न्युयोर्क सिटीमा ट्रेनमा पकेटमार समात्न अण्डरकभर प्रहरी परिचालन
प्रकाशित मिति : असार २९, २०८० शुक्रबार
न्युयोर्क सिटीको प्रहरीले यात्रुहरू र पर्यटकहरूको शिकार गर्ने पकेटमारहरुलाई समात्न अन्डरकभर अफिसरहरू परिचालन गरेको छ । एक विशेष इकाईको भागको रूपमा ती प्रहरी अधिकारीहरु खटाइएको जनाइएको छ ।
न्युयोर्क प्रहरीको ट्रान्जिट ब्यूरोको विशेष अपरेशन डिभिजनका कार्यकारी अधिकारी जेम्स सोरेसले यात्रुको भेषमा अधिकारीहरु खटाइएको जानकारी दिएका हुन् । डिपार्टमेन्टको पिकपकेटिङ युनिटका साथमा गुप्तचर अधिकारीहरूले सबवे र ठूला घटनाहरूमा फोकस गर्छन्, जहाँ चोरहरूले नगद, क्रेडिट कार्ड र सेलफोनहरू चोर्ने मौका हेरिरहेका हुन्छन् ।
यी सादा पोशाकका अधिकारीहरूले स्टेशनमा छिरेर भीडमा हराउनु अघि ट्रान्जिट ब्यूरोको विशेष अपरेशन डिभिजनका सर्जेन्ट जोन प्रिचार्डबाट ब्रीफिंग पाएका थिए । उनीहरुलाई ट्रेन स्टेशनमा हुने संदिग्ध गतिविधिमा नजर लगाउन भनिएको छ । प्लेटफर्ममा धेरै रेलहरू छुट्दा पनि रेल नचढ्नेहरुले मानिसहरूको पर्स वा तिनीहरूको खल्तीमा नजर लगाइरहेको र पकेटमार्नका लागि मौका खोजिरहेको हुनसक्ने भएकाले त्यस्ता व्यक्तिमाथि नजर लगाउन सचेत गराइएको छ ।
यस वर्ष जुलाई ९ सम्म न्युयोर्क सिटीको ट्रेन स्टेशनमा ५५९ ठूला चोरीका घटनाहरू थिए । गत वर्षको सोही अवधिको तुलनामा पाँचवटामात्र कम घटनाहरू भएका छन् । तर २०१९ को तुलनामा यो झण्डै ३० प्रतिशत कम छ। गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष ठूला चोरीमा गिरफ्तारीको संख्या १८८ पुगेको छ, जुन लगभग २५ प्रतिशत बढी छ।
यात्रुहरुले प्रहरीको गोप्य अपरेशनको प्रशंसा गरेका छन् । साथै यात्रुहरुलाई त्यहाँ कुनै संदिग्ध व्यक्ति भए नभएकोबारे सचेत हुन समेत सुझाव दिइएको छ । अब पकेटमारहरुले बर्दिधारी प्रहरीमाथि बढी ध्यान केन्द्रित गरिरहँदा सादा पोशाकका अधिकारीहरुले पकेटमारमाथी ध्यान केन्द्रीत गर्न पाउने भएका छन् ।