृद्धि विकाशका क्रममा अलमलमा पर्ने, चिन्तित हुने, अन्यौल हुने, पहिलेकै साथीहरुसँग घुलमिल हुन नसक्ने अवस्था आएको उनी बताउँछन् । विष्णु भन्छन् -‘जब चौध पन्ध्र बर्षको उमेरदेखि नै मैले आफूलाई फरक भएको थाहा पाएँ, तब मनमा अत्यास समेत लाग्थ्यो । किनभने मलाई म फरक छु भन्ने थाहा थियो । तर यो स्वभाविक हो, मजस्ता अरु मान्छेहरु पनि छन् भन्ने थाहा थिएन ।’

एफएम रेडियोमा प्रशारित अन्तरवार्ताले चिनाएको ‘आफू’

त्यो बेला पोखरामा अन्नपूर्ण एफएम निकै चर्चित थियो । त्यसका कार्यक्रम प्रस्तोता दीपेन्द्र श्रेष्ठपनि निकै चर्चित थिए । एकदिन श्रेष्ठले एकजना ट्रान्सवुमनसँग रेडियोमा अन्तरवार्ता लिएका थिए । उनी थिइन् विन्ध्या गौतम । विन्ध्याले उक्त अन्तरवार्तामा आफ्नो बारेमा बताउँदै थिइन् । आफू ट्रान्सवुमन भएको र अरुभन्दा फरक भएको आफ्नो कथा उनले सुनाउदै थिइन् । विष्णुलाई उक्त अन्तरवार्ता सुनिरहँदा भित्रदेखि छुन पुग्यो । आफू के कारणले फरक रहेको भन्ने कुराको बोध भयो ।

एसएलसीको तयारीका लागि ट्युसन पढ्न पोखरा आएको बेलामा उक्त अन्तरवार्ता सुनेपछि विष्णुले विन्ध्या गौतम आवद्ध संस्था नौलो विहानीमा सम्पर्क गरे । त्यहाँ गएर कुराकानी गरिसकेपछि र अरु व्यक्तिलाई भेटेपछि आफू यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको व्यक्ति भएको कुरा उनले राम्रोसँग बुझ्न पाए । आफू ट्रान्सम्यान भएको कुरा उनले त्यतीबेला नै राम्रोसँग बोध गरे । उनी भन्छन् -‘त्यसपछि मैले आफ्नो कपाल काटेर छोटो बनाएँ भने स्कर्टहरु पनि लगाउन छाडें ।’

आफूलाई बुझिसकेपछि गाउँ फर्केपछिको अनुभव भने उनको त्यती राम्रो भएन । प्लस टुसम्म अध्ययन गर्ने क्रममा आफूलाई निकै दबाएर बस्नुपर्ने अवस्था भयो । परिवार र समाजमा ‘छोरीले के के गर्न हुने र के के गर्न नहुने’ भन्ने आफ्नै परिभाषा र मापदण्ड थियो । ‘छोरीमान्छेले के के लगाउन हुने र नहुने’ भन्ने आफ्नै मापदण्ड थियो । ‘के के बोल्न हुने र नहुने’ भन्ने आफ्नै मापदण्ड थियो । परिवार र समाजले उनलाई त्यही मापदण्डमा राख्न खोज्थ्यो । केटासँग हिड्न रोकिन्थ्यो । मेकअप लगाउन दवाव दिइन्थ्यो । केटीको जस्तो कपडा लगाउन दवाव दिइन्थ्यो । उनी भन्छन् -‘जति जति परिवार र समाजले मलाई केटीको मापदण्डमा लैजान खोज्थ्यो, त्यती त्यती म केटाको मापदण्डमा जान खोज्थें । सबैले मलाई केटी होइन केटा सोंचेर व्यवहार गरोस् भन्ने चाहन्थें । म र समाज तथा परिवारसँगको द्वन्द यहीँबाट सुरु भयो ।’

रातीमा घर छाडेर हिड्दा

यो द्वन्द एकदिन चरमोत्कर्षमा पुग्यो । परिणामस्वरुप उनले राती घरै छाडेर हिड्नुपर्ने अवस्था आयो । त्यतीबेला उनको प्लस टु सम्मको पढाई सकिएको थियो । सामाजिक र पारिवारिक दवावका कारणले उनले घर छाड्ने निधो गरेका थिए । तर कहाँ जाने भन्ने कुनै टुंगो थिएन ।

राती सबैजना सुतेपछि उनी आफू जन्मिएको र हुर्किएको घर छाडेर बाहिर सुटुक्क निस्के । खल्तीमा पैसा पनि थिएन । कहाँ गएर बस्ने भन्ने पनि ठेगान थिएन । तर पनि उनी घरबाट निस्केर मोटरबाटोसम्म आए । त्यहाँ केहीबेर कुरेपछि नाइटबस आयो । बस रोकेर सिटमा बस्नका लागि तिर्ने भाडा थिएन । त्यसैले बस गुडिरहँदा पछाडिबाट चढेर उनी बसको छतमा गएर बसे ।

उनी सम्झिन्छन् -‘नाउडाडामा आइसकेपछि रात्री बस भेटियो । पछाडिबाट झुण्डिएर त्यसैको छतमा चढें । बस कहाँ जाँदैछ भन्ने पनि थाहा थिएन । केहीबेर निकै चिन्ता लाग्यो । तर घर छाड्दा आफूलाई स्वतन्त्र भइरहको अनुभव पनि भइरहेको थियो । पछि कतिबेला निदाएछु थाहै भएन । ब्यूझदाँ काठमाडौंको बसपार्कमा पो आइपुगेछु ।’

काठमाडौं आइसकेपछि उनी लैंगिक तथा यौनिक अल्पसंख्यकहरुका लागि काम गरिरहेको संस्था ब्लु डायमण्ड सोसाइटीको सम्पर्कमा पुगे । त्यतीबेला ब्लु डायमण्ड सोसाइटी सुनिल बाबु पन्तहरुको नेतृत्वमा चलिरहेको थियो । त्यतीबेला सोसाइटीले यौनिक तथा अल्पसंख्यक समुदायका व्यक्तिलाई सिप सिकाउने, पढ्नका लागि छात्रबृत्ति दिने लगायतका कैयन सहयोग गरिरहेको थियो ।

पोखराबाट अभियानको अग्रभागमा

केहीसमय ब्लु डायमण्ड सोसाइटीकै सहयोग र आश्रयमा बसेपछि विष्णुले पोखरा जाने निर्णय गरे । पोखराबाट लैंगिक तथा यौनिक अल्पसंख्यकका लागि अभियानको नेतृत्वको जिम्मा दिइयो उनलाई । उनको नेतृत्वमा परिवर्तन नेपाल नामको संस्थाको सुरुवात समेत गरियो । लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिलाई भेट्ने, सहयोग गर्ने र कुनै समस्या भएमा काठमाडौंमा ब्लु डायमण्ड सोसाइटीमा रिपोर्ट गर्ने लगायतका काममा उनी सकृय रहे । यही क्रममा उनले पोखरामा स्नातक अध्ययन गरे ।

कानूनमा परिवर्तन नभएसम्म लैंगिक तथा यौनिक अल्पसंख्यकको हक अधिकार स्थापित नहुनेमा उनी प्रष्ट थिए । उनको स्वभावका कारण पनि धेरैले उनलाई कानून पढ्नका लागि प्रेरित गरेका थिए । त्यसपछि कानून पढ्नका लागि उनी काठमाडौं आएपनि सोंचेजस्तो भएन । राम्रो अंक ल्याएर स्नातक उत्तिर्ण गर्ने उद्देश्यले पद्मकन्या क्याम्पसमा भर्ना भएपनि पढाई भने पूरा हुन पाएन । उनको धेरै समय लैंगिक तथा यौनिक अल्पसंख्यकको अभियानमा नै खर्च भयो ।

सन् २००८ को संविधानसभामा लैंगिक तथा यौनिक अल्पसंख्यकको अधिकारका लागि काम गरिरहेका सुनिलबाबु पन्त सभासदका रुपमा मनोनित भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायमा फरक खालको उत्साह आएको थियो । विष्णुपनि निकै उत्साहित भएर यही अभियानमा समाहित भएका थिए । सन् २००६ देखि नै ब्लु डायमण्ड सोसाइटीमा आवद्ध उनले सन् २०१४ मा अमेरिका आउनु अगाडि २०१० देखि २०१३ सम्म ब्लु डायमण्ड सोसाइटीको मिडिया र मानवअधिकार विभागमा काम गरे । यो दौरान उनी लैंगिक तथा यौनिक अल्पसंख्यकका असंख्य कार्यक्रममा सहभागी भए ।

सुनिलबाबु पन्त समानुपातिकबाट सभासद हुने दौरान लैंगिक तथा यौनिक अल्पसंख्यकहरुका लागि अधिकार प्राप्त गर्नका लागि राजनीतिक लडाई आवश्यक भएको अनुभव गरियो । विष्णु भन्छन् -‘विचार मिल्ने राजनीतिक दलहरुमा आवद्ध भएर राजनीतिक रुपमा अभियानलाई अगाडि बढाउनुपर्ने निष्कर्ष थियो हाम्रो । पार्टीका घोषणा पत्रहरुमा हाम्रा आवाज समेट्न लगाउन राजनीतिक दलका ढोका ढोकामा पुग्यौं । तर यो परिणाममुखी हुनुको साटो पहिले एकजुट भएका साथीहरुमा राजनीतिक विभाजन र फुट ल्याउने काममात्र भयो ।’

परिवारलाई बुझाउनमा समस्या

उनको बारेमा परिवारले बुझन् निकै लामो समय लाग्यो । घर छाडेर हिडेपछि परिवारसँगको सम्बन्धमा पनि दरार पैदा भयो । तर समय वित्दै जाँदा घरपरिवारले पनि बुझ्दै गएको अनुभव छ विष्णुको । आफैले आफ्नो बारेमा बुबाआमालाई कहिले केही नभनेपनि उहाँहरुले विस्तारै बुझ्दै गएको उनको भनाई छ । उनी भन्छन् -‘मैले मेरै बारेमा बुझ्न त कैयन बर्ष लाग्यो । रेडियो र टेलिभिजनमा कैयन कार्यक्रमहरु हेर्नुपर्यो । कैयन कार्यक्रमहरुमा सहभागी हुनुपर्यो । खासै नपढेकी मेरी आमाले छिटो बुझ्नुभएन भनेर मेरो गुनासो छैन ।’

तर पढेलेखेका परिवारका सदस्यहरुले समेत नबुझ्नु भने दुखलाग्दो अवस्था रहेको उनको भनाई छ । नेपालको संविधान र कानुन लैंगिक तथा यौनिक अल्पसंख्यकका सन्दर्भमा जति अगाडि छ, सामाजिक सोंच त्योभन्दा पनि पछाडि रहेको उनी बताउँछन् । सबैभन्दा पहिले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिले आफूले आफैलाई स्वीकार्नुपर्ने र त्यसपछि परिवारका सदस्यले स्वीकार गर्नु महत्वपूर्ण हुने विष्णुले बताए ।

उनी भन्छन् -‘सबैभन्दा ठूलो कुरा परिवारको सपोर्ट हो । बुबाआमा र दाजुभाई दिदीबहिनीहरुले सपोर्ट गर्नुपर्छ । सबैभन्दा पहिले परिवारले बुझन्ुपर्छ । नेताले र प्रधानमन्त्रीले कुरा नबुझ्दा र मुद्दा नबुझ्दा भन्दा धेरै परिवारका सदस्यहरुले आफूलाई नबुझ्दा मन दुख्छ । पढेलेखेका दाईले टिनजर भाईलाई नबुझ्दा मन रुन्छ । परिवारले स्वीकार गरेपछि अरु कसैको केही लाग्दैन । परिवारले स्वीकार गरेमा हिम्मत आउँछ । परिवारले स्वीकारेपछि प्रधानमन्त्रीले स्वीकार गरे नगरेको कुराले पनि खासै फरक पर्दैन ।’

परिवारले बुझ्न नसक्दा कैयन समलिंगीहरुले विपरित लिंगीसँग विवाह गरेर आफ्नो र अरुको जीवन बर्बाद पारिरहेको बताउँछन् उनी । आफ्ना छोराछोरीले विपरित लिंगीसँग विवाह गर्दा उत्सव मनाउने परिवारले आफ्ना समलिंगी छोराछोरीको विवाह गर्दा पनि उत्सव मनाउनुपर्ने उनको भनाई छ । उनी भन्छन् -‘विपरित लिगीको प्रेमको उत्सव हुने तर हाम्रो प्रेमको अपमान किन? प्रेम त प्रेम नै हो ।’

अध्ययन नै महत्वपूर्ण

लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायमा पढाईको महत्व बुझाउनुपर्नेमा विष्णुको जोड छ । आफुलाई बुझ्दै र स्वीकार्दै सकेसम्म अध्ययनमा लगाउनुपर्ने उनको सुझाव छ । उनी भन्छन् -‘अरुले के भन्छ भनेर सोंच्ने होइन । अरुले के बुझ्छ भन्ने कुरा त उसको बुझाईको स्तरमा भरपर्छ । आफले आफनो उमेरमा भएको उर्जा सही ठाउमा सदुपयोग गर्नुपर्छ । जो सुकैले जे भनेपनि सकेसम्म पढ्न नछाड्नुहोस् ।’

पढेपछि, बुझेपछि साथी र संगत त्यही स्तरका हुने र हुने भएकाले पछि जीवनको गुणस्तर पनि राम्रो हुने उनको भनाई छ । शैक्षिक र आर्थिक रुपमा सवल भएपछि आफू सिमान्तकृत समुदायकै भएतापनि सिमान्तकृत जीवन बाँच्नु नपर्ने उनी बताउँछन् । मुलधारमा आफूलाई अगाडि बढाउन र आफूप्रतिको सम्मान बढाउन पनि शिक्षा महत्वपूर्ण कडी भएको उनको ठहर छ ।

यद्यपी मुलधारमा अगाडि बढ्नका लागि सामाजिक र राजनीतिक लडाई भने लामो भएको उनी बताउँछन् । मुलधारमा आउनका लागि सामाजिक चेतना र राजनीतिक संयन्त्र नै बाधक रहेको उनको भनाई छ । उनी भन्छन् -‘मुलधारमा आउनका समाज, राजनीतिक दलहरु र राज्यसंयन्त्र नै बाधक छन् । राजनीतिक दलका युवानेताहरु समेत यो विषयमा संवेदनशील छैनन् । राजनीतिमा नयाँ आउनेहरुलाई र नयाँ दल खोल्नेहरुलाई पनि लैंगिक तथा यौनिक अल्पसंख्यकका मुद्दामा खासै चासो छैन ।’

राजनीतिक दलको दैलोमा पुगेर आवाज उठाउँदा निरिह बनेर मागेको जस्तो अनुभव गराउने गरेको उनी बताउँछन् । समलिंगी र तेश्रो लिंगी भनेपछि राजनीतिक दलका नेताले सुरुमा भेट्न नदिने र भेटेपनि झुठा आश्वासनमात्र दिने गरेको उनको विगतको तितो अनुभव रहेको छ । अहिले सर्वोच्च अदालतले समलिंगी विवाह अस्थायी रुपमा दर्ता गर्नका लागि दिएको अन्तरिम आदेशको समेत केही नेताहरुले विरोध गरेको देख्दा आफूलाई निकै दुख लागेको उनी बताउँछन् । उनी भन्छन् -‘लैगिक तथा यौनिक अल्पसंख्यकको मुद्दालाई धेरै साथीहरुले निरन्तर सम्हालेर लैजानुभयो । यही सन्दर्भमा सर्वोच्चको पछिल्लो अन्तरिम आदेश स्वागतयोग्य छ । तर केही नेताहरुले विरोध गरेको देख्दा भने निकै दुख लाग्छ ।’

विकराल मानसिक समस्या

लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायमा मानसिक समस्या विकराल रहेको उनको भनाई छ । डिप्रेशन र आत्महत्याको दर निकै उच्च रहेकोमा कोरोना महामारीपछि अझ बढेको उनले बताए । पहिलेदेखि नै सामाजिक विभेदको चोटमाथि महामारीको आर्थिक संकटले थप प्रहार गर्दा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका धेरै व्यक्ति डिप्रेशनमा गएको र आत्महत्याको बाटो समेत रोजेको उनको भनाई छ ।

‘अरु व्यक्ति महामारीमा घरमा फर्के । तर परिवारबाट समेत अस्वीकृत भएका लैंगिक तथा यौनिक अल्पसंख्यकका व्यक्ति फर्कने ठाउँ थिएन । पहिलेदेखि नै सामाजिक विभेद, दुव्र्यहारले थिलोथिलो भएकाहरुलाई महामारीले अझ खराब अवस्थामा लग्यो । जसको असर अझै कैयन बर्षसम्म बाँकी रहने निश्चित छ,’ उनी भन्छन् ।

नेपालमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिले हर्मोनको प्रयोग गर्ने र लिंग परिवर्तन गर्ने क्रम बढेको उल्लेख गर्दै उनले यसबाट उत्पन्न हुनसक्ने स्वास्थ्य जोखिमबारे सचेत रहन आग्रह समेत गरेका छन् । आफू जस्तो छ त्यस्तै रुपमा स्वीकार गर्नु नै सबैभन्दा महत्वपूर्ण कुरा रहेको उल्लेख गर्दै हर्मोनको प्रयोगले शारीरिक र मानसिक रुपमा पर्नसक्ने असरबारे ध्यान दिन उनले सचेत गराएका छन् ।

सामाजिक विकृति, विसंगती, अपहेलना र घृणासहदै तथा समाज एवं परिवारबाट लखेटिदै आउने क्रममा कैयनले पढाईलाई चाहेर पनि निरन्तरता दिन नसकिरहेको तथा कुलतमा लागिरहेको सन्दर्भ उल्लेख गर्दै उनले कुलत र लागुऔषधको प्रयोगले समेत मानसिक समस्या आउने गरेको बताए । उनी भन्छन् -‘समाज र परिवारबाट प्रेम नपाएपछि खुशीका लागि भौतिारिदा लागुऔषधको कुलतमा फस्नेको संख्या ठूलो छ । जसले कैयनलाई डिप्रेशन र आत्महत्याको बाटोमा लगेको छ ।’

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com