न्युयोर्कमा समुन्द्रमा पौडी खेल्न गएका नेपाली युवा निमा लामाको मृत्यु, गरियो अन्तिम बिदाई


प्रकाशित मिति : असार २७, २०८० बुधबार

न्युयोर्कमा समुन्द्रमा पौडी खेल्न गएका ३२ बर्षीय नेपाली युवा निमा ढेण्डुप लामाको मृत्यु भएपछि न्युयोर्कमै आज अन्त्येष्टी गरिएको छ । न्युयोर्क सिटीको फार रकवेमा समुन्द्रमा शनिबार पौडी खेल्न गएको बेला उनको मृत्यु भएको जनाइएको छ ।

शनिबार बेलुका पौने ६ बजे लामाको उद्दार प्रयास गरिएपनि उद्दारकर्मीहरुले जीवितै उद्दार गर्न भने सकेनन् । सन् १९९१ मा जन्मिएका अविवाहित लामाका बुबाआमा नेपालमै रहेको जनाइएको छ ।

लामाको न्युयोर्कको एल्महस्र्टमा रहेको जेराल्ड जे नेफेल्ड फ्युनेरल होममा आज दिउसो अन्त्येष्टी गरिएको छ । उनको अन्तिम विदाईमा न्युयोर्कमा रहेका उनका नेपाली युवा साथीहरुको उल्लेख्य उपस्थीति रहेको थियो । उनी युवाहरुमाझ निकै लोकप्रिय रहेका थिए ।

तस्वीर श्रोत: ह्योल्मो सोसाइटी अफ अमेरिकाको फेसबुक । कभर तस्वीर गोफण्डमी ।

अत्यन्तै दुखद र अकल्पनीय घटनाबाट आफूहरु मर्माहत भएको उल्लेख गर्दै ह्योल्मो सोसाइटी अफ अमेरिकाका अध्यक्ष ढेण्डुप लामाले शोकाकुल परिवारप्रति समवेदना र मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । युवा अवस्थामा यस्तो दुखद घटना कसैलाई नघटोस् भन्ने प्राथना गर्दै उनले आकस्मिक घटना भएकाले सबैलाई मर्माहत बनाएको बताएका छन् ।

निमा अत्यन्तै इमान्दार र मायालु भएको तथा साँचो रत्न रहेको सोनाम लामाका तर्फबाट  गोफण्डमीमा भनिएको छ – ‘उनलाई चिन्ने सबैले माया गर्थे। उनको निस्वार्थ मनोवृत्ति थियो, जसले उनलाई चिन्ने सबैमा सकारात्मक प्रभाव परेको थियो । उनले सबैलाई माया र करुणाले समान रूपमा व्यवहार गर्थे । निमा छोटो समयको लागि हामीसँगै भए पनि उनको सदाबहार प्रभाव थियो ।’

निमाको परिवारमा परेको आर्थिक तनावलाई कम गर्न मद्दत गर्न गोफण्डमी खोलिएको थियो । सबैसँग परिवारका लागि प्रार्थनाको अनुरोध गरिएको थियो । ३० हजार डलरको लक्ष्यसहित खोलिएको गोफण्डमीमा ३५ हजार डलरभन्दा धेरै संकलन भइसकेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com