अमेरिकाको ८५ हजार कामदार भिसाका लागि आवेदन प्रयाप्त नभएपछि दोश्रोपटक लोटरी खोलिने
प्रकाशित मिति : श्रावण ११, २०८० बिहीबार
आर्थिक बर्ष २०२४ का लागि अमेरिकाले दोश्रोपटक कामदार भिसा एचवानबीको लोटरी खोल्ने भएको छ । आर्थिक बर्ष २०२४ का तोकिएको भिसाको कोटा पूरा गर्न थप आवेदकहरु चाहिने निर्धारण गर्दै गत मार्च १७ सम्म अनलाइन दर्ता गरेर छनौट नभएका आवेदकमध्येबाटै छनौट गर्नका लागि लोटरी खोलिने भएको हो ।
यसअगाडि मार्चमा कामदार भिसा एचवानबीका लागि अनलाइन दर्ता गर्ने अवधि तोकेर प्राप्त आवेदनहरु लोटरीमार्फत छनौट गरिएको थियो । यसरी छनौट गरिएका आवेदकहरुलाई भिसा प्रकृया अगाडि बढाउनका लागि अप्रिल १ देखि जुन ३० सम्मको अवधि दिइएको थियो । उक्त अवधिमा भिसा प्रकृया अगाडि बढाइएका आवेदनको मूल्यांकन गरेर थप आवेदक चाहिने निष्कर्ष निकालिएको युएससीआईएसले जनाएको छ ।
मार्चमा अनलाइनमार्फत दर्ता गरेकाहरुमध्येबाटै छनौट गरिने भएकाले नयाँले भने लोटरीमा समावेश हुनका लागि दर्ता गर्न पाउनेछैनन् । पहिले नै दर्ता गरेका तर छनौट नभएकाहरुलेमात्र मौका पाउनेछन् । लोटरीमार्फत दोश्रो राउण्डको छनौट गरिएपछि यसबारे छनौट भएका आवेदकहरुलाई जानकारी गराइने र त्यसपछि उनीहरुले भिसा प्रकृया अगाडि बढाउनसक्ने युएससीआईएसले जनाएको छ ।
अमेरिकाले नियमिततर्फ ६५ हजार र अमेरिकामा मास्टर्स डिग्री लिएका २० हजार गरी हरेकबर्ष ८५ हजारलाई कामदार भिसा एचवानबी प्रदान गर्दै आएको छ । अमेरिकी कामदार भिसा एचवान बी मार्फत अमेरिकी रोजगारदाताहरुले विदेशी कामदारहरुलाई विशेष ज्ञान र स्नातक डिग्री वा माथिको आवश्यकता पर्ने विशेष पेशाहरूमा राख्न सक्छन् ।
अमेरिकाको ८५ हजार कामदार भिसा एचवानबीको लोटरीमा ७ लाख ५८ हजार ९ सय ९४ आवेदन दिएका थिए । तीमध्ये १ लाख १० हजार ७ सय ९१ आवेदनहरु थप प्रकृयाका लागि छनौट गरिएको थियो ।
गतबर्षको तुलनामा यो बर्ष लोटरीमा अनलाइन दर्ता गर्नेहरुको संख्यामा ६० प्रतिशत बृद्धि भएको थियो । कुल आवेदनमध्ये १४ दशमलव ६ प्रतिशत आवेदनहरुमात्र बाँकी प्रकृयाका लागि लोटरी प्रणालीबाट छनौट गरिएको थियो । जबकी आर्थिक बर्ष २०२३ का लागि कुल आवेदनमध्ये २६ दशमलव ९ प्रतिशत आवेदनमात्र बाँकी प्रकृयाका लागि लोटरी प्रणालीबाट छनौट गरिएको थियो ।
लोटरीका लागि आवेदन दिएकाहरुले आफ्नो आवेदनमा ४ प्रकारका स्टाटस देख्न सक्नेछन् । आवेदन दिएका, योग्य पनि रहेका तर लोटरीबाट छनौट नभएकाहरुको आवेदनमा सब्मिटेड स्टाटस देखिनेछ भने छनौट भएकाहरुको आवेदनमा सेलेक्टेड स्टाटस देखिनेछ । एउटाभन्दा धेरै आवेदन दिएका वा अन्य कारणले अयोग्य रहेकाहरुको स्टाटसमा डिनाइड देखिनेछ भने आवेदन पेश गरेका तर शुल्क नतिरेकाहरुको आवेदनमा इन्भ्यालिडेटेड फेल्ड पेमेन्ट स्टाटस देखिनेछ ।
कामदारहरुले आगामी अक्टोबर १ बाट भिसा पाउनेछन् भने आर्थिक बर्ष २०२४ भित्र अमेरिका आउन सक्नेछन् । हरेक दर्ताका लागि युएससीआईएसले कन्फर्मेशन नम्बर उपलब्ध गराएको छ । यो नम्बर केबल दर्ताको अवस्था हेर्नमात्र प्रयोग गर्न सकिन्छ ।
एचवानबी भिसामार्फत आउने पदका लागि लाभग्राहीको कम्तीमा स्नातक वा त्यो भन्दामाथिको शिक्षा हासिल गरेको वा सो सरह हुन जरुरी छ ।
कम्पनीमा गर्ने काम यति जटिल वा अद्वितीय छ कि त्यसका लागि उक्त डिग्री भएको व्यक्तिलेमात्र गर्नसक्छ भन्ने पुष्टी हुनुपर्छ । वा कम्पनीको कामका लागि डिग्री हुनु सामान्य मापदण्ड भएको पुष्टी हुनुपर्छ । यसको मतलव कम्पनी यदि डिग्री नचाहिने खालको छ भने किन डिग्री होल्डरको आवश्यकता छ भन्ने पुष्टी गर्नुपर्छ वा कम्पनी डिग्री चाहिने खालको हुनुपर्छ ।
कामदारका लागि सामान्यतया डिग्री चाहिने वा उक्त पदका लागि सो सरहको योग्यता चाहिने कुरा कम्पनीले पुष्टी गर्नुपर्छ । वा, कामको प्रकृति यति विशिष्ट वा जटिल छ कि कामका लागि आवश्यक ज्ञान स्नातक वा सो भन्दामाथिको डिग्री आवश्यक छ ।
त्यस्तै काम प्राप्त गर्ने लाभग्राही वा कामदारले पनि चारवटामध्ये एउटा योग्यता पूरा गरेको हुनुपर्छ ।
लाभग्राही अमेरिकाको मान्यताप्राप्त कलेज वा युनिभर्सिटीबाट स्नातक वा त्योभन्दा माथिको डिग्री हासिल गरेको हुनुपर्छ । अमेरिकामा डिग्री हासिल गरेर स्वदेश फर्किसकेको छ भने पनि फरक पर्दैन ।
वा, अमेरिकाको स्नातक वा त्योभन्दामाथिको डिग्रीसरह मान्यता पाउनेगरी विदेशको डिग्री प्राप्त गरेको हुनुपर्छ ।
वा, विशेष पेशामा आवद्ध भएर काम गर्नका लागि राज्यका तर्फबाट लाइसेन्स प्राप्त गरेको हुनुपर्छ । जुन लाइसेन्सले विशेष पेशाको अभ्यासका लागि अनुमति प्रदान गर्छ ।
वा, कुनै विषयगत शिक्षा वा प्रशिक्षण प्राप्त गरेको हुनुपर्छ । जुन विशेष डिग्री सरह नै हुन्छ । यसो हुँदा सम्बन्धित विषयमा विज्ञ भएको हुनुपर्छ ।
सामान्यता यी मापदण्डहरु पूरा गरेको रोजगारदाता र लाभग्राहीले अमेरिकाको कामदार भिसा एचवानबी बाट फाइदा लिनसक्छन् ।
यो भिसामार्फत विश्वका विभिन्न देशबाट आइटी लगायतका क्षेत्रमा विशेष ज्ञान भएका कामदारहरु अमेरिका भित्रिने गर्छन्, जसमध्ये भारतीयहरुको संख्या सबैभन्दा धेरै रहेको छ । विशेष पेशाका लागि विशेष ज्ञान र कम्तीमा स्नातक तहको अध्ययन वा सो सरहको अनुभव हुन अनिवार्य छ ।
यो भिसाको अवधि ३ बर्ष हुन्छ र ६ बर्षसम्म थप्न सकिने प्रावधान रहेको छ । त्यसपछि भिसावाहकले यहीभिसामा रहनका लागि पुन आवेदन दिनुपर्ने हुनसक्छ । यो भिसा सन् १९९० को अध्यागमन ऐन अन्तरगत श्रृजना गरिएको हो । यद्यपी अमेरिकामा सन् १९५२ को अध्यागमन तथा राष्ट्रियता ऐनले नै एच वान भिसाको श्रृजना गरेको थियो । तर पनि सन् १९९० पछि नर्सहरुका लागि एचवान ए र अन्यका लागि एचवान बी छुट्याइएको थियो ।
अमेरिकाको कामदार भिसा पठाउने नाममा ठगहरु सकृय हुने गरेका छन् । ठगहरुले निश्चित रकम माग्दै कामदार भिसा दिलाइदिने प्रतिबद्धता जनाउने गरेका छन् । यस्ता ठगहरुबाट बच्न न्युयोर्क निवासी कानुन व्यवसायी केशवराज सेडाईले केही टिप्सहरु समेत दिनुभएको छ ।
खासगरी पैसामा माग्ने कम्पनी र दलालबाट सावधान हुन उहाँले सचेत गराउनुभएको छ । अमेरिकन कम्पनीहरुले जागिरको अफर गर्दा उक्त कम्पनीको पृष्ठभूमि इन्टरनेटमा चेक गर्न उहाँले सुझाव दिनुभएको छ । साथै गुगल रिभ्यु पनि हेर्न सुझाव दिनुभएको छ ।
यदि कम्पनी सही छ भने अमेरिकी कानुन अनुशार भिसा आवेदन दिइने व्यक्तिका लागि कुनै शुल्क नलिने उहाँले जानकारी दिनुभयो । यदि कम्पनीले पैसा मागेको खण्डमा आफू त्यसबाट टाढै रहन उहाँले सुझाव दिनुभएको छ ।