विश्वभर मिथिला कला चिनाउँदै अजित शाह: जापानी सग्राहालयदेखि अमेरिकी राष्ट्रपति कार्यालयसम्म
प्रकाशित मिति : श्रावण ६, २०८० शनिबार
अजित शाह नेपालको मिथिला कलामा चर्चित नाम हो । उनले मिथिला कलालाई विभिन्न तरिकाले नेपालभित्र मात्र होइन, विश्वभर चिनाउनमा महत्वपूर्ण योगदान दिएका छन् । साथै उनी कलालाई रुची र शोखका रुपमा मात्र होइन व्यवसायिक रुपमा समेत अगाडि बढाउन सकिन्छ भन्ने गतिलो उदाहरण समेत बनेका छन् । उनका कला अमेरिकी राष्ट्रपतिको कार्यालयदेखि विश्वका विभिन्न चर्चित संग्राहालयहरुले समेत किनेका थिए ।
बाल्यकालदेखिकै रुची
६ बर्षदेखि न्युयोर्क बस्दै आएका शाह ३८ बर्षदेखि मिथिला कलामा सकृय रहदै आएका छन् । १८ बर्षको उमेरदेखि नै मिथिला कलामा सकृय शाहले मिथिला कलालाई विश्वमा चिनाउनका लागि महत्वपूर्ण योगदान गर्दै आएका छन् । कुनै बेला हस्तकलाको समेत डिजाइनमा सकृय ५६ बर्षीय शाहको जन्म राम सुन्दरप्रसाद शाह र फुलकुमारी देवीका साइला सन्तानका रुपमा नेपालको धनुषाको जनकपुरधाममा भएको हो ।
‘स्कुलमा चित्रकला सम्बन्धि प्रतियोगिताहरु हुँदा पनि म ती प्रतियोगिताहरुमा भाग लिन्थें । मलाई सानैदेखि चित्रहरु बनाउन मन पर्थ्यो । पूजाआजामा आमाले चामलको पिठोले भुईमा चित्रहरु बनाउँदा दिमागमा मलाई चित्रहरु कागजमा बनाउन मन लाग्थ्यो.’ आफ्नो बाल्यकाल सम्झदै शाहले भने ।
स्कुलमा उनले कलम पेन्सिलले मिथिलाकै चित्रहरु बनाउने गर्थे । उनी हात्ति, माछा लगायतका चित्र बनाउँथे । त्यो बाहेक उनले देवीदेवताका चित्रहरु पनि बनाउँथे । बाल्यकालमा रामायण पढेकाले रामायणका कथाको चित्र उनको दिमागमा बसेको थियो । उनी चित्रलाई कागजमा उतार्न चाहन्थे । उनी भन्छन् -‘बच्चामा घरमा रामायण पढ्नुपथ्र्यो । संस्कृतमा राम चरित्र मानष पढेवापत आमाले २ रुपैया दिनुहुन्थ्यो । घरकै नजिक करिब ५ मिनेटको दुरीमा राम मन्दिर र जानकी मन्दिर भएकाले हामी खेल्न जान्थ्यौं । त्यसले मलाई चित्र बनाउन प्रेरित गर्दै गयो ।’
आफ्नो चित्रकलाको पहिलो पाठशाला परिवार नै भएको बताउँछन् अजित शाह । परिवारको व्यापार थियो भने ४ दाजुभाईमा साइला शाहले घरको काम र व्यापारमा सघाउँथे । त्यसक्रममा समाजलाई बुझ्न पनि सहज भयो उनलाई । र उक्त सामाजिक परिवेशलाई समेत चित्रमा उतार्न उनलाई कुतकुती लागिरहन्थ्यो ।
पढाई खर्च जुटाउन समेत मिथिला कलाको उपयोग
२०३९ सालमा एसएलसी दिएपछि २०४२ सालमा बुबाले सबै दाजुभाईलाई सम्पत्ति भाग लगाइदिएर छुट्याएपछि आत्मनिर्भर हुनका लागि अजित शाहलाई थप बाध्यता आइलाग्यो । त्यतीबेला उनको विहे समेत भएको थिएन भने पढाईलाई निरन्तरता दिने चुनौति समेत थियो । त्यसैले उनले अध्ययनलाई निरन्तरता दिदै आत्मनिर्भर हुनका लागि आफूसँग भएको कलाको उपयोग गरे । उनले पेन्टिङ बनाएर बेच्ने, अरुलाई चित्रकला सिकाउने, तन्ना र सिरानीमा पेन्टिङ गर्न सिकाउने, नेपाली कागजमा आर्ट गर्न सिकाउने लगायतका काम गर्दै आफ्नो खर्चको जोहो गर्दै गए ।
उनले गहना पसललाई चाँदीको भाडामा बुट्टा थपेर दिने काम समेत पाए । उनले बुट्टाको रुपरेखा बनाइदिएपछि कालिगढले त्यसलाई कुदेर बनाउने गर्थे । आफूभित्रको सिपको सदुपयोग गर्दै उनले त्यो बेलापनि महिनामा पन्ध बीसहजार रुपैया आम्दानी गर्ने गरेको बताउँछन् । तर भाडामा बसेर धेरै समय कलाकारितामा सकृय रहँदा उनको पढाई भने अवरुद्ध हुन पुग्यो । त्यसैले उनले बिहारको साहेवगञ्ज मुजफ्फरपुर नजिक रहेको दिदीको घरमा बसेर पढाईलाई निरन्तरता दिए भने बिहारकै मधुवापुरबाट स्नातक गरे ।
यसै क्रममा उनले आफ्नो कामलाई थप व्यवसायिक बनाए । उनले ४ जनाको समुह बनाएर उत्पादन गर्ने ठाउँ खोलेर व्यवसायिक रुपमा मिथिला कलाको व्यवसाय गर्न थालेकै बेला २०४६ सालतिर बुबाआमाले घरमा बोलाएपछि उनले बुबाको काममा सघाउन थाले । तर उनले आर्टको काम भने छाडेनन् ।
२०४८ सालतिरको कुरा हो । एकदिन एकजना व्यक्तिले सोल्टी होटलमा रहेको अमेरिकी पिसकोर स्वयंसेवकहरुको क्रिसमस बजारमा लगे । त्यहाँ उनले आफ्नो चित्रकला पनि लिएर गए । उनको चित्रकला ६० हजार रुपैयामा बिक्रि भयो । त्यसले उनलाई मिथिला कलालाई अन्तर्राष्ट्रिय बजारमा लैजान सकिने कुरामा थप प्रेरणा मिल्यो ।
विवाहपछि सुरु भएको व्यवसायिक यात्रा
युवा अवस्थामा नै उनलाई प्रकृति, धर्मकर्म र साधु महात्माप्रति निकै रुची थियो । उनी एसएलसीपछि बद्रीनाथ केदारनाथ जाने गर्थे । उनी सम्झिन्छन् -‘मलाई तीर्थस्थलप्रति निकै रुची थियो । तराईमा जन्मेपनि हिमालप्रति मेरो विशेष प्रेम थियो । हिमालहरु निकै मन पथ्र्यो । साधु महात्माहरु भेट्न र अन्तरकृया गर्न निकै रुची थियो । त्यसले कतै साधु हुने हो कि भन्ने चिन्ताले घरपरिवारले विवाहका लागि दवाव दिन थाले । त्यसपछि २०५२ सालमा बाराको कलैयामा मागी विवाह गरें ।’
विवाहको २ बर्षपछि उनी २०५४ सालमा आफैले ५ बर्ष लगाएर बनाएको घरमा सरे । र त्यहीबाट मिथिला कलाको व्यवसाय सुरुवात गरे । यसै क्रममा उनले जनकपुर आर्ट एण्ड क्राफ्ट दर्ता गरेर सामाजिक रुपमा पिछडिएका महिलाहरुलाई मिथिला कलाको काम दिए । त्यतीबेला ३४ जना महिलाले मिथिला कला र हस्तकला बनाउने गर्थे । अजित शाहले आफ्नो डिजाइन र कन्सेप्ट दिन्थे भने महिलाहरुले त्यही डिजाइन र कन्सेप्टमा काम गर्थे । सामानहरु लगेर घरबाटै फुर्सदको समयमा काम गर्न पाउने भएकाले ती महिलाहरुलाई पनि थप आय आर्जनको बाटो बनेको थियो ।
मिथिला कला चिनाउदै विश्वका विभिन्न देशमा
२०५८ सालबाट भने शाहले आफ्नो व्यवसायलाई अन्तर्राष्ट्रिय रुपमा लैजानका लागि थप बाटोहरु पाए । जापानमा भएको कला प्रदर्शनीमा सहभागी भएर उनले टोकियोबाट मिथिला कलालाई चिनाउनमा मद्दत गरे । त्यसपछि उनी श्रीलंका, बंगालादेश, भारत, सिंगापुर लगायतका स्थानमा भएका कला प्रदर्शनीमा पनि भाग लिए । जापानमा मात्रै तीनपटक कला प्रदर्शनीमा सहभागी हुने नेपालभित्रै पनि काठमाडौ र जनकपुरमा भएका कैयन प्रदर्शनीमा सहभागी भए ।
उनी अमेरिकाको आयोवामा मात्र होइन, बोस्टनमा ६ स्थानमा आयोजित कला प्रदर्शनीमा ६ पटक भाग लिइसकेका छन् । मेक्सिकोमा आयोजित प्रदर्शनीमा २ पटक भाग लिएका छन् भने न्युयोर्कमा राष्ट्रसंघको दिगो विकाश लक्ष्य अन्तरगत मिथिला कला प्रदर्शनीमा उनका २२ वटा पेन्टिङ प्रदर्शनीमा राखिएको थियो ।
अमेरिकामा मात्र १५ वटाभन्दा धेरै प्रदर्शनीमा उनले भाग लिए भने अमेरिकाको वासिंटन डिसीमा रहेको अमेरिकाका लागि नेपाली दूतावासको भित्तमोमा पनि अजित शाहको कला झुण्डिएको छ । अमेरिकाको रोढ आइल्याण्डमा प्रोफेसर डायना फक्सको घरमा अजित शाहका ९ वटा मिथिला कला छन् । जापानको क्योटो म्युजियममा समेत अजित शाहको आर्ट राखिएको थियो ।
नेपालदेखि अमेरिकी राष्ट्रपतिका कार्यालयसम्म
उनले आफ्नो कला नेपालकी तत्कालिन राष्ट्रपति विद्या भण्डारी, तत्कालिन प्रधानमन्त्री केपी ओली, न्युयोर्कका वर्तमान मेयर एरिक आडम्स लगायतलाई उपहार दिएका छन् । तत्कालिन अमेरिकी राष्ट्रपति बिल क्लीन्टनको अफिसले पनि स्वच्छ व्यवसायी सघमार्फत उनको तीनवटा कला किनेको थियो । काठमाडौंका विभिन्न होटलका भित्ताहरुमा समेत उनको कला रहेको छ ।
शाहले इटली, बेल्जियम, भियना, जर्मनी लगायतका देशमा समेत पुगेर मिथिला कलालाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन मद्दत गरे । उनले नेपालबाटै पनि इटलीको सीटीएम भन्ने कम्पनीका लागि काम गर्थे । स्वच्छ व्यवशायी संघमार्फत काम गर्ने उनका कला वातावरण मैत्री हुन्थे भने हानिकारक रंगहरुको प्रयोग गरिदैनथ्यो । त्यस्तै कला निर्माणका लागि बलश्रमको समेत प्रयोग गरिदैनथ्यो ।
एउटै चित्रकला ४ लाखमा बिक्री
सन् २०१८ मा अमेरिका आयोवामा प्रदर्शनीका क्रममा उनको एउटै पेन्टिङ २३ सय डलरमा बिक्रि भएको थियो । विष्णुको अवतारबारेको उक्त पेन्टिङ २० इन्च चौडाई र ३२ इन्च लम्बाईको थियो । तर उनले त्योभन्दा पनि ठूलो पेन्टिङ बनाएका छन् । उनले बनाएको सबैभन्दा ठूलो पेन्टिङ २४ इन्च उचाई र ४० इन्च लम्बाईको रहेको छ । उक्त पेन्टिङमा मान्छेको जीवनचक्र देखाइएको छ । साथै बच्चा जन्मेदेखि मृत्युसम्मको सबै संस्कारलाई समेटेर बनाइएको यो पेन्टिङ जापानमा ४ लाख रुपैयामा बिक्रि भएको थियो ।
अजित शाहले मिथिला कलामा योगदान दिएवापत कैयन पुरस्कारहरु समेत पाएका छन् । नेपालका राष्ट्रपतिबाट प्रबल जनसेवा पुरस्कार समेत पाइसकेका उनले अमेरिकामा पनि उनको कामको सम्मान स्वरुप कैयन सम्मापनपत्र र पुरस्कारहरु पाएका छन् । नेपालमा २ पटकसम्म उत्कृष्ट उद्यमी पुरस्कार पाएका उनले संस्कृतिविद सत्यमोहन जोशीको हातबाट लोककला राष्ट्रिय प्रतिभा पुरस्कार समेत पाएका थिए । मैथली एसोसिएसनबाट मिथिला रत्नबाट समेत सम्मानित उनले अम्बेडकर अवार्ड समेत पाएका छन् । उनको कामबारे भारतको जीटीभी, जापानको एनएचके टेलिभिजन लगायतले पनि देखाइसकेका छन् ।
अन्य कलाकारलाई पनि आत्मनिर्भर बनाउदै
अजित शाहले मिथिला कलाबाट आफ्नोमात्र आर्थिक अवस्थामा सुधार गरेनन् । उनले अरुको आर्थिक अवस्था सुधारका लागि समेत मद्दत गरे । अहिलेसम्म ३० वटाभन्दा बढी तालिम दिएका उनले कैयनलाई मिथिला कला सिकाए भने ११० जनाभन्दा बढीलाई स्वरोजगारका लागि समेत सघाए । जसमा प्राय महिलाहरु रहेका छन् । उनले मिथिला कलालाई कागजमा मात्र होइन, कपडा, सामान र भित्ताहरुमा समेत सजाए । उनले पोशाक र गहनामा पनि मिथिला कला उतारे । नेपालको ग्लोबल आईएमई बैंकको क्यालेण्डरमा पनि उनको चित्रकला छापिएको थियो । चर्चित व्यवसायी उपेन्द्र महतोको उद्योगहरुमा पनि सामानका खोलमा उनको आर्ट छापियो । उनको आर्ट आटा, चामल, बेसन, मैदा सुचीको खोलमा समेत छापियो । अहिलेसम्म दशौं हजार पेन्टिङ बेचेका उनले १५ सयभन्दा धेरै पेन्टिङ आफैले बनाएका छन् ।
कलाकारहरुको अवस्था दयनीय देखेकाले आफू कलाकारितासँगै व्यवसायमा समेत लागेको शाह बताउँछन् । कलाकारले चित्र कला बनाएर दिएपछि त्यसको पारिश्रमिक माग्न पटकपटक जानुपर्ने, उचित पारिश्रमिक पनि नपाउने अवस्था देखेकाले आफै व्यवसायमा समेत लागेको उनको भनाई छ । मिथिला कलाको व्यवसाय समेत गरेका कारण मिथिला कलालाई विश्वमाझ लैजान थप सहज भएको उनको भनाई छ । उनी भन्छन् -‘नेपाली कला र नेपालको झण्डा विश्वभर चिनाउन पाएकोमा गर्वको अनुभव हुन्छ ।’
तर उनको नेपालको सरकारसँग भने केही गुनासो रहेको छ । सरकारले मिथिला कलालाई खासै महत्व नदिएको बताउँछन् उनी । तर अहिले विस्तारै थाङकासँगै मिथिला आर्टको महत्व विदेशमा र नेपालमा पनि बुझ्न थालेको उनको अनुभव छ । उनी भन्छन् -‘पहिले मिथिला कला बुझ्ने कम थिए । अहिले मिथिला कलापनि धेरैले बुझन् थालेका छन् । त्यसैले मैले मिथिला कलालाई चिनाउन जे गरें, त्यसका लागि सन्तुष्ट छु । मैले देशको कला चिनाउन पाएँ, त्यसबापत आर्थिक उपलब्धी र आत्मसम्मान पाएँ ।’
बुबासँगको त्यो क्षण
आफ्ना छोराछोरीलाई आफूले चाहेको पेशा व्यवसायमा देख्न चाहने हरेक बुबाआमाको सपना हुन्छ । अजित शाहका बुबाले पनि उनलाई सीए पढाउन चाहनुहुन्थ्यो । बुबालाई मिथिला कलातिर लागेको त्यती मन परेको थिएन । किनभने त्यो बेला मिथिला कलामा लागेर आर्थिक सफलता प्राप्त गर्न निकै कठिन थियो । बुबाको चाहेको बाटोमा नहिडेपछि बाबुछोराको सम्बन्ध पनि त्यती सुमधुर हुन सकेको थिएन ।
तर पछि भने अजित शाहले मिथिला कलामा लागेर प्राप्त गरेको सफलताप्रति बुबा खुशी भएको अजित सम्झिन्छन् । उनले भावुक हुँदै भने -‘मृत्यु हुनुभन्दा ६ महिना अगाडिदेखि बुबाको बोली बसेको थियो । उहाँ बोल्न सक्नुहुन्नथ्यो । तरपनि उहाँले हातले संकेत गरेर आफ्नो नाक उचो पारेको र इज्जत बढाएको बताउनुएको थियो । म भारतको दिल्लीमा प्रदर्शनका क्रममा जान लाग्दा बुबाले मेरो हात समात्नुभएको थियो । शायद उहाँले आफ्नो अन्तिम समयमा म पनि उहाँसँगै रहेको देख्न चाहनुहुन्थ्यो । प्रदर्शनीकै बेलामा बुबा वितेको खबर आयो । म घर फर्कें । उहाँको विस्तारा उठाउँदा त्यहाँ मेरो बारेमा प्रकाशित समाचारका कटिङहरु उहाँले संकलन गरेर राख्नुभएको रहेछ ।’
जनकपुरमा संग्राहालय खोल्ने सपना
मिथिला कलामा लाग्न चाहनेहरुलाई अजित शाह प्रोत्साहन गर्छन् । मिथिला कलामा अवशरै अवशर रहेको र लोककला नै आधुनिक कलाको मेरुदण्ड रहेको उनको भनाई छ । तर निरन्तरता भने चाहिने उनी बताउँछन् । उनी भन्छन् -‘निरन्तता नै सफलताको मुल मन्त्र हो । मैले विभिन्न उतारचढावका बाबजुत पनि निरन्तरता दिएँ । आर्टको काम छाडेर अरु काम गर्न दवाव पनि आएको थियो । श्रीमतीको अनुरोधमा किराना पसल पनि खोलेको थिएँ । यी सबैका बाबजुत मैले कलालाई नै निरन्तरता दिएँ । अहिले श्रीमती र छोराछोरीको पनि आर्टमा रुची छ ।’
दशका दम नामको हिन्दी चलचित्रमा झण्डै ४ मिनेट वकिलको भूमिका समेत गरेका शाहको भविश्यमा नेपालमा नै गएर मिथिला संग्राहालय बनाउने सपना छ । मिथिलाको संग्राहालय जापान र बेलायतमा रहेको तर नेपालमा नरहेकाले जनकपुरमा त्यस्तो संग्राहालय बनाउने उनको इच्छा छ । उनी भन्छन् -‘नयाँ पुस्तामाझ पनि मिथिला कलालाई अगाडि बढाउन चाहन्छु ।’